पार्टीसँग सल्लाह नगरी ओलीले मनखुसी गरेको आरोप
पार्टीसँग सल्लाह नगरी ओलीले मनखुसी गरेको आरोप
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष दाहालबीच मंगबालर बालुवाटारमा भएको छलफलमा चर्काचर्की परेको छ।
प्रधानमन्त्री ओलीले पार्टीभित्र सल्लाह नगरी एकलौटी रुपमा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा विवादित पृष्ठभूमिका सुशील भट्टलाई नियुक्त गरेपछि दुईजनाबीच चर्काचर्की परेको हो।
बैठकमा दर्जनौं विकास आयोजना अलपत्र पारेका व्यक्तिलाई नै सरकारको लगानी बोर्ड जिम्मा लगाइनु बेठीक भएको कुरा अध्यक्ष दाहालले राखेका थिए। ‘प्रधानमन्त्री ओलीको कार्यशैलीबाट पटक पटक पार्टीभित्र विवाद सिर्जना भइहेको छ। अहिले पनि एउटा समस्या समाधानका लागि छलफल गर्न जुटेका थियौँ। तर, आज अर्कै बिषय उहाँले निम्त्याउनुभयो,’ बैठकमा सहभागी एक नेताले थाहाखबरसँग भने।
अध्यक्ष दाहालसहित यो विषय जोडदार रुपमा उठाएपछि प्रधानमन्त्रीलाई जवाफ दिन समस्या परेको थियो। यस्तोमा दुई अध्यक्ष गम्भीर वादविवादको अवस्थामा पुगेको ती नेताले बताएका छन्।
‘आजको बैठकको सुरुमा लगानी बोर्डमा अयोग्य व्यक्ति नियुक्ति गरेपछि हामीले त्यस बिषयमा प्रधानमन्त्री ओलीलाई कुरा उठायौँ,’ उनले भने, ‘तर, उहाँले किन भट्टलाई नियुक्त गर्नुभएको भन्ने विषयमा चित्त बुझ्दो जवाफ दिनसक्नुभएन’
गलत व्यक्तिलाई नियुक्त गरेको कुरामा आफूहरु र अध्यक्ष प्रचण्डले पनि आपत्ति जनाएको उनले बताए। ‘लगानी बोर्डको नियुक्ति गलत भएको छ।पार्टीमा समेत सल्लाह गरी एकलौटी नचल्न चेतावनी दिएका छौँ’, ती नेताले भने, ‘पार्टीभित्र सधैँ एक्लै चलेर हुँदैन। पार्टीको विधि विधान पद्धति हुन्छ। त्यसलाई पनि मान्नुपर्छ भन्नेमा जोड दिएका हौँ।’
उहाँ (ओली) अहिलेमात्रै नभएर पहिलेदेखि पार्टीभित्र विवाद सिर्जना गर्नमा केन्द्रित नै रहेको ती नेताले आरोप लगाए। ‘अहिलेसम्म तपाईंले एकलौटी रुपमा जे गर्नुभयो, गर्नुभयो। तर, आगामी दिनमा यस्तो निर्णय तपाईँ एक्लै गर्न पाउनुहुन्न भनेका छौँ’, उनले भने।
ओली पार्टीको निर्देशनबिना एक्लै चल्न नपाउने समेत उनले बताए। सोमबार बसेको मन्त्रिपरिषद्को सोमबार बैठकले भट्टलाई लगानी सीइओमा नियुक्त गरेको थियो।
सचिवालयको पक्षमा ओली
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेलामा प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठकबाट छल्न खोजेको ती नेताले आरोप लगाए। 'सरकार र पार्टी नेतृत्व उहाँबाट चल्न सकेको छैन। स्थायी कमिटीको बैठकमा उहाँविरुद्ध मत धेरै उठेको हुनाले बैठकबाट टाढा रहन खोज्नुभएको छ,’ उनले भने।
‘उहाँले स्थायी कमिटीको बैठक राख्न नसक्ने भएकाले सचिवालयमा छलफल गरौँ भन्नुभयो। तर, हामीले पहिलो स्थायी कमिटी बसौँ। त्यसपछि स्थायी कमिटीको माग भएमा मात्रै सचिवालय बैठक राखौँला भन्ने कुरा राख्यौँ’, उनले भने, ‘तर, उहाँ स्थायी कमिटी राख्न तयार नभएकाले आफ्नो अडानबाट पछि हट्नुभएन।’
‘स्थायी कमिटीको बैठकमा कोरोना भाइरस (कोभिड १९), सरकार र पार्टीको समीक्षा, नयाँ नक्सा प्रकरण लगायत महत्वपूर्ण बिषयमा छलफल बाँकी नै भएकाले हामीले छलफलको स्थायी कमिटी अगाडि बढाउन माग गरेका छौँ’ उनले भने, ‘तर, उहाँ आफ्नो अडानबाट पछि हट्ने संकेत गर्नुभएको छैन। त्यसका लागि छलफल गर्न भोलि फेरि ५ बजे बोलाइएको छ। छलफल होला।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।