|

काठमाडौं : गोरखाका २८ वर्षीय विनोद कुमार (नाम परिवर्तन) र गोरखाकै २५ वर्षीया अनिता खत्री (नाम परिवर्तन) करिब ८ वर्षदेखि काठमाडौंमा लिभइन रिलेशनसिपमा थिए। औपचारिक विवाह नगरे पनि उनीहरुको सम्बन्ध पति-पत्नीको जस्तै थियो।

यसबीचमा विनोद भाषा परीक्षा उत्तिर्ण गरेर कोरिया गए। कोरियामा रहँदा पनि विनोद र अनिताबीच सुमधुर सम्बन्ध रह्यो। विनोदले अनितालाई निरन्तर पैसा र उपहार पठाइरहे तर कोरियाबाट फर्केपछि भने विनोदले अनितासँग बिहे गर्न अस्वीकार गरे।

आफू कोरियामा भएको बेला अनिताले नेपालमा अर्कै केटासँग सम्बन्ध जोडेको र कोरियाबाट पठाएका उपहार केटा साथीलाई दिएको विनोदको दाबी थियो। विनोदले विवाह गर्न अस्वीकार गरेपछि अनिताले गत असोज ३० मा महानगरीय प्रहरी वृत्त महिला तथा बालबालिका सेवा केन्द्र कालीमाटीमा उजुरी गरिन्। 

केन्द्रले समस्या समाधानका लागि पहल गरे पनि सहमति जुट्न नसकेपछि अनिताले विनोदविरुद्ध जिल्ला अदालत काठमाडौंमा बलात्कार मुद्दा दर्ता गरिन्। अनिताले बलात्कारको आरोप लगाए पनि अनुसन्धानका क्रममा विनोदको दाबी बलियो देखियो भने अनिताको पनि गल्ती देखियो। त्यसपछि अदालतले विनोदलाई धरौटीमा रिहा गर्‍यो।

सामान्यता यस्ता मुद्दामा आरोपितलाई जेल पठाउने प्रावधान भए पनि यस घटनामा केटीको गल्ती देखिएकाले अदालतले विनोदलाई धरौटीमा छाडेको थियो। 

महानगरीय प्रहरी कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्र कालीमाटीका अनुसार काठमाडौंमा पछिल्लो समय लिभिङ टुगेदर ठूलो चुनौती बनिरहेको छ। केन्द्रकी प्रमुख प्रहरी निरीक्षक सुभद्रा वाइबाका अनुसार लिभिङ टुगेदरमा रहनेबीच असमझदारी भएपछि उजुरी लिएर सेवा केन्द्र आउनेको संख्या बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.