संक्रमितको वर्गीकरण गरिएन, न जानकारी नै लिन्छन् स्थानीय तह

|

काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या प्रतिदिन पाँच सयभन्दा बढी थपिइरहेकाे छ। संख्या थपिएसँगै पछिल्लो समय देखिएका संक्रमितमा गम्भीर लक्षण पनि देखिन थालेका छन्। तर केहीमा भने कोरोना पुष्टि मात्र भएका छन्, उनीहरुमा लक्षण भने देखिएकाे छैन।

लक्षणसहितका संक्रमित कोभिड अस्पतालका आइसोलेसनमा छन्। कोरोना पुष्टि भएर पनि लक्षण नदेखिएका संक्रमित भने सरकारकाे स्वास्थ्य निर्देशिकाअनुसार  होम आइसोलेसनमै छन्।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा सबैखाले संक्रमितकाे संख्या ३० हजार ४ सय ८३ पुगेकाे छ। यतिखेर अस्पतालमा सबै संक्रमितका लागि पर्याप्त आइसोलेसन बेड नहुँदा लक्षण नभएका संक्रमित होम आइसोलेसनमा बस्न बाध्य छन्।

मुलुकभर होम आइसोलेसनमा बस्नेको संख्या ३ हजार ५ सय ८६ छन्। सरकारले कोरोना पुष्टि भए पनि लक्षण नदेखिएका संक्रमितलाई होम आइसोलेसनमा राख्ने गरी निर्देशिका जारी गरी स्थानीय तहको निगरानीमा बस्नलाई अनुमति दिएको छ।

तर संक्रमितलाई स्थानीय तहका स्वास्थ्यकर्मीले निगरानी गरेको भने खासै पाइँदैन। धेरैजसाे स्थानीय तहले दिनमा एक पटक फोन गरेर सम्पर्क गर्नेबाहेक काम गरेका छैनन्। संक्रमितमा क्षण-क्षणमा लक्षण परिवर्तन हुन्छ, त्यसको विवरण पनि राख्दैनन्।

होम आइसोलेसनमा रहेका संक्रमितलाई राम्रोसँग निगरानी नगर्दा मृत्यु हुने र समुदायमा संक्रमण फैलने सम्भावना बढेको छ। विराटनगर महानगरपालिकामा ६ का ४५ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ। होम आइसोलेसनमा बस्ने संक्रमितको मृत्यु हुनुमा बिस्तारै-बिस्तारै कोरोना लक्षणको विकास भइरहेको पुष्टि हुँदै गएको देखिन्छ।

यो समाचार तयार पार्दासम्म स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार प्रदेश २ मा सबैभन्दा बढी २ हजार ८ सय ९७ संक्रमित होम आइसोलेसनमा बसेका छन्। प्रदेश १ मा २ सय ६८, प्रदेश ५ मा २ सय ४२,बागमती प्रदेशमा १ सय ११, सुदुर पश्चिममा २३,गण्डकी २७ र कर्णालीमा १८ जना छन्।

सरकारले हतारमा निर्णय गरेर होम आइसोलेसनमा बिना लक्षणका संक्रमित राख्ने तयारी गरिसकेको छ। संक्रमितको वर्गीकरण गरेर होम आइसोलेसनमा राख्नुपर्ने जनस्वास्थ्य विज्ञले राय व्यक्त गरेका छन्।

संक्रमितको वर्गीकरण नगरी होम आइसोलेसनमा राख्दा संकट

अहिले देखिएका कोरोना संक्रमितलाई वर्गीकरण गरेर होम आइसोलेसनमा राख्नुपर्ने जनस्वास्थ्यविद् डा. सुरेश तिवारी बताउँछन्। संक्रमितलाई वर्गीकरण गर्नु पहिलो प्राथमिकता रहेको उनले बताए।

उनले भने, 'लक्षणसहितका संक्रमित,माइल्ड, मोडरेड,सिभिएर,संवेदनशील र लक्षणबिनाका संक्रमित भनी वर्गीकरण गर्नुपर्छ। होम आइसोलेसन भने पनि लक्षण नभएको भनी त्यत्तिकै राखिएको छ। यसले त होम आइसोलेसनमा बस्नेमा धेरै संकट पैदा गर्छ।'

जनस्वास्थ्यविद् तिवारीका अनुसार होम आइसोलेसनमा रहँदा चिकित्सकको निगरानी रहनुपर्छ। दैनिक संक्रमितको २ पटक ज्वरो र खोकी परीक्षण गर्नुपर्छ। स्वास्थ्यकर्मीले संक्रमितको स्वास्थ्यको अपडेट राख्नुपर्छ।

'घरमा रहेका संक्रमितको स्वास्थ्य अवस्था जुनसुकै समयमा परिवर्तन हुने भएकोले स्वास्थ्यकर्मीले हरबखत संक्रमितको निगरानी गर्नुपर्छ,' उनले थपे। संक्रमितलाई अप्ठयारो महसुस हुनासाथ अस्पताल भर्ना गर्न उनी सुझाउँछन्। हाेम आइसोलेसनमा बसेका संक्रमितले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने उनले धारणा राखे।

संक्रमण न्यूनीकरण गर्न स्थानीय सरकार सबैभन्दा बढी जागरुक हुनुपर्ने उनको भनाइ छ। होम आइसोलेसन स्थानीय सरकारको मातहतमा रहेकाले बढी जिम्मेवार हुनुपर्ने उनले प्रस्ट पारे।

निषेधाज्ञामा कोरोना नियन्त्रणका लागि योजना बनाउँ

निषेधाज्ञाको समयमा सरकारले पर्याप्त मात्रामा आइसोलेसन निर्माण गर्नुपर्नेमा उनको जोड छ। तिवारीले भने, 'आइसोलेसन भनेको अक्सिजन सहितको बेड र स्वास्थ्यकर्मी हुनुपर्छ। आइसोलेसनका लागि बेड मात्र बनाएर हुन्न। अब कोभिड उपचार केन्द्रको अनुगमन गर्नुपर्छ। कोरोना नियन्त्रणका लागि कार्ययोजना बनाउनुपर्छ। स्वास्थ्यकर्मीलाई तालिम दिने देखि व्यवस्थापनको काम गर्नुपर्छ।'

यसअघि पनि लकडाउन गरिएकाे थियाे। तर अहिले भने लकडाउन र निषेधाज्ञाको कुनै जरुरी नभएकाे उनले बताए। 'लकडाउनले संक्रमितको संख्या कम हुँदैन। यस अवधिमा पर्याप्त मात्रामा पोर्टेबल भेन्टिलेटरको संख्या बढाउनुपर्छ, निषेधाज्ञा मानिसलाई मात्र लाग्ने हो, कोरोनालाई लाग्ने होइन। समुदायमा कोरोना गइसकेको हुन्छ,' उनी बताउँछन्। 

समग्रमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि समाज र सरकार जिम्मेवार हुनुपर्ने उनले सुझाव दिए, 'कोरोनाबारे भ्रम हटाउनुपर्‍याे, मलाई लाग्दैन, अरुलाई लाग्छ। सबैले जनस्वास्थ्यको मापदण्ड अपनाउनुपर्छ।'

संक्रमित र स्वास्थ्यकर्मीमा सम्पर्कविच्छेद हुँदा समस्या

लक्षणविहीन संक्रमितको स्वेच्छाले होम आइसोलेसनमा राख्दै आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। संक्रमितले अस्पताल जाने चाहेको खण्डमा अस्पतालमा भर्ना गर्न सकिने महाशाखाका प्रमुख डा. बासुदेव पाण्डे बताउँछन्। संक्रमितको निगरानी गर्ने जिम्मा स्थानीय तहका स्वास्थ्यकर्मीले गरिरहेको पाएका छन्।

संक्रमित र स्वास्थ्यकर्मीबीच प्रभावकारी सम्पर्क हुन नसक्दा केही समस्या भएको हुन सक्ने पाण्डे बताउँछन्। स्वास्थ्यकर्मीलाई संक्रमितसँग निरन्तर छलफलमा रहन विभिन्न समयमा आग्रह गरिरहेको उनको भनाइ छ। 'स्वास्थ्यकर्मीले संक्रमितसँग निरन्तर सम्पर्कमा रहने गरिरहनुभएको छ,' पाण्डेले भने।

'संक्रमितमा देखिएका ज्वरोको रेकर्ड राखिएको छैन'

धरान उपमहानगरपालिकामा होम आइसोलेसनमा बस्नेको संख्या २६ पुगेको छ। संक्रमितलाई दैनिकजसो टेलिफोनको माध्यमबाट सम्पर्क गरिरहेको स्वास्थ महाशाखाका प्रमुख उमेश मेहताले बताए। ज्वरोको अवस्था वा लक्षण कस्तो देखियो भनी बारम्बार सोध्ने गरिरहेको पनि उनले जानकारी दिए।

मेहताले भने,' दिनमा संक्रमितको ज्वरो कति आउँछ र खोकी कति पटक लाग्छ त्यसको रेकर्ड राख्ने गरेको छैन। हामीले संक्रमितलाई गाह्रो हुने बितिकै अस्पताल भर्ना गर्ने गरेको छ।'

धरान वडा १० की ३१ वर्षीय महिला यतिखेर होम आइसोलेसनमा छिन्। उपमहानगरको स्वास्थ्यकर्मीले नियमित फोन गरे पनि ज्वरो र खोकीको विवरण नसोधेकी संक्रमित बताउँछिन्।

स्वास्थ्यकर्मीले सुरुवाती दिनमा लक्षण कस्तो छ भनेर सोध्ने गरेको र गाह्रो हुने साथ एम्बुलेन्स लिएर आउँछौं लिएर जान्छौ भन्ने गरेको उनले सुनाइन्। घरमा छुट्टाछुटै भान्सा र शौचालयको प्रयोग गरिएको उनको भनाइ छ। घर-वरिपरि र समाजको मानिसले पूर्ण रुपमा सहयोग गरिरहेको उनले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.