|
फाइल फोटो

बुटवल : गत वर्ष रुपन्देहीको मर्चवारमा पर्ने मझगवाँमा स्वतन्त्र मधेस गठबन्धनका सीके राउतले सभा गरेका थिए। त्यसको ठीक एक वर्षपछि सो क्षेत्र सुरक्षित रहेको भन्दै शनिबार पनि कार्यक्रमको तयारी राउतका समर्थकले गर्‍यो। कार्यक्रमको प्रचारका लागि पर्चा पम्प्लेट टाँसेकाले पनि प्रहरीले बढी चासो दियो।

मधेसलाई अलग राज्य बनाउनुपर्ने भन्दै भूमिगत गतिविधि सञ्चालन गरिरहेको सीके राउतका समर्थकले पछिल्लो समय रुपन्देहीमा गतिविधि बढाएपछि सुरक्षा निकाय चनाखो बनेको थियो। शनिबार मर्चवारको मझगाँवामा सभा गर्ने सूचना पाएको प्रहरी बिहानैदेखि तैनाथ थियो। जिल्ला प्रहरी कार्यालय भैरहवाबाट १ सय ५० जना प्रहरीको एक टोली मर्चवारमा खटिएको थियो।  

‘देश टुक्राउने योजना लिएर अघि बढेकाले उनीहरुका गतिविधिमा हाम्रो कडा निगरानी थियो' रुपन्देही प्रहरी प्रवक्ता बेल बहादुर पाण्डे भन्छन् ‘कार्यक्रम गर्ने सूचनाका आधारमा सुरक्षा कडा पारेका थियौं।’

सूचना पाएपछि खटिएको प्रहरीलाई राउतका कार्यकर्ताले ढुंगा हाने। सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ता र प्रहरीबीच दिनभरजसो मर्चवार क्षेत्रमा झडप भएको छ। स्थानीय मझगँवा गाविस स्थित मर्चवार उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा आम सभा गर्ने तयारी गरेका कार्यकर्तालाई प्रहरीले अवरोध गरेको थियो।

सोही क्रममा प्रहरीले ५ सेल अश्रु ग्याँस प्रहार गर्‍यो। गठबन्धनका कार्यकर्ताले लु १ ख ४९८१ नम्बरको ट्रकमा आगजनी गरे। झडपमा परी सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक डम्बर श्रेष्ठसहित ५ जना प्रहरी घाइते भएका छन्।

राउत समूहका ८ जना कार्यकर्ता पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। तर, गठबन्धनका रुपन्देही संयोजक भुपेन्द्र यादवले झडपमा सर्वसाधारण र आफ्नो कार्यकर्ता सहित ५१ जना घाइते भएको २५ जनालाई प्रहरीले पक्राउ गरेको दावी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.