शनिबार थप ३ जनाकाे मृत्यु

|

काठमाडाैं : नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ। शनिबार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या एक सय २ पुगेकाे छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका १—१ जना गरी थप ३ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या १ सय २ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कपिलवस्तुको मायादेवी—७ का ४० वर्षिय पुरुषको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

यस्तै पर्साको विरगञ्ज महानगरपालिका—१२ का ६० वर्षीय पुरुषको साउन ३० गते नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षिय पुरुषको साउन २९ गते कोरोनाबाट मृत्यु भएको हो।  

प्रदेश नम्बर १ मा ९ जना, प्रदेश २ मा ४४ जना, बागमती प्रदेशमा १८ जना र गण्डकी प्रदेशमा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ। यस्तै प्रदेश ५ मा १३ जना, कर्णाली प्रदेशमा ४ जना र  सुदूरपश्चिम प्रदेशमा ८ जनाको मृत्यु भएको छ। जसमा ८० जना पुरुष र २२ जना महिला रहेका छन्।

नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार नाघेको छ। ४ सय ६८ जना थप संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २६ हजार १९ पुगेको हो। आज शनिबार भएका ११ हजार ४७ पीसीआर परीक्षणमा ४ सय ६८ जनामा संक्रमण देखिएको हो।

आज विभिन्न अस्पतालबाट १ सय २४ जना संक्रमित निको भएर घर फर्किएका छन। प्रदेश नम्बर १ मा ११ सय ८, प्रदेश नम्बर २ मा ३ हजार ५ सय ४५, बागमती प्रदेशमा ६ सय ४१ र गण्डकी प्रदेशमा १ हजार ५ सय २५ जना संक्रमित डिस्चार्ज भएका छन्। यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २ सय ८६, कर्णाली प्रदेशमा १ हजार ९ सय ३३ र सुदूरपश्चिम प्रदेशमा ४ हजार १ सय ६३ जना गरी आजसम्म कोरोनामुक्त हुनेको संख्या १७ हजार २ सय १ पुगेको छ।

आज आइसोलेसनमा  ८ सय १ सय ९३ जना संक्रमित उपचाररत रहेका छन्। प्रदेश नम्बर १ मा ८ सय ५४, प्रदेश नम्बर २ मा ३ हजार ८ सय २७, बागमती प्रदेशमा २ हजार २ र गण्डकी प्रदेशमा २ सय ६२ जना संक्रमित आइसोलेसनमा रहेका छन्। यस्तै प्रदेश नम्बर ५ मा ७ सय ३६, कर्णाली प्रदेशमा २ सय २५ र सुदूरपश्चिम प्रदेशमा ८ सय १० जना आइसोलेसनमा रहेका छन। आज ५ सय २३ जना संक्रमित होम आइसोलेसनमा रहेको उनीले बताए। आज आइसियुमा ९८ र भेन्टिलेटरमा ४ जना संक्रमित उपचाररत रहेका छन्।

आज क्वारेन्टिनमा १४ हजार ४ सय ४८ जना रहेका छन्। प्रदेश नम्बर १ मा २ हजार ७ सय १३, प्रदेश नम्बर २ मा १ हजार ७ सय, बागमती प्रदेशमा १ हजार ६४ र गण्डकी प्रदेशमा २ हजार ९ सय ८३ जना रहेका छन। यस्तै प्रदेश नम्बर ५ मा २ हजार ७३, कर्णाली प्रदेशमा ७ सय ६० र सुदूरपश्चिम प्रदेशमा ३ हजार १ सय ५५ जना क्वारेन्टिनमा रहेका छन्।

मन्त्रालयले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुलाई ५ दिनपछि मात्रै कोरोना परीक्षण गर्न आग्रह गरेको छ। संक्रमण पोजेटिभ भएको व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुले तत्कालै परीक्षणका लागि स्वाब दिने गरेको पाइएको भन्दै प्रवक्ता गौतमले तत्कालै परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि कोरोना पोजेटिभ हुने सम्भावना बढी रहने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.