सरकारबाट माओवादी केन्द्रको समर्थन फिर्ता

|

काठमाडौं : नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको छ। केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रधानमन्त्री, राष्ट्रपति र सभामुखलाई पठाएका छन्। 

यस्तो छ माओवादी केन्द्रले सरकारलाई पठाएको पत्रको व्यहोरा :

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली,

प्रधानमन्त्री कार्यालय,

सिंहदरबार, काठमाडौं ।

विषय: वर्तमान सरकारबाट समर्थन फिर्ता लिएको बारे।

उपरोक्त सम्बन्धमा २०७२ साल जेष्ठ १६ गते प्रमुख राजनीतिक दलहरु बीच सहमति भई २०७२ असोज ३ गते संविधान निर्माण र घोषणाको ऐतिहासिक उपलब्धी हासिल भयो। तत्पश्चात संविधानको सर्वस्वीकार्यता र कार्यान्वयन गर्न, संक्रमणकालीन न्याय लगायत शान्ति प्रक्रियाका बाँकी कामलाई सम्पन्न गर्न तराई मधेसमा भएको आन्दोलन एवं थारु लगायत सबै आदिवासी जनजातिहरुको सरोकारहरुको सम्बोधन गर्न, गत वर्ष गएको विनासकारी भूकम्पबाट प्रभावित जनतालाई राहत तथा पुनर्निर्माणका लागि मुलुकमा राष्ट्रिय सहमति अत्यावश्यक रहेको हाम्रो पार्टीको धारणा रहँदै आएको छ। गत २०७३ बैशाख २३ गते नेकपा एमाले र हाम्रो पार्टीबीच भएको नौ बुँदे सहमतिको मूल मर्म पनि यही थियो। तर वर्तमान सरकारको नेतृत्वले नौ बुँदे सहमति र तीन बुँदे भद्र सहमति कार्यान्वयन गर्न तयार नभएको हुँदा हाम्रो पार्टी अब यस सरकारमा सहभागी रहीरहन राजनीतिक रुपले उपयुक्त नहुने भएकाले अहिलेदेखि नै वर्तमान एमाले नेतृत्वको सरकारबाट पार्टीको समर्थन फिर्ता लिएका छौँ। साथै हाम्रो पार्टीका सबै मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता बोलाइएको जानकारी गराउँदछौँ। हाम्रो यो निर्णयबाट राष्ट्रिय सहमति निर्माणमा सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ।

वि.सं २०७३ अषाढ २८ गते ।

पुष्प कमल दाहाल 'प्रचण्ड'

अध्यक्ष

ने.क.पा (माओवादी केन्द्र)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.