काठमाडौं : पत्रकार तथा साहित्यकार नवीन विभाषको कथासङ्ग्रह 'रोल्पा सुइना (रोल्पाको सपना)' को सार्वजनिक भएको छ। लेखक खगेन्द्र सङ्ग्रौला र आदित्य अधिकारीले संयुक्त रुपमा यस कथासङ्ग्रहको विमोचन गरेका हुन्।
तीन भागमा विभाजित सो सङ्ग्रहमा द्वन्द्व, द्वन्द्वोत्तर र विविध कथा समेटिएका छन्। लेखक सङ्ग्रौलाले माओवादीले १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा सबैभन्दा बढी प्रभावित र धेरै नागरिक सहिद भएको जिल्ला रोल्पाको ग्रामीण जनजीवन, सामाजिक अवस्था एवम् युद्धले पारेको प्रभावका बारेमा कथामा सूत्रबद्ध तवरले व्याख्या गर्ने प्रयत्न गरेको बताए।
'माओवादी आन्दोलनले धेरै लेखक जन्माए पनि अधिकांश रचनामा आवेग भरिएका हुन्थे तर विभाषको कथामा आवेग होइन यथार्थ समेटिएको छ । आन्दोलनको सकारात्मक र नकारात्मक दुवै पक्षको मिहिन तवरले उद्घाटन गरिएको छ,' सङ्ग्रौलाले भने।
साहित्यकार अधिकारीले कथासङ्ग्रह जीवन्त र यथार्थमा आधारित रहेको तथा माओवादी आन्दोलनले ल्याएका सबै पक्षको सरल ढङ्गले उद्घत गर्न सफल रहेको बताए। कथाकार विभाषले कथा यथार्थको नजिक रहेको र रोल्पाको परिवेशलाई उतार्न आफूले प्रयास गरेको बताए। साङ्ग्रिला बुक्सले प्रकाशनमा ल्याएको सो सङ्ग्रहमा ३७ कथा छन्। विभाषको यसअघि ‘आधा बाटो हिँडेपछि’ कथासङ्ग्रह प्रकाशनमा आइसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।