|
फोटो : mediakurakani.com

काठमाडौं : सदस्यता वितरणमा असहमति जनाउँदै नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघमा लगाएको ताला शुक्रबार खोलेको छ। राजनीतिक आस्थाका आधारमा गैर पत्रकारलाई पनि सदस्यता वितरण गरेको तर योग्यता पुगेका पत्रकारले सदस्यता नपाएको लगायतका विषय उठाएर युनियनले फागुन २ गते पत्रकार महासंघको कार्यालयमा ताला लगाएको थियो।

शुक्रबार बिहान महासंघका अध्यक्ष महेन्द्र विष्ट र नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलसहित बसेको बैठकले विवाद भएका जिल्लामा महासंघको सचिवालयले विवाद समाधान गर्ने सहमति गरेपछि ताला खुलेको हो। युनियनका अध्यक्ष सिग्देलका अनुसार नुवाकोट, दोलखा, रुकुम, बारा, रौतहट, चितवन, सुर्खेत, स्याङ्जा, प्यूठान, जाजरकोट, सिराहा, सप्तरी, रोल्पा, हुम्ला, दैलेख, काठमाडौं, ललितपुर, भक्तपुर जिल्लामा देखिएका सदस्यतासम्बन्धी विवाद महासंघको सचिवालयले टुंगो लगाउनेछ।

त्यस्तै महासंघ र युनियनबीच शाखा र एशोसिएट संस्थाको विवाद पनि महासंघको सचिवालयले उपयुक्त विधि र प्रक्रियाबाट हल गरेर शाखा अधिवेशन तथा नेतृत्व चयन प्रक्रिया अघि बढाउने सहमति भएको छ। युनियनले विवाद भएको भनेको कतिपय शाखाको समस्या अधिवेशनको समयमा केन्द्रीय प्रतिनिधि मार्फत समाधान भइसकेको छ।  

विवादित जिल्ला बाहेक अन्य जिल्लामा पूर्वघोषित कार्यतालिका अनुसार नै जिल्ला अधिवेशन हुने महासंघले जनाएको छ। पूर्वाञ्चलका जिल्लामा शनिबार अधिवेशन निर्धारण गरिएपनि पाँचथर र सप्तरी शाखाको भने स्थगित गरिएको छ। पूर्वाञ्चल बाहेक अन्य क्षेत्रमा पनि सदस्यताको विवाद नभएका शाखामा कार्यतालिका अनुसार नै जिल्ला अधिवेशन हुने महासंघका महासचिव उजिर मगरले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.