|

काठमाडौं : अध्यावधिक गरिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित संघीय संसदको प्रतीक (लोगो) गत आइतबार संसदका पदाधिकारीलाई बुझाइयो। संघीय संसदका महासचिव डा.भरतराज गौतमले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहाललाई लोगो बुझाए। उनीहरुले गत आइतबारदेखि नै त्यो लगाउन थाले।

जब त्यो लोगो सार्वजनिक भयो, चौतर्फी आलोचना मात्रै भइरहेको छ। आलोचना गर्नेहरुले नेपालको हस्तकलाको नै बेइज्जत भएको, लोगोमा नेपालको नक्सा नै नमिलेको भनिरहेका छन्। पूर्व कानून मन्त्रीसमेत रहेका शेरबहादुर तामाङले अहिले निर्माण भएको लोगोले मातृभूमिको अपमान गरेको बताएका छन्। ‘जन्म दिने आमा, मातृभूमि, राष्ट्रिय झण्डा र राष्ट्रिय गानको अपमान गर्नुहुँदैन,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘झुक्केर पनि तोडमोड गर्नु अपराध हो। यो खेलवाडड गर्ने विषय पनि होइन।’ 

उनले बालबालिकाले नेपालको नक्सा र झण्डा बनाउन सिक्दा त्रुटी गर्न सक्ने, तर सांसदहरुले लगाउन बनाएको त्रुटीपूर्ण लोगोको जिम्मा स्वीकृत गर्नेले लिनुपर्ने बताएका छन्‌। ‘साना बालिकाहरुले भने नेपालको नक्सा र झण्डा बनाउन सिक्दा केही त्रुटी गर्न सक्दछन्। तर, यो संसदले नै सांसदहरुले लगाउने गरी बनाएको हो । कसले डिजाइन गर्‍यो भन्ने बहसमा हामी नलागौँ। स्वीकृत गर्नेले नै यसको जिम्मा लिनुपर्दछ।’ उनले उक्त लोगो नबुझ्ने र नलगाउने पनि जनाएका छन्। ‘ढंग नमिलेकै हो। यदी यही लोगो हो भने बुझ्दा पनि बुझ्दिनँ, लगाउँदा पनि लगाउँदिन!’ उनले भनेका छन्। 

त्यस्तै, नेकपाकै अर्का सांसद विजय सुब्बाले पनि हास्यास्पद लोगो लगाउन नसक्ने बताएका छन्। उनले नेपाल र राष्ट्रिय झण्डाको अपमान गरेको भन्दै लोगो तयार गर्ने संघीय संसद सचिवालय दण्डित हुनुपर्ने बताएका छन्। उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘प्रचारमा आए अनुसार हो भने यति नमिलेको अशुद्ध, भद्दा र हास्यास्पद लोगो कसरी लाउनु? यो कसरी स्वीकृत भयो होला? यस्तो निर्माता कस्तो होला? ल अब तयार भयो भनिदिने संस्था संघीय संसद, नेपाल र राष्ट्रिय झण्डाको यस्तो अपमान गरेकोमा दण्डित हुनुपर्छ।’ 

सांसद जीवनराम श्रेष्ठ उक्त लोगोले नेपाली हस्तकलाको पहिचान नै समाप्त गरेको बताउँछन्। सांसद श्रेष्ठले संसदको लोगो नेपालको नयाँ नक्सासहितको भनेर गौरव गरिरहँदा नक्साको आकार नमिलेको, झण्डामा चन्द्र र सूर्य नै नदेखिएको भन्दै आपत्ति जनाएका हुन्‌। ‘नेपालको हस्तकला संसारमा प्रख्यात छ, यो नयाँ लोगोले नेपाली हस्तकलाको पहिचान त समाप्त गर्ने नै भयो,’ सांसद श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘नेपालको नयाँ नक्सा भनेर गौरव गरिरहँदा नेपालको नक्साको आकार नमिलेको र झण्डामा अंकित चन्द्र र सूर्य नै नदेखिने पो भएछ।’ 

उनले झण्डा राष्ट्रलाई प्रतिनिधित्व गर्ने प्रतीक चिन्ह भएकोले राष्ट्रिय विषयमा नमिलेको कुरा प्रयोग गर्न नहुने पनि बताएका छन्। सांसद श्रेष्ठले विधायकहरूले लगाउने लोगोमा देशको नक्सा र झण्डा नमिलेको प्रयोग गर्नु ठीक नभएको तर्क गरेका छन्। ‘यो देशको नीति निर्माण गर्ने विधायकहरूले लाउने लोगोमा देशको नक्सा र राष्ट्रिय झण्डा नै नमिलेको प्रयोग गर्नु ठीक हुँदैन,’ उनले भनेका छन्, ‘यो संवेदनशील विषयमा कुतर्क गरी ठिक छ भन्ने तिर कोशिश नगरौँ। यो लोगो फिर्ता गरी तत्काल अर्काे बनाउँ।’ 

संघीय संसद सचिवालयले उक्त लोगोमा दुई लाल सुनको जलप लगाइएको, १ तोला चाँदीको बेस रहेको र ३.५ सेन्टिमिटर व्यास रहेको जनाएको छ। लोगो बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो। प्रति लोगो पाँच हजार ५२७ रुपैयाँ खर्च लागेको छ।

नेपालको नक्सा र झण्डा नै नमिलेको भनेर आलोचना भएको लोगो केही सांसदले भने बुझिसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.