निजीले नलिए अवस्था डर लाग्दो

|
फाइल फोटो

काठमाडौं : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचाररत स्याङ्जाको सिरूबारी निवासी ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भयो। उनलाई असार ८ गते आइसियुमा भर्ना गरिएको थियो।

वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत ८५ वर्षीया मुटुरोगी वृद्धाको आइसियुमा उपचाररत रहँदै कोरोनाबाट मृत्यु भयो। त्यस्तै ललितपुरस्थित पाटन अस्पतालको आइसियुमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको पनि उपचार क्रममै ज्यान गयो।

बारा कलैया घर भएका ७७ वर्षीय पुरुषको किस्ट अस्पतालको आइसियुमा उपचार गर्दैगर्दा मृत्यु भएको थियो। ह्‍याम्स अस्पताल धुम्बाराहीमा उपचाररत ३२ वर्षीय कोरोना संक्रमित पुरुषको पनि आइसियुमै मृत्यु भएको थियो। 

लक्षणसहितका संक्रमितको संख्या बढेसँगै आइसियुमा उपचार गर्नेको संख्या बढ्दै गएको छ। अर्थात् आइसियुमा उपचार गर्नेको संख्या बढेसँगै मृत्युदर पनि बढ्न थालेको हो।बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा ९ जना आइसियुमा उपचाररत छन्। 

उनीहरुलाई अक्सिजन दिएर राखिएको प्रवक्ता डा. प्रवीण नेपालले जानकारी दिए। उनले भने, 'सबै संक्रमित लक्षणसहितका हुन्। अस्पतालमा भर्ना भएका अन्य पनि लक्षणसहित छन्।'

साउन २७ गते देशभरका आइसियुमा रहने संक्रमितको सख्या ८५ र भेन्टिलेटरमा ५ जना थिए। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्‍वर गौतमले उक्त जानकारी दिएका थिए। चार दिनयता आइसियुमा उपचार गराउने संक्रमितको सख्या बढेर ९८ पुगेको छ। गम्भीर बिरामी परेर जीवन मरणको दोसाँधमा पुगेका चारजनाको अहिले भेन्टिलेटरमा उपचार भइरहेको छ। 

बागमतीमा सबैभन्दा धेरै 

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी आइसियुमा उपचाररत छन्। बागमतीमा ४६, प्रदेश २ मा ४३ जना छन्। बागमतीमा भेन्टिलेटरमा ४ जना संक्रमित छन्।

देशभर आइसियु संख्या ९ सय ४२ र भेन्टिलेटर ४ सय ९६ छ। यही अनुसार देशभर रहेका अस्पतालमा बिरामीको संख्या बढदै जाँदा अबको दुई महिनामा आइसियु र भेन्टिलेटर अभाव हुने निश्‍चित छ।

निजी अस्पतालसँग समन्वय गरौं

आइसियुमा संक्रमित संख्या बढ्दै गए बेड अभाव भएमा जेनरल वार्डलाई व्यवस्थित बनाएर प्रयोगमा ल्याउन सकिने जनस्वास्थ्यविद् डा. किरण राज पाण्डे बताउँछन्। दक्ष जनशक्ति बढाएर अस्पतालमा सेवा दिनुपर्नेमा उनले जोड दिए। अहिले जस्तै संक्रमित बढ्दै जाने हो आउँदा दिनमा अहिले भएको आइसियुले नपुग्ने उनले बताए।

उनले भने, 'आइसियुको व्यवस्थापन गर्न सरकार सुरुदेखि चुकिरहेको छ। संक्रमित बढिरहेको अवस्थामा पनि सरकारले यही समयमा पनि निर्माण गर्न सक्थ्यो।' कोभिड अस्पताललाई छुट्टै प्रयोग गर्नुपर्ने उनले बताए। निजी अस्पतालाई प्रयोगमा ल्याउन सरकारले तदारुकता साथ काम गर्नुपर्ने उनले सुनाए।

निजी अस्पताललाई प्रयोगमा ल्याउन सरकारले व्यवहारिक रुपमा नीति बनाउनुपर्नेमा उनले सुझाए। प्राइभेट अस्पताल र सरकार बीच समन्वय अभाव भएकाले पनि केही समस्या भएको हुन सक्ने उनले बताए।

सुरुवाती दिनदेखि निजी अस्पतालले कोरोना उपचार गर्न पाउने व्यवस्था गरेको भए अहिले पछि नहट्ने उनको दाबी छ। कोभिड उपचार सरकारी अस्पतालमा मात्र गर्ने भनेकाले अहिले निजीले असहयोग गरेको हुन सक्ने उनको तर्क छ। 

आइसियु अभाव भए निजी प्रयोग

सरकारी अस्पतालमा आइसियु बेड अभाव हुन थाले प्राइभेट अस्पतालका प्रयोग गर्न सकिने प्रा.डा. गौतमले बताए। निजीले संक्रमितको उपचार गर्न नमाने अन्य केही उपाय लगाएर उपचार गराउन बाध्य बनाउने पक्षमा सरकार लागिपर्ने गौतम बताउँछन्।

सरकारको निर्देशन अवज्ञा गरे कारबाहीसमेत गर्ने अवस्थामा सरकार पुग्‍न सक्ने उनले बताए। राज्यलाई अप्ठयारो पर्दा निजीले सहयोग गर्नुपर्ने उनको भनाइ थियो। सरकारले सरकारी अस्पतालमा आइसियु थप्‍ने तयारी गरिरहेको समेत उनले बताए। नर्स र चिकित्सक अभाव रहेकाले जनशक्ति व्यवस्थापन गरिरहेको उनले सुनाए। 

संक्रमितको उपचारका लागि अहिले केही महिनामै तत्कालै आइसियु अभाव भने नहुने उनको दाबी छ। 'निजी अस्पतालले उपचार गर्न थालेपछि उपचारमा समस्या हुँदैन', गौतमले भने।

रेमडिसिभर परीक्षणका लागि नेपालमा

रेमडिसिभर औषधि नेपाल सरकारले परीक्षणका लागि प्रयोगमा ल्याउन लागिएको गौतमले बताए। स्वास्थ्य अनुसन्धान परिषद्ले यसबारे अनुसन्धान गरिरहेको उनले जानकारी दिए। 

कोरोनाको औषधि पत्ता नलागिसकेको अवस्थामा यो औषधि नै अन्तिम मानेर  प्रयोग गर्न भने नमिल्ने उनी बताउँछन्। 'यो औषधि प्रयोगमा भने औषधि व्यवस्था विभागले अनुमति दिँदैन', उनले बताए। 

बिरामी वा बिरामीका आफन्तको अनुमति लिएर मात्र प्रयोग गर्न सकिने गौतमले बताए। उनले भने, 'रेमडिसिभर औषधि सरकारले निशुल्क रुपमा जनतालाई उपलब्ध गराउँछ। जनताले शुल्क तिरेर किन्‍नु पर्दैन।'

उक्त औषधि दुई-तीन दिनमा नेपाल आइपुग्‍ने बताउँदै त्यसपछि जनतालाई बाँड्ने उनले जानकारी दिए। औषधि भारतबाट ल्याइने पनि उनले जानकारी दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.