|
फाइल तस्बिर

काठमाडौं : नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सिपिएल) आजदेखि सुरु हुँदैछ। ट्रिनिडाड एण्ड टोबागोमा मंगलबार राति ७ः४५ बजेदेखि सिपिएल सुरु हुनेछ। 

सन्दीपले भने आफ्नो पहिलो खेल बुधबार राति ७ः४५ बजे खेल्नेछन्। उनी सम्मिलित जमैका तल्लाहवाजले पहिलो खेल सेन्ट लुसियासित खेल्नेछ। सिपिएल खेल्न आफू निकै उत्साहित भएको सन्दीपले बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै उनले कोरोना महामारीका कारण लामो समयपछि क्रिकेट खेल्न पाउँदा खुशी लागेको बताएका छन्।

सन्दीप सिपिएल खेल्न गत साउन १५ मा ट्रिनिडाड एन्ड टोबागो गएका हुन्। नियमित उडान बन्द गरिएको अवस्थामा उनी कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो गएका थिए। यसबीच सन्दीपले दुई पटक पिसिआर परीक्षण गराएका छन्। नेपाल र टोबागोमा गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो। उक्त रिपोर्टसँगै सन्दीपले सिपिएल खेल्ने बाटो खुला भएको हो। 

यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो। उनले यसअघि दुई पटक सिपिएल खेलिसकेका छन्। सिपिएल भदौ २५ सम्म चल्ने छ। सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्दैछन्। सिपिएलमा कुल ३३ खेल हुने छन्। 

कोरोना भाइरसका कारण ती सबै खेल बिनादर्शक खेलाइने छन्। आज पहिलो खेल राति ७ः४५ बजे ट्रिनबागो नाइट राइडर्स र गुएना वारियर्सबीच तथा अर्को खेल भोलि बिहान ३ः१५ बजे बारबाडोस र सेन्ट किट्सबीच हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.