१८ हजार २ सय ९३ जनाको उद्धार

|

काठमाडौं : कोरोना भाइरसको संक्रमणले विदेशमा यो साता थप १३ जनाको ज्यान गएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना र कुवेत १ जना नेपालीको निधन भएको हो।

समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्रै १४ देशमा संख्या १ सय ४३ जना नेपालीको कोरोना संक्रमणले ज्यान गएको हो।

हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, ओमान लगायत देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्‍जीव सापकोटाका अनुसार यो साता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको बढ्ने दर न्युन हुँदै गइरहेको तथ्यांकले देखाउँछ।

एनआरएनएका प्रेस संयोजक चिरन शर्माका अनुसार शनिवार साँझसम्म विदेशमा २८ हजार ९ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ। २५ हजार २ सय २६ जना गैरआवासीय नेपाली कोरोना मुक्त भएका छन्।

नेपालमा १५ हजार ४ सय ९४ जनामा कोरोना संक्रमण देखिए पनि हालसम्म ६ हजार ४ सय १५ जना कोरोना मुक्त भएका छन्। यस्तै ३४ जनाले ज्यान गुमाएका छन्। एनआरएनएका अनुसार हाल सम्म विश्वभर ३७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट प्रभावित भएका छन्।

१८ हजार २ सय ९३ जनाको उद्धार

यसैबीच कोरोना भाइरसका कारण विश्‍वव्यापी लकडाउन सुरु भएपछि विभिन्‍न देशमा रोकिएका नेपालीहरुको उद्धार तीव्र पारिएको छ। एनआरएनए र विदेशस्थित नेपाली कुटनीतिक नियोगको संयुक्त पहलबाट जुन पहिलो सातादेखि हालसम्म २१ देशका १८ हजार २ सय ९३ जनाको उद्धार गरिएको छ।

अफगानिस्तान, अष्ट्रेलिया, ओमान, कतार, म्यानमार, कुवेत, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, बंगलादेश, मलेसिया, माल्दिभ्स, श्रीलंका, युएई, साउदी अरब, सिंगापुर, हङकङ, पाकिस्तान, बहराइन, अमेरिका र बेलायतलगायतका देशमा रहेका नेपाली घर फर्किएका छन्।

यसैबीच विदेशमा निधन भएका नेपालीको ३ सय ५२ शव मध्य १ सय १५ जनाको शव नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ। बाँकी १०५ शवको व्यवस्थापनको काम बाँकी छ। ती शवमध्ये १ सय ३२ जना नेपालीहरुको शव परिवारको सहमतिमा विदेशमै अन्त्येष्टि गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.