|

तनहुँ : तनहुँको व्यास नगरपालिका-९ माझफाँटमा चलेको पहिरोमा पुरिएर बेपत्ता भएका एक युवक पाँच दिनसम्म पनि भेटिएका छैनन्। पहिरोमा पुरिएका एकै परिवारका चार जनामध्ये  तीन जनाको शव सोमबारै फेला परेको थियो।

पहिरोमा बेपत्ता भएका २० वर्षीय राजेश थापाको सोमबारदेखि नै खोजी कार्य जारी रहेपनि शुक्रबार साँझसम्म पनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार बेपत्ता भएकाको खोजीकार्यका लागि व्यास नगरपालिका-५ चापाघाटस्थित कालीभञ्जन गण (इ) का सहसेनानी नेतृत्वमा सेना र नेपाल प्रहरी परिचालित छ। 

पहिरो गएको दिनदेखि स्थानीय, प्रहरी र सेनालगायतले बेपत्ता भएकाको खोजी थालेका थिए। यसक्रममा परिवारका तीन सदस्यको शव फेला परेपनि राजेश फेला नपरेका हुन्‌। उनलाई फेला नपारेपछि अहिले स्काभेटरको प्रयोग गरी खोजी भइरहेको तिमिल्सिनाले बताए। उनले भने, ‘बेपत्ता राजेशको खोजीका लागि निरन्तर लागिपरेका छौं, तर अहिलेसम्म उनलाई फेला पार्न सकिएको छैन।'

पहिरोमा पुरिएर उनकी आमा ४० वर्षीया कमला थापा, दाजु २४ वर्षीय मनोज थापा र भाउजु २१ वर्षीया अञ्जना थापाको ज्यान गएको थियो। उनका बुबा ५० वर्षीय केशव थापा भने घाइते भएका छन्। हाल उनको पोखरामा उपचार भइरहेको छ।

यो बर्खामा मात्रै पहिरोले पुरिएर तनहुँको ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाका ११ जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.