|

बारा (सिमरा) : कोरोना महामारी फैलिरहेका बेला जगदम्बा स्टील कम्पनीले भारतीय मालवाहक गाडी आउजाउ गराएको भन्दै सिमरावासी आन्दोलित भएका छन्‌। 

स्थानीय प्रशासनले यसअघि शील गरेको सो उद्योग ४ दिनपछि सञ्चालनको तयारी गरिएको छ। उद्योग सञ्चालनका लागि आधा दर्जन भारतीय मालवाहक गाडी उद्योगभित्र प्रवेश गरेको देखेपछि स्थानीयहरुले अवरोध गरेका हुन्।

यसअघि नै सो उद्योगका ११ जनामा कोरोना संक्रमण देखिइसकेको छ। जसमध्ये पाँचजना भारतीय भागेको र अन्यलाई सिमरास्थित होटल प्याराडाइजमा राखिएको छ।

उद्योगमा कार्यरत मजदुर तथा कर्मचारीका कारण स्थानीयवासीमा संक्रमण फैलने भन्दै स्थानीयहरुले विरोध जनाएका हुन्‌। ‘उद्योग प्रशासनले पीसीआर परीक्षण भएका चालकको माध्यमबाट नेपाली गाडी आउजाउ गरोस्, तर जथाभावी रुपमा भारतीय मालवाहक गाडी ओहोरदोहोर गराउन हामी दिँदैनौ,’ स्थानीय बसन्त ढकालले भने। 

जिल्ला प्रशासन कार्यालय बाराले मंगलबारदेखि लागु हुनेगरी उद्योग सञ्चालन अनुमति दिएको छ। प्रशासनले दिएको अनुमतिपत्रमा उद्योगले सरकारले तोकेको मापदण्ड पालना गर्ने, कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका व्यक्तिहरुको १० दिनभित्र पीसीआर परीक्षण गनुपर्ने, उद्योगभित्रका मजदुर तथा कर्मचारीहरुलाई बाहिर आउन र बाहिरबाट भित्र प्रवेश गर्न दिन नहुने, उद्योगभित्रै आवासको व्यवस्था मिलाउनुपर्ने, भारतवाट आएका मालवाहक गाडीहरुलाई प्रवेशद्वारमा निसंक्रमित गराउनुपर्ने उल्लेख छ।

तर, स्थानीयहरुले भने तोकिएको मापदण्ड पुरा नगरी उद्योगले मजदुरलाई भित्र-बाहिर गराएको आरोप लगाएका छन्। बारा र पर्सामा कोरोना संक्रमण भयावह रुपमा फैलँदै गएपछि पछिल्लो समय पथलैया–वीरगञ्‍ज औधोगिक करिडोरका अधिकांश उद्योग बन्द भएको अवस्थामा जगदम्बालाई सञ्चालन अनुमति दिएको भन्दै स्थानीयहरुले प्रशासनको समेत विरोध गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.