|

बेइजिङ : चिनियाँ लगानीकर्ताहररूले झण्डै तीन खर्ब  रुपैयाँ गर्ने प्रतिबद्धता जनाएका छन्। विश्वकै उत्कृष्ट पाँच सय ठूला कम्पनीहरुमा सूचिकृत चिनियाँ कम्पनीहरुलाई सहभागी गराउँदै बेइजिङस्थित नेपाली दूतावासले शुक्रबारगरेको  ‘नेपालमा लगानीको अवसर’ विषयक सेमिनारमा ती कम्पनीहरूले ठूलो लगानीको प्रतिबद्धता व्यक्त गरेका हुन्। 

सेमिनारमा वर्षौंदेखि नेपालमा लगानी गरिरहेका कम्पनीहररूदेखि चीनका ख्यातिप्राप्त कम्पनीका प्रतिनिधिहरु सहभागी थिए। नेपालमा लगानी गरिरहेका पावर चाइना, गेजुवा कम्पनी, जेडटिईलगायत चीनकै प्रख्यात चाइना इन्जिनियरिङ कर्पोरेसन, चाइना रेलवे कन्ट्रक्सन कम्पनी, एभिक कम्पनी, युन्नान कन्ट्रक्सन कम्पनी, साइनो पेक, इनर्जी चाइनालगायतका कम्पनीले सेमिनारमा भाग लिएका थिए। 

पावर चाइना इन्टरनेसनल ग्रुप (तत्कालीन सिनो हाइड्रो) ले नेपालका विभिन्न जलविद्युत आयोजनामा लगानी गरेको छ । नेपाल टेलिकमसँग व्यावसायिक साझेदारी गर्दै आएको जेडटिई, विभिन्न पूर्वाधार क्षेत्रमा काम गर्दै आएको गेजुवा कम्पनीले नेपालमा लगानी गरिरहेको छ। 

लीलामणि पौडेल राजदूत भएर आएपछि दूतावासले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। यसभन्दा अगाडि पनि एम्बेसडर फोरमसँग मिलेर दूतावासले नेपालमा लगानी गर्न इच्छुक चिनियाँ लगानीकर्तालाई लक्षित यस्तै प्रकारको सेमिनारको आयोजना गरेको थियो । त्यसैगरी नेपालको पर्यटन प्रवर्धनलगायतका कार्यक्रमहरु पनि आयोजना गर्दै आएको दूतावासले जनाएको छ। 

सेमिनारमा सहभागीहरुलाई स्वागत गर्दै नेपालमा चिनियाँ लगानीको अवस्थाका बारेमा राजदूत पौडेलले प्रकाश पारेका थिए। चीनले अगाडि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ भित्र नेपाल पनि पर्ने भएकाले नेपाल चिनियाँ लगानीकर्ताका लागि उत्कृष्ट क्षेत्र रहेको उनले प्रकाश पारे। दूतावासका इकोनोमिक मिनिष्टर बिनोद आचार्य र प्रथम सचिव सावित्रा ओलीले नेपालमा चिनियाँ लगानीको सम्भावनामाथि श्रव्यदृश्य सामग्री प्रस्तुत गरेका थिए ।

सेमिनारमा नेपालका लागि पूर्व चिनियाँ राजदूत सुन हपिङले नेपालमा लगानी गर्नु चिनियाँका लागि सुनौलो अवसर रहेको बताए। उनले आफ्नो कार्यकालमा नेपालमा चिनियाँ लगानी उल्लेख्य बढेको बताउँदै चिनियाँ प्रविधि र पूँजी नेपालको पूर्वाधार क्षेत्रमा अत्यन्त्य अनुकूल रहेको उल्लेख गरे। नेपाली जलविद्युत उद्योगमा चिनियाँ लगानीलाई आकर्षित गर्न नेपाल सरकारले विभिन्न अनुकूल नीतिहरु बनाएको उल्लेख गर्दै सुनले चिनियाँ लागनीकर्ताले चाँडै प्रतिफल प्राप्त गर्ने औंल्याए ।

त्यसैगरी पावर चाइना इन्टरनेसनल ग्रुप लिमिटेडकी वाणिज्य प्रबन्धक ये फानले नेपालमा लगानी गरेको आफ्नो कम्पनीको २० वर्षको अनुभव व्यक्त गर्दै नेपालको जलविद्युत र पूर्वाधार क्षेत्र चिनियाँ लगानीका लागि उत्कृष्ट स्थान रहेको बताइन्।
  
चिनियाँ लगानीकर्ताहरुको सेमिनारमा चीनका विभिन्न सरकारी कार्यालयका प्रतिनिधिको पनि उपस्थिति थियो । वैदेशिक लगानी प्रवर्द्धनमा चिनियाँ परिषद् ‘सीसीपीटीआई’ हबेइ प्रान्तका प्रतिनिधिसहित चिनियाँ वाणिज्य मन्त्रालयका प्रतिनिधि र हबेइ प्रान्तको वैदेशिक मामिला कार्यालयका अधिकारी सहभागी भएर उनीहरुले आफ्नो क्षेत्रका कम्पनीहरुलाई नेपालमा लगानी गर्नका लागि प्रोत्साहित गर्ने बताएका छन्।

चिनियाँ कम्पनीहरुले नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा भाग लिन पनि रुचि देखाएका छन् । सेमिनारमा उनीहरुले लगानी सम्मेलनमा नेपालका एजेण्डा तथा चीनले गर्न सक्ने लगानीका क्षेत्रमा समेत चासो राखेका थिए । सेमिनारमा विभिन्न कम्पनीका ६४ प्रतिनिधिहरुले भाग लिएका थिए।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.