मेलेम्चीको दोस्रो आयोजनामा पनि सहयोग

|

काठमाडौं : विकास सझेदार एसियाली विकास बैंक (एडीबी) ले आगामी तीन वर्षमा नेपाललाई ८४ करोड ३८ लाख डलर (करिब ९० अर्ब नेपाली रुपैयाँ)  सहयोग गर्ने भएको छ। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एडिबीका उपाध्यक्ष वाइचाइ जियाङले ८४ करोड ३८ लाख डलरका कार्यक्रम घोषणा गरेका हुन्।  

उनले सन् २०१७ देखि २०१९ सम्मका लागि यो रकम सहयोग गर्ने जानकारी दिए। एडीबीले तनहुँ जलविद्युत आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन विमानस्थलको स्तरोन्नोति, काठमाडौं उपत्यका विद्युत वितरण प्रणालीमा सुधारजस्ता ठूला आयोजनामा सहयोगको घोषणा गरेको हो। यस्तै एडीबीले पूर्व पश्चिम राजमार्गको विस्तार, मेलम्चीको दोस्रो आयोजना र दूधकोसी जलासययुक्त आयोजनालगायत ठूला पूर्वाधारमा सहयोग गर्ने जियाङले प्रतिवद्धता व्यक्त गरे ।

दिगो विकास कार्यक्रममा सहयोग बढाउने

सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको राष्ट्रको रुपमा पुर्‍याउने सरकारी योजनालाई एडीबीले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। यसको लागि सन २०२२ पछि नेपाललाई कम्तिमा वार्षिक ५० करोड डलरसम्मको सहयोग विस्तार गर्ने लक्ष रहेको एडीबीका उपाध्यक्ष  वाइचाइ जियाङले बताए।

सरकारले ल्याएको दिगो विकास कार्यक्रम सन् २०३० सम्म मध्यम आय बनाउने सरकारको योजनालाई सहयोग गर्ने प्रतिवद्धता जनाउदै सोही अनुसारको सहयोग विस्तार गर्ने उनले बताएका हुन्। उनले नेपालमा ठूला योजना कार्यन्वयनमा ढिलासुस्ती हुने र कार्यान्वयन अधिकारीको क्षमता अभिवृद्धि हुन नसकेको भन्दै यसलाई सुधार गर्नुपर्ने आवश्यकता औल्याए। गत वर्ष आयोजना कार्यान्वयनमा सुधार आएकाले एडीबीले सहयोगका ३५ करोड ८० लाख डलर बराबरको ठेक्का सम्झौता भएको भन्दै उनले यो ठूलो उपलब्धी भएको दावी गरे। यसमध्ये हालसम्म २० करोड १० लाख डलर ऋण निकासा भएको उनले जानकारी दिए।

मेलेम्चीको दोस्रो आयोजनामा पनि सहयोग गरिने

एडीबीले मलेम्चीको दोस्रो आयोजनामा पनि सहयोग गर्ने भएको छ। मेलम्चीबाट थप पानी आपूर्ति गर्न याङरी र लार्के खोलाबाट पानी ल्याउनका लागि सुरुङ योजनामा सहयोग गर्ने एडीबी उपाध्यक्ष जियाङले स्पष्ट पारे।  मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने जानकारी दिँदै उनले याङरी र लार्के दोस्रो योजना सम्पन्न भएपछि उपत्यकामा दैनिक ५१ करोड लिनटर पानी आपूर्ति हुने जानकारी दिए। दोस्रो आयोजना सम्पन्न भएपछि काठमाडौं उपत्यकामा सातै दिन २४ सै घण्टा पानी आपूर्ति हुने उनले जानकारी दिए। 

उपाध्यक्ष वाइचाई जियाङले आउँदो अक्टुबरसम्म मेलम्ची खानेपानी आयोजनाको काम सकिने बताए। 'मेलम्चीको काम तीब्र गतिमा अघि बढेकाले निर्धारित समयमा सकिने छ' उपाध्यक्ष जियाङले भने। यस्तै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को संरचनामा सुधार आवश्यक भएको उनले औंल्याए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.