|
Photo: Goal.com

क्लबका लागि ज्लाटन इब्राहिमोविचको पहिलो ह्याट्रिकको मद्दतले म्यान्चेस्टर युनाइटेड युरोपा लिग नकआउट चरणको पहिलो लेगमा ३-० ले विजयी भएको छ। घरेलु मैदान वर्ल्ड ट्राफोडमा गएराति भएको खेलमा युनाइटेडले पाहुना टोली सेन्ट एटिएनलाई ३-० ले पराजित गर्‍यो।

१५औं मिनेटमा इब्राहिमोविचको गोलबाट लिएको अग्रता ७५औं मिनेटमा उनैले दोब्बर पारे। ८८औं मिनेटमा प्राप्त पेनाल्टीलाई इब्राहिमोविचले जाली चुमाउँदा युनाइटेडले सहज जित दर्ता गर्‍यो। युनाइटेड आएपछि इब्राहिमोविचको यो पहिलो ह्याट्रिक हो। यद्यपी उनले प्रिमियर लिगमा १५ सहित युनाइटेडका लागि कुल २३ गोल गरिसकेका छन्। ३५ वर्षीय यी स्टार गत समरमा क्लबमा आबद्ध भएका थिए।

यो फ्रेन्च टोली इब्राहिमोविचका लागि परिचित टोलीसमेत हो। पेरिस सेन्ट जर्मेनमा रहँदा उनले यस क्लबविरुद्ध १३ खेलमा १४ गोल गरेका थिए।

प्रतियोगितामा अर्को इंग्लिस टोली टोटनह्याम हट्सपरले भने पराजय बेहोरेको छ। टोटनह्याम जेन्टसँग १-० ले पराजित भयो। यस्तै दुई चर्चित स्पेनिस टोली भिल्लारियल र सेल्टा भिगोले पनि आ-आफ्नो खेल हार्दा एथ्लेटिक बिल्बाओ भने विजयी भएको छ।

युरोपका मध्यमस्तरका क्लबहरुले सहभागिता जनाउने यस प्रतियोगितामा अहिले राउण्ड अफ ३२ को खेल भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.