|

काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चुनावको मिति घोषणा भए सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। आफ्नो माग पूरा नगरी चुनावको मिति घोषणा गरे सबैभन्दा पहिला सरकारसँगको सम्बन्ध तोडेको घोषणा गर्ने तयारी गरेको सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिए।

दिउँसो २ बजे तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा बस्ने मोर्चाको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनको भनाइ छ। मोर्चाले यसअघि नै सरकारले चुनावको मिति घोषणा गरेलगत्तै आन्दोलन थाल्ने बताउँदै आएको छ। यसक्रममा पुत्लादहनदेखि आमहड्तालसम्मका कार्यक्रम घोषणा गर्ने उसको तयारी छ।

चुनावको मिति घोषणा गर्नुअघि मोर्चालाई विश्वासमा लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटक-पटक छलफल गरेका थिए। तर, मोर्चा आफ्नो अडानबाट टसको मस भएन। संविधान संशोधन र चुनावमा सँगसँगै अघि बढ्ने प्रधानमन्त्रीको प्रस्ताव मोर्चाले नमानेपछि सरकारले चुनावको मिति घोषणा गर्न लागेको हो।

चुनावको मिति घोषणा गरेपछि संविधान संशोधनमा एमालेले पनि अवरोध खडा नगर्ने प्रधानमन्त्रीको विश्वास छ। यद्यपी मोर्चाले भने संविधान संशोधनपछि मात्र चुनावमा जानु पर्ने बताउँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.