महाधिवेशन नजिकिँदै गर्दा निर्णायक बन्दै युवा नेता

|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई १४ औँ महाधिवेशन लागिसकेको छ। महाधिवेशनको मिति फागुन ७ गतेका लागि तोकिएको छ। यतिखेर नेताहरु महाधिवेशनको तयारी र आ-आफ्नो रणनीति बनाइरहेका छन्।

शीर्ष नेताहरु अन्य नेताहरुलाई आफ्नो गुटमा ल्याउन कस्सिएर लागेका छन्। एक दर्जन नेता १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने इच्छा देखाएका छन्‌। एक दर्जनमध्ये १० जना जति त वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका छन्। 

कांग्रेसभित्र अहिले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता पौडेलर पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला नेतृत्वका गुट छन्‌। यी तीन गुटको नेतृत्व गर्ने तीनै जना नेताहरू आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न तम्सिएका छन्।

तर, सबैलाई सजिलो भने छैन। उम्मेदवार बन्नका लागि सिटौलालाई खासै समस्या छैन। उनको गुटमा उनी बाहेक कोही पनि अहिलेसम्म सभापति उम्मेदवारको आकाङ्‌क्षी निस्किएको छैन।

तर, १३ औँ महाधिवेशनमा सिटौला समूहबाट महामन्त्री लडेका गगन कुमार थापाले युवाहरुले साथ दिए आफू सभापतिको उम्मेदवार हुने बताएका छन्।  सभापतिका लागि आकांक्षा देखाएपनि उनी महामन्त्रीका लागि बलियो उम्मेदवार भएको कांग्रेसकै नेताहरु बताउँछन्। 

‘बुढा नेतालाई तर्साउन गगनले आफू सभापतिको उम्मेदवार लड्न तयार रहेको बताएका हुन्‌। आफूले नेतृत्व गर्न सक्छु भन्ने आत्मविश्वास थापाले राख्नु कुनै नौलो कुरा पनि होइन,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘गगन महामन्त्रीका बलिया उम्मेदवार हुन्‌, यसपटक उनी सिटौलाकै समूहबाट लड्लान्‌ भन्ने लाग्दैन। उनी यसपटक जहाँबाट चुनाव जितिन्छ भन्ने लाग्छ, सोही गुटमा जान्छन्‌, तर उनी बलिया उम्मेदवार हुन्‌।’

गगन मात्रै होइन, आगामी महाधिवेशनमा प्रभाव राख्ने कांग्रेसका थुप्रै युवा नेताहरु छन्। जो भरसक १४ औँ महाधिवेशनमै जिम्मेवार पदमा निर्वाचित हुने र १५ औँ महाधिवेशनबाट नेतृत्व नै सम्हाल्ने तयारीमा छन्। 

चन्द्र भण्डारी 

कांग्रेसका दोस्रो पुस्ताका नेतामा चन्द्र भण्डारी परिचित अनुहार हो। उनले पनि १४ औँ महाधिवेशनमा बुढा नेता (शेरबहादुर, रामचन्द्र, सिटौलालगायत) लाई सम्मानका साथ बिदाइ गर्ने अर्काे पुस्ताले नेतृत्व लिनुपर्छ भन्ने हिसाबले नै अभिव्यक्तिहरु दिइरहेका छन्।

‘पुराना पुस्तालाई विचारको आधारमा वा उहाँहरुले गर्न नसकेका कुराहरुलाई सकरात्मक, आलोचनात्मक कुराहरुलाई सम्मान गर्ने सल्लाह लिने ठाउँमा राख्ने हो,’ भण्डारीले थाहा खबरसँग भने, ‘गएको आम निर्वाचनमा पराजित भएपछि कांग्रेसको देशभरको राजनीतिक विश्लेषण गरेर हामीले नेताहरुलाई भनिरहेका छौँ : तपाईँहरुले पार लगाउनुहुन्न, हामीलाई जिम्मा लगाउनुस् भनेर।’ 

धनराज गुरुङ 

कांग्रेसभित्र नेतृत्वको चर्काे आलोचना गर्नेमध्येका एक नेता हुन्‌ धनराज गुरुङ। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भएपनि उनले पौडेललगायत नेताको पनि आलोचना र टिप्पणी गर्दै आइरहेका छन्।

१४ औँ महाधिवेशनमा पुराना नेताहरुलाई दोस्रो पुस्ताका नेताले सम्मानका साथ हस्तक्षेप गरेरै छाड्ने उनी बताउँछन्। उनले आफ्ना पुस्ताका नेताहरुको टिम बनेको पनि बताए।

‘हाम्रो टिम बनेको छ‍, टिममा रहेका साथीहरु कसैले पनि आफूखुसी निर्णय गर्नुहुन्न, जे हुन्छ : हाम्रो सामूहिक निर्णय हुन्छ,’ गुरुङले भने, ‘को कुन पदबाट लड्ने भन्ने हाम्रो सामूहिक निर्णय हुन्छ। हाम्रो समूह देउवा, पौडेल सिटौला भनेजस्तै हैन, सबैलाई ढोका खुल्ला छ।’ उनले अबको महाधिवेशनमा आफूहरुको रणनीति सफल हुने विश्वास पनि व्यक्त गरे। 

उनले भनेअनुसार उक्त समूहमा १२ नेता छन्। गुरुङसहित चन्द्र भण्डारी, गगन कुमार थापा, कमला पन्त, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव, किरण यादवले गत साउन २७ मा सामुहिक विज्ञप्ती जारी गर्दै देउवा विरुद्ध उत्रिएका छन्। 

गगन थापा 

नेपाली कांग्रेसमा होस् या संसदमै होस्, सदाबहार प्रतिपक्षीको भूमिकामा देखिने अर्काे नेता हुन् गगन थापा। त महिना युवा नेताहरुसँग भएको छलफलमा थापाले युवाहरुको साथ पाए सभापति नै लड्ने बताएका थिए।

उनले युवा नेताहरुलाई भनेका थिए, ‘तपाईँहरू आँट गर्नुस्, म साथमै छु। होइन भने म तयार छु, मलाई साथ दिनुस्।’ थापाले सभापति लड्न तयार भएपनि कांग्रेसकै नेताहरु उनी महामन्त्रीका लागि तयारी गरिरहेको बताउँछन्। शुक्रबार मात्रै थापाले थाहाखबरसँग भने, ‘पार्टीमा पुस्ता भन्ने मात्रै नहुने रहेछ, उसले दिने कुरा र क्षमताले पनि धेरै कुरा फरक पार्ने रहेछ।’ 

थापाले १४ औँ महाधिवेशन कांग्रेस र कांग्रेसीको लागि अति नै महत्वपूर्ण हुने बताए। ‘कांग्रेसका लागि यो अधिवेशनको महत्व धेरै छ, यो महाधिवेशनबाट निस्केको कांग्रेसले जनतालाई भरोसा दिन्छ कि दिँदैन? अहिले थाकेको जसरी भोली पनि थाकिरहने हो कि भन्ने डर छ।’ उनले नेतृत्वले हिजो के गरेको छ भन्दा पनि भोलीको लागि एजेण्डा, मुद्दा र उदेश्य के छ भन्ने कुरा महत्वपूर्ण हुने बताए।  

‘अहिले उहाँ सभापति हुनुहुन्न, उहाँ हुनुपर्छ भन्नु भनेर उहाँहरुलाई सम्मान नगरेको होइन, अब उहाँहरुले पार्टीको सान्दर्भिक पुष्टि गर्न सक्नुहुन्न भनेको हो,’ थापाले भने, ‘पार्टीको नेतृत्व पोखरीजस्तो हैनऽ बग्ने नदी जस्तो हुनु पर्छ।’ 

उनले अहिले फेरि सभापति हुन्छु भन्नेहरुले एजेण्डा नल्याएको गुनासो पनि गरे। ‘म म कुनै उम्मेदवार हुँदा एजेण्डा र मुद्दामा चुनाव लड्ने हो,’ उनले भने, ‘क्षमता चिन्न पाउँ। यो विषयमा कसको क्षमता के हो भन्ने त थाहा छ। तर,देश नै संकटमा गएको बेला कसरी सामना गर्ने तयारी गरेको छ। त्यो त सुन्न पाउनुपर्‍यो नि! सभापति लड्ने भन्ने एजेण्डा नल्याएर त भएन।’ ​

सरिता प्रसाईं 

कांग्रेस नेतृ सरिता प्रसाईं पनि १२ नेताको समूहका एक सदस्य हुन्। उनी पनि १४ औँ महाधिवेशनमा देउवा, पौडेल र सिटौला समूहको विकल्प आउने बताउँछिन्। ‘हाम्रो समूहमा सामुहिक निर्णय हुन्छ,’ उनले भनिन्, ‘यसपाली नेतृत्वमा देउवा, पौडेल या सिटौलाभन्दा भिन्नै अनुहार आउँछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.