दाहालका प्रेस संयोजक भन्छन् : स्थायी कमिटी सुरू भयो

|

काठमाडौं : चर्को विवादकाबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक राख्‍ने प्रयास भएको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयबाट स्थगित स्थायी कमिटी बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डाकेका हुन्। 

बालुवाटारमा सुरू भएको भनिएको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षका नेताहरू अनुपस्थित छन्। नेकपा अध्यक्ष दाहाल प्रेस संयोजक विष्णु सापकोटा जुगलले बालुवाटारमा स्थायी कमिटी बैठक सुरू भएको जानकारी दिएका छन्। उनले बैठकमा सहभागीहरूबारे केही खुलाएनन्। 

प्रधानमन्त्री ओलीले एकलौटी रुपमा स्थगित गरेको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको उपस्थितिमा राख्‍ने प्रयास भएको हो। ४४ स्थायी कमिटी सदस्यमध्ये २४ जना पहिले नै उपस्थित भएको दाबी वरिष्ठ नेता झलनाथ खनालले गरेका थिए। उनले अन्य केही सदस्य आएपछि बैठक बस्‍ने बताएका थिए। तर ओली पक्षले कोरम नै नपुगी बैठक राख्‍नु र नराख्‍नुको कुनै अर्थ नहुने जनाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटीको बैठक सुरु भएको अध्यक्ष दाहालका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले जानकारी दिए। बैठकमा ओली पक्षका स्थायी कमिटी सदस्यहरु सहभागि नभएको बैठकमा सहभागी एक नेताले बताए। 

'अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँग भेटेर छलफल गर्नुभएको थियो, त्यसबारेमा ब्रिफिङ गर्नु भएको छ', एक नेताले भने, 'प्रधानमन्त्री ओली सहमतिमा नआएपछि वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालसहितको उपस्थितिमा बैठक बसाइएको हो।'

ओली पक्ष अनुपस्थित

महासचिव विष्णु पौडेलबाट आधिकारिक रुपमा बैठक स्थगितको जानकारी गराएको भन्दै ओलीपक्षको नेता बैठकमा सहभागी भएका छैनन। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक अनिश्‍चितकालका लागि स्थगित गरेको जानकारी गराएका थिए। 

तर, अध्यक्ष दाहालले बैठक सुरु हुनुअघि स्थगित गर्नेबारे प्रधानमन्त्री ओलीले आफूलाई जानकारी नगराएको बताएका छन्। अध्यक्ष दाहालसहितका नेताहरुले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्नुपर्ने माग राखेपछि नेकपाभित्र विवाद चर्किएको थियो। 

तर, प्रधानमन्त्री ओली दुवै पद नछाड्ने पक्षमा छन्। यता पार्टीभित्रको समस्या समाधान र पार्टी विधि र पद्धतिमा चलाउन भन्दै ओलीले एक पदबाट छाड्नैपर्ने दाहाल नेपाल पक्षको अडान छ। 

स्थायी कमिटीको बैठक प्रधानमन्त्री राजीनामा माग गरेका उपाध्यक्ष गौतमले मंगलबार एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओली यो कार्यकाल पूर्ण रूपमा सरकारको जिम्मेवारी र अध्यक्ष दाहालले एकता महाधिवेशन सम्म कार्यकारी अध्यक्ष चलाउने माध्यमार्गी प्रस्ताव ल्याएका छन्। 

अध्यक्ष दाहालनिकट भनिएका उपाध्यक्ष गौतम खुलेर प्रधानमन्त्री ओलीतिर देखिएका छन्। उपाध्यक्ष गौतमको प्रस्तावले नेकपाको विवाद नयाँ मोडमा पुगेको छ।

बादल गृहमै 

दाहाल-नेपालले राखेको भनिएको उक्त बैठकमा स्थायी कमिटी सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल अनुपस्थित छन्। उनी सिंहदरबारस्थित कार्यालयमा काम गरिरहेका उनका एक सहयोगीले जानकारी दिए। प्रधानमन्त्री ओलीसँग भेट गरेर फर्किएका प्रचण्डले बालुवाटारमा उपस्थित नेताहरुलाई 'बिफ्रिङ' गरिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.