|
आइतबार प्रदर्शनकारीको आक्रमणमा घाइते भएका प्रहरीहरु

बुटवल : अलग मधेसको माग गर्दै अभियान चलाउने सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका ६ जनालाई प्रहरीले राज्य विप्लवको मुद्दा चलाएको छ।

शनिबार रुपन्देहीको मर्चवारबाट पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले आइतबार जिल्ला अदालत रुपन्देहीमा राज्य विरुद्ध संगठित अपराध गरेको अभियोगमा राज्य विप्लव मुद्दा दर्ता गरेको हो।

प्रहरी निरीक्षक धर्मराज भण्डारीका अनुसार रुपन्देही बोगडी ५ का उदिप यादव, बयरघाट ४ का मक्बुल अन्सारी, लुम्बिनी सांस्कृतिक नगरपालिका १९ का विकासप्रसाद लोध, रोहिणीहवा ४ का परमेश्वर यादव, कम्हरिया ८ का मुकेश साहनी र कपिलवस्तु मोतीभारीका जितेन्द्र चौधरी विरुद्ध राज्य विप्लव मुद्दा चलाइएको हो।

उनीहरुले सीके राउतको स्वतन्त्र मधेस अभियानलाई साथ दिदै राज्य विरुद्ध संगठित अपराध गरेको प्रहरीको ठहर छ। उनीहरुमध्ये केही व्यक्ति यसअघि पनि पक्राउ गरी सचेत गराएर छाडेको र व्यवहारमा सुधार नआएकाले मुद्दा चलाएको प्रहरीले बताएको छ।

शनिबार पक्राउ परेका अरु केहीलाई भने सचेत गराएर छाडेको छ। पक्राउ परेकाहरुको रिहाइको माग गर्दै आइतबार पनि राउतका कार्यकर्ताले मर्चवारमा प्रदर्शन गर्दै प्रहरी चौकीमाथि आक्रमण गरेका थिए।

उनीहरुले मर्चवारको वडवडिया प्रहरी चौकीमा ढुंगामुढा गरी हतियार समेत लुटेका थिए। प्रहरी चौकीमा आक्रमण गरेपनि प्रहरीले संयमता अपनाएका कारण ठुलो क्षति हुन नपाएको लुम्बिनी अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक दीपक थापाले जानकारी दिए।

उनका अनुसार प्रर्दशनकारीहरुले प्रहरीलाई चारैतर्फबाट घेरा हालेर आक्रमण गरेका थिए। ‘संयमता अपनाउदै प्रहरी ब्याक भएको थियो, त्यही अवस्थामा लखेटेर हतियार लुटिएको थियो', उनले भने  'लुटिएका हतियारमध्ये एसएलआर, म्यागेजिन भने हामीले फिर्ता ल्याएका छौं।’

उनका अनुसार ग्यास गन र केही ग्यासहरु प्रहरीले फेला पारेको छैन। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन पाँच राउण्ड हवाइ फायर गरेको थियो।

आइतबार भएको झडपमा दुवैतर्फ केही घाइते भएका छन्। घाइते हुनेमा प्रहरी हवल्दार अर्जुन रोकाया, प्रहरी जवान रमेश पाल, प्रहरी जवान रामबहादुर भण्डारी र प्रहरी जवान अमर मल्ल रहेका छन्। उनीहरुको टाउको, हात खुट्टा तथा छातीमा चोट लागेको छ। घाइतेको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.