पर्सामा मात्रै मृतक संख्या १५ पुग्यो
पर्सामा मात्रै मृतक संख्या १५ पुग्यो
पर्सा : बिहीबार बिहान वीरगन्जमा संक्रमण पुष्टि भएका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसिया आइसोलेसनमा गएका छन्।
वीरगन्जमा थपिएका ४३ नयाँ संक्रमितमा चौरसियासमेत थिए। उनी केही दिनअघि मात्र काठमाडौंबाट वीरगन्ज आएका थिए। उनीसँगै अन्यको भने रिपोर्ट नेगेटिभ आएको छ।कोरोना लक्षण भने आफूमा नदेखिएको र अवस्था सामान्य रहेको चौरसियाले बताएका छन्। उनी हाल वीरगन्ज–११ को ओम आश्रमछेउमा रहेका आफ्नै घरमा आइसोलेसनमा छन्।
पर्साका उच्चपदस्थ अन्यमा पनि संक्रमण
त्यस्तै पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव, वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी, महानगरकै प्रमुख प्रशासकीय अधिकृत, वीरगन्ज कारागारका प्रमुख (जेलर), नेकपाका वीरगन्ज महानगर अध्यक्ष रहबर अन्सारी, नारायणी अस्पतालका केही चिकित्सक, त्रिजुद्ध माविका प्रधानाध्यापक, रेल्वे माविका प्रधानाध्यापकलगायतलाई पनि संक्रमण भएको छ।
त्यसैगरी वीरगन्जमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कर्मचारीमा समेत संक्रमण भेटिइसकेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्यायले बताए।
पर्सामा थपिएका संक्रमितहरुमा केहीमा भने लक्षण पनि देखिएको उनको भनाइ छ। लक्षण देखिएर विशेष कोभिड अस्पतालमा भर्ना गरिएका ६ जनालाई भने आइसियुमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।
नयाँ संक्रमितसँगै पर्सामा अब संक्रमितको कुल संख्या ७ सय ६३ पुगेको छ। चैत ३० गतेबाट साउन ६ गतेसम्म भने पर्सामा जम्मा १ सय ७७ जनामा मात्र संक्रमण फेला परेको थियो।
मृतकको संख्या १५ पुग्यो
पर्सामा मृतकको संख्या पनि अहिलेसम्म १५ पुगिसकेको छ। मृतकमध्ये पहिले संक्रमण पुष्टि भएकामा लक्षण पनि देखिएको र बाँकीको मृत्यु भएपछि संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। गएको १६ दिनको अन्तरालमा १४ जनाको कोरोनाकै कारण मृत्यु भएको हो।
प्रदेश २ भर भने मृत्यु हुनेको संख्या २२ पुगेको छ। जसमा एक जना पहिचान नखुलेका व्यक्ति वीरगन्जको घण्टाघर नजिकको बिपी उद्यानमा मृत फेला परेका थिए। उनको पछि पिसिआर गर्दा पोजेटिभ फेला परेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।