अहिलेको बहसबाट पार्टी झन् बलियो हुने जिकिर

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले मिचेको भूमि समेटेर नक्सा निकालेपछि त्यसको सबै जस प्रधानमन्त्री केपी शर्मा ओलीले लिन खोजेको भन्दै आक्रोश पोखेका छन्। 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको श्रद्धाञ्‍जली कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 'भारतले नेपालको भूभाग पनि समेटेर गत कात्तिकमा नक्सा निकाल्यो। त्यो बेला कार्यकारी अध्यक्षका रुपमा मैले स्थायी कमिटीको अध्यक्षता गर्दैथिएँ', उनले भने, 'भारतले नक्सा निकालेर बिलकुल गलत गरेको छ भनेर मैले सुरुमै कुरा उठाएँ। हामीले उसको भूमि लिने होइन, हाम्रो भूमि एक इन्च पनि छाड्दैनौँ भनेका थियौँ। हामीले मंसिर २९ गतेबाट बसेको स्थायी कमिटी बैठकमा नक्सा निकाल्ने भन्यौँ। तर सरकारले सुनेन।'

अध्यक्ष दाहालले पार्टीको निर्णय नमानी अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा निकाल्ने भन्दा भूमि नै फिर्ता गर्छौं भनेर टारेको बताए। 'हामीले तत्कालै नक्सा निकालौँ भन्दा सरकारले नक्सा निकाल्न हतार छैन, भूमि नै फिर्ता ल्याउने भनेर टार्‍यो। माघको केन्द्रीय कमिटीले पनि नक्सा निकाल्न पनि दबाब दियो। तर त्यबेला पनि सरकारले चासो दिएन।'

अध्यक्ष दाहाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नक्सा प्रकाशन पार्न ठूलै दबाब दिनुपरेको स्मरण गरे। 'पटक पटक दबाब दिँदा पनि नसुनेपिछ अन्तिममा नीति तथा कार्यक्रकमा नक्सा प्रकाशित गर्ने कुरा पर्नै पर्छ भन्यौँ। त्यहीँबाट मुख्य सचिवलाई फोन गरेर त्यो भाषा छापिनै पर्छ भनेका थियौं', उनले भने, 'एकजना कमरेडले भन्‍नु भयो, पार्टीको निर्णय सरकारले मानिदिँदा कति राम्रो हुँदो रहेछ। पार्टीको निर्णयभन्दा बाहिर सरकारले काम गर्दा कति धेरै विवाद जन्मिए कति अलमल र गडबड भए।'

पार्टीको निर्णय सामूहिक हुने बताउँदै दाहालले तर सरकारको तर्फबाट त्यसबेला प्रधानमन्त्रीले नबोली बैधानिक हुने अवस्था नरहेको पनि उल्लेख गरे। 'पार्टी निर्णय सामूहिक विवेकको अभिव्यक्ति हुन्छ। प्रधानमन्त्रीले नभनी वैधानिक हुँदैन थियो', उनले भने, 'पार्टीको सबै निर्णय व्यक्तिको खल्तीमा हाल्ने प्रयास भयो भने त्यो ठीक हुँदैन। त्यो त दिग्भ्रम हुन्छ। अहिलेको नक्सा सबैको एकताको प्रतिफल हो।' 

उनले पार्टीको निर्णयलाई सरकारले वैधानिक प्रदान गरेकाले कसैलाई हिरो बनाउन जरुरी नभएको पनि बताए। 'भारतले हडपेको भूमि समेटेर नक्सा निकालौँ भन्‍नेहरु चाहिँ अहिले कसरी राष्ट्रघाती र दलाल भए? तर नक्सा निकाल्न ६ महिना लगाउने चाहिँ राष्ट्रवादी हुन सक्दैन। यो परिभाषा सरासर गलत छ।'

अब जनताको बहुदलीय जनवाद जिन्दाबाद भन्यो भने त्यो एकतातिर गएको नहुने उनले बताए। 'पार्टी एकता गर्दा र अगाडि बढ्दा समाजवादोन्मुख भनिएको छ। ती सबैलाई परिमार्जित गर्नुपर्छ भनिएको छ। मैले माओवाद जिन्दावाद, एक्काइसौं शताब्दीको जनवाद जिन्दावाद या बहुदलीय जनवाद जिन्दावाद भन्दा पार्टी फुट्छ', उनले भने, 'अहिले जुलुस ननिकालौँ। हामीले बाहिर जानु उचित छैन। पार्टी भनेको विचार र विधि नै हो। विचार र विधि मिलेपछि पार्टी बन्छ। विचार र विधिमै एकरुपता कायम गर्नुपर्छ।'

उनले व्यक्तिगत निर्णयलाई मान्‍दा पार्टी अघि बढ्न नसक्ने बताउ। 'हाम्रो बहस समाजवादतिरकी पूँजीवाद तिर अलमल छ। पदको निम्ति पो झगडा हो कि भन्‍ने भएको छ त्यसलाई सच्याउनै पर्ने भएको छ', उनले थपे, 'यो विचारकै बहस हो, कसैलाई पदमा लैजाने बहस होइन प्रधान कुरा विचारकै बहस हो। पार्टी विभाजन हुन दिइनेछैन, पार्टी विचार केन्द्रित हुनेछ। पार्टीमा विचार अझै स्पष्ट भएर आउनेछ विधि पनि आउनेछ। आत्तिनुपर्दैन यो बहसबाट पार्टी अझै एकतावद्ध हुन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.