|
फाइल फोटो

काठमाडौं : नेपालमा कोभिड १९ को संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्सा जिल्लाका ३ जना, सर्लाही र सिरहाका एक–एक जना गरी पाँच जनाको मृत्यु भएको बताए।

पर्साको विरगन्ज महानगरपालिकाका ४५ वर्षीय पुरुषको साउन २२ गते पाटन अस्पतालमा र पर्साकै ७९ वर्षीय पुरुषको साउन २० गते घरमै निधन भएको र कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताउनुभयो। त्यस्तै पर्साकै ५७ वर्षीय अर्का पुरुषको साउन २२ गते गण्डक अस्थायी कोभिड अस्पातलमा निधन भएको छ।

सिरहा गोलबजार नगरपालिकाका २५ वर्षीय पुरुषको साउन २२ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको छ। सर्लाही घर भएका ४५ वर्षीय पुरुषको साउन २३ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटनमा निधन भएको छ। यससँगै हालसम्म कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा ४ सय ६४ जना नयाँ संक्रमित पुष्टि भएको प्रवक्ता गौतमले बताउनुभयो। यससँगै हाल सम्म कुल संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ। २४ घण्टामा मुलुकभरबाट थप ४ सय २५ जना डिस्चार्ज भएका छन्। हालसम्म १५ हजार ८ सय १४ जना निको भएर घर फर्किएका छन्।

अहिले ६ हजार ३ सय ३० जना संक्रमितको आइसोलेसनमा उपचार भइराखेको छ। जस मध्ये प्रदेश १ मा ४ सय २५ जना, प्रदेश २ मा २ हजार ८ सय ३९ जना, बागमती प्रदेशमा ९ सय ४३ जना, गण्डकी प्रदेशमा २ सय ७६ जना, प्रदेश ५ मा ३ सय ७६ जना, कर्णाली प्रदेशमा २ सय ३१ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार २ सय ४० जना संक्रमित रहेका छन्।

प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६ जना संक्रमित थपिएको बताउनुभयो। काठमाडौंमा ९२ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जनामा कोरोना संक्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा ७ हजार ९ सय २६ पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताउनुभयो। त्यस्तै देशभर क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या १० हजार २ सय ७ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.