|

बुटवल :  नेपालकै पहिलो विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा ढिलाई हुने भएको छ। १९ वटा कम्पनी सेजमा उद्योग खोल्न तयार भएपनि विद्युत लाइन ल्याउन ढिलो भएकाले सेज सञ्चालन अन्योल बनेको छ। विद्युत प्राधिकरणका अनुसार सेजमा आवश्यक विद्युत ल्याउन कम्तीमा पनि डेढ वर्ष लाग्छ।  

दुई वर्षअघि निर्माण सकिएको सेजमा उद्योग खोल्नका लागि स्वीकृति पाएका १९ वटा कम्पनीले पाएका प्लटमा उद्योग सञ्चालन गर्ने भवन निर्माण गर्नुअघि विद्युत लाइन माग गरेका छन्। कम्पनीले विद्युत माग गरेपनि नेपाल विद्युत प्राधिकरणका प्राविधिकहरु सेजमा माग भएजति २५ मेगावाट विद्युत पुर्‍याउन तत्काल सहज नहुने बताउँछन्।

‘प्रसारण लाइन निर्माण नगरी सेजमा माग अनुसार विद्युत पुर्‍याउन कठिन छ', बुटवल–लुम्बिनी १३२ केभीए प्रसारण लाइन निर्माण आयोजनाका प्रमुख हरि पाण्डे भन्छन् ‘सेजमा विद्युत पुर्‍याउनका लागि बुटवल–लुम्बिनी प्रशारण लाइन तत्काल बनाउन शुरु गर्नुपर्छ।’

सेजमा पर्याप्त विद्युत् पुर्‍याउने महत्वपूर्ण आयोजना भने अझै शुरु हुन सकेको छैन। २५ मेगावाट विद्युत पुर्‍याउनका लागि त्यही क्षमताको सव स्टेशन र तार आवश्यक रहेको प्राविधिकहरुको भनाई छ। तत्कालका लागि बत्ती बाल्न मात्रै सेजलाई बिजुली दिन सकिने प्राधिकरणले जनाएको छ। ‘अहिले हामीले उद्योग सञ्चालनका लागि विद्युत दिन सकिदैन', पाण्डे भन्छन्–‘बत्ती बाल्नका लागि मात्रै बिजुली दिनसक्ने अवस्था छ।’

हाल रुपन्देहीको दक्षिण पूर्वको क्षेत्रको लागि धगधईमा ३३/११ के.भी. सवस्टेशन निर्माण तथा विशेष आर्थिक क्षेत्रमा सप्लाई दिन ३३ के.भी. फिडर निर्माण क्रममा रहेको छ।

तर बुटवल ग्रिडदेखि धकधईसम्म हालको बुटवल भरवलिया ३३ के.भी. लाइनको क्षमताले नभ्याउने भएकाले नयाँ लाइन डवल ३३ के.भी. निर्माण गर्न आवश्यक रहेको प्राविधिकको भनाई छ। बुटवल हुदै भैरहवा जाने लाइनमा क्षमताभन्दा बढी विद्युत सप्लाई भए तार चुडेर दुर्घटना हुने जोखिम रहेको बताइएको छ।

निर्माण थालिएको १५ वर्षपछि सेजको उद्घाटन गरिएको थियो। विद्युत नभएकै कारण सेजमा स्वीकृति पाएका १९ वटा उद्योग स्थापनामा अन्यौलता भएको छ। उद्योग स्थापनाका लागि ३१ उद्योगले प्रस्ताव गरेपनि अन्यले स्विकृत पाएका छैनन्।

८५ करोड रकम लगानी भएको विशेष आर्थिक क्षेत्र सञ्चालनमा नआउदै जिर्ण बन्दै गएकोमा सरोकारवालाको चिन्ता छ। रुपन्देहीको बगाह गाविसमा ५२ बिघा क्षेत्रफलमा रहेको आर्थिक क्षेत्रमा १४ सय देखि ३७ सय वर्ग मीटर सम्मका ६९ वटा प्लटहरु रहेका छन्।

सञ्चालन व्यवस्थापन मापदण्ड तथा कार्यविधि अनुसार विशेष आर्थिक क्षेत्रभित्र खाद्य उद्योग, कृषिजन्य हर्वल प्रोडक्ट, छालाको वस्तु, तयारी पोशाक, हस्तकला, धातु तथा प्लाष्टिक उत्पादन गर्ने उद्योगलाई प्राथमिकता दिइन्छ। ती उद्योगले ७५ प्रतिशत उत्पादन विदेश निर्यात गर्नुपर्ने प्रावधान छ।

सेज प्रशासन भने ७/८ महिनाभित्र विद्युत आपूर्ति हुने दावी गरेको छ। विशेष आर्थिक क्षेत्रका प्रमुख सुन्दर थापाले धकधई विद्युत सव स्टेशन मार्फत सेजमा विद्युत आउने बताए। ‘प्रक्रिया शुरु भएको छ, छिट्टै विद्युत आउँछ', उनले भने।

तर सेजले विद्युत वितरण आयोजनासंग औपचारिक रुपमा विद्युत नै माग गरेको छैन। विद्युत वितरण प्रणाली सुदृढिकरण तथा विस्तार आयोजनाले जोगिकुटी ग्रीडबाट धकधईसम्म ३३ केभी लाईन विस्तारका काम गरिरहेको छ।

डवल लाइन मार्फत जाने विद्युतले सेजको केही आवश्यकता पूरा गर्ने आयोजनाका बुटवल डिभिजन इन्चार्ज विश्वरञ्जन मिश्रले बताए। ‘सेजले हाम्रो आयोजनासंग विद्युत माग गरेको सम्बन्धी अफिसियल्ली कुनै जानकारी छैन, उनले भने।

सेजमै विद्युत पुराउनका लागि भने ३३ केभिको सिंगल लाइनलाई डबल बनाउन लागिएको छ। सो लाइन धकधईसम्म पुगे सेजले ४० एमभीए विद्युत पाउन सक्नेछ। तर त्यसका लागि धकधईसम्म लाइन विस्तारको काम सेजबाट हुनुपर्नेछ। यी काम मन्त्रीले भने जस्तै ६/७ महिनामा पूरा भने हुने छैनन्।

बुटवल ग्रीडबाट धकधईसम्म पुराउने काम कम्तीमा एक वर्ष लाग्ने डिभिजन इन्चार्ज मिश्रले बताए। ‘समयमा इआईए भए र सामाजिक रुपमा व्यवधान नभए एक वर्ष भित्र धकधईमा ३३ केभीको डबल लाइन पुग्छ। त्यसपछिको काम सेजले नै गर्नुपर्नेछ' उनले भने ।

सेजका प्रमुख थापाले असारसम्म विद्युत आउनेमा आशावादी रहेको बताए। ‘हामीले प्राधिकरण, माथिल्लो निकायमा विद्युतका लागि पहल गरिरहेका छौं, असारसम्म आउने आश्वासन छ, हामी विश्वस्त छौं, उनले भने। उनका अनुसार तत्काल सञ्चालनको स्विकृत पाएका १९ वटा उद्योगलाई बढीमा १० मेगावाट विद्युतले पुग्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.