|

  • नमीन ढकाल-

इलाम : मोफसलको चर्चित माइभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको तेश्रो संस्करण चैत १७ गते सुरु हुने भएको छ। यसअघिका दुई संस्करण माघमा गरिए पनि खेल मैदान पुनर्निर्माण नसकिएकाले तेश्रो संस्करण चैत १७ गतेदेखि सञ्चालन गर्न लागिएको आयोजक माइभ्याली फुटबल क्लबले जनाएको छ।

करिब १२ लाखको लागतमा पुनर्निर्माण भइरहेको खेल मैदानको ८० प्रतिशत काम पूरा भएको क्लबका अध्यक्ष धिरेन चेम्जोङले जानकारी दिए। यसअघिका संस्करणमा सहभागी टिम र खेलाडीले खेल मैदान नसुधारे तेश्रो संस्करणमा सहभागी नहुने बताएपछि आयोजकहरु टुडिखेलको स्तरोन्नतिमा लागेका थिए।

क्लवका अध्यक्ष चेम्जोङ भन्छन् ‘मैदानभित्र रहेका रोडा हटाई ४–५ फिटसम्म माटो हाल्नुका साथै दुबो रोप्ने काम सकिएको छ, दुबोलाई समयमा नै उमार्नका लागि बायोकिङ अर्गानिक मल लगाएर पानी लगाउने काम भइरहेकोले अब खेल मैदानको वरिपरी प्याराफिट बनाउने काम मात्र बाँकी रहेको  छ।’

माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघको संयुक्त आयोजनामा हुने प्रतियोगितामा आयोजक माइभ्याली फुटबल क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपीएफ, संकटा, रूपन्देही ११, झापा ११ र दुर्गा स्टिल कलकत्ता सहभागी हुने निश्चित भएको छ।

१० टिम सहभागी हुने प्रतियोगितामा गत संस्करणमा सहभागिता जनाउन नसकेको मनाङ मर्स्याङ्दी क्लबलाई सहभागी गराउन छलफल भइरहेको जिल्ला फुटबल संघका अध्यक्ष निरोज खडगीले बताए । प्रतियोगिता चैत १७ देखि २६ गतेसम्म सञ्चालन हुनेछ। भाइभ्याली गोल्ड कपको पहिलो संस्करण २०७१ सालमा सञ्चालन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.