स्थानीय भन्छन् : भारतीय पक्षले यस्तो गरे
स्थानीय भन्छन् : भारतीय पक्षले यस्तो गरे
पर्सा : पर्साको ठोरीस्थित सीता गुफामाथि रहेको सीमास्तम्भ उखेलेर फालेको अवस्थामा फेला परेको छ। शनिबार दिउँसो साढे १२ बजेसम्म दुरुस्त रहेको सीमा स्तम्भ (पिलर) ५ बजे स्थानीयले हेर्दा उखेलेर फालेको अवस्थामा फेला परेको हो।
३५ नम्बर लेखिएको सीमा स्तम्भ नयाँ कायम गरिएको नम्बर अनुसार ४३६ नम्बरको कायम भएको छ। आज सीता गुफामा कलश यात्रासमेत भएकोले साढे १२ बजेसम्म आफैले त्यो पिलर हेरेको शसस्त्र प्रहरी सीमा सुरक्षा बल ठोरीका प्रहरी निरिक्षक दिपक दाहालले बताए।
अहिले ५ बजे स्थानीयले पिलर नदेखिएको भनेका थिए। गएर हेर्दा पिलर गाडिएको ठाउँभन्दा ५ मिटर तल भारततर्फ दशगजामा फालेको अवस्थामा भेटिएको उनले बताए।
‘५ फिट जति उचाई भएको सीमास्तम्भ जम्मा १ फिट मात्र गाडिएको रहेछ’, उनले भने, ‘कसले र किन उखेलेर फालेको हो? यकीनका साथ भन्न सकिन्न।’
उनले घटनापछि दुवै देशका सुरक्षाकर्मी त्यस क्षेत्रमा तैनाथ रहेको बताए। ‘उताका सुरक्षाकर्मी र नेपाल प्रहरी र शसस्त्र प्रहरी दुवै सुरक्षाकर्मी अहिले त्यही छौं’, उनले भने, ‘दुवै देशका सुरक्षाकर्मीले आफ्नो माथिल्लो निकायलाई जाहेर गरेका छौँ। माथिको निर्देशन नआएसम्म पिलर त्यहीँ हुन्छ। माथिको निर्देशनअनुसार दुवैतर्फको सुरक्षाकर्मीको उपस्थितिमा काम गरिन्छ।’
रामको जन्मभूमिको चर्चा चलिरहेको समयमा सीता गुफामा केही दिनबाट नेपालीहरुको भिड लाग्न थालेको छ। त्यो ठाउँ सीमा स्तम्भभन्दा पाँच सात मिटर मात्र यता छ।
नेपालको भित्तोमा रहेको सीता गुफा ठीक माथि थाप्लोमा रहेको सीमास्तम्भ दिनभर त्यहीँ थियो। दुई तीन घण्टाको अन्तरालमा उखेलेर उतातर्फ फालेको जस्तो गरी भारततर्फबाट बदमासी गरेको हुन सक्ने ठोरी–३ का वडाध्यक्ष सूर्य लामाले बताए।
भगवान् रामको जन्मभूमि ठोरी आसपासको क्षेत्र रहेको चर्चा चलिरहेको समयमा सीता गुफा त्यो पिलरको पाँच सात मिटर दूरीमा मात्र रहेको छ।
‘आज सीता गुफामा कलश यात्रा थियो। दिनभरी नेपालीहरु त्यहाँ हुँदा कसरी एकै छिनमा उनीहरुले पिलर फालेछन्। अचम्म लाग्यो’, उनले भने, ‘हामी पनि दिउसो उतै थियौं। मध्यान्हसम्म भएको सीमा स्तम्भ दिउँसो नै यसो गर्छन् भने भारतीयको बलमिच्याई कति सहने?’
यो सीमा स्तम्भ सुमेरु पर्वतको टुप्पोमै छ। उत्तरतर्फ ठीक त्यसैको तल पहाडको भित्तामा सीता गुफा छ। दक्षिणतर्फ भारत रहेको स्थानीयले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।