|

डडेल्धुरा : पछिल्लो समयमा डडेल्धुराका कृषक व्यवसायिक किवी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन्। केही वर्षअघि तरकारी उत्पादन हुने खेतमा आजभोलि भने कृषक किवी खेतीतिर लागेका छन्। 

डडेल्धुरामा किवी खेतीका लागि उपयुक्त वातावरण भएकाले कृषक यस पेसातर्फ आकर्षित भएका हुन्। डडेल्धुराको अमरगढी नगरपालिका–२ का हिक्मत खडायतले ९ रोपनीभन्दा बढी जमिनमा किवी खेती गरिरहेका छन्।

किवी भन्दाअघि उनले सुन्तला, जुनार, कागतीजस्ता फलफूलको खेती गरे। डडेल्धुरामा किवी खेतीको राम्रो सम्भावना देखेर यो व्यवसायमा लागेको उनले बताए। करीब ५ हजार बोट किवी लगाएका छन्। प्रतिबोट ५ सयका दरले बिक्री गर्ने गरेको उनले बताए।

‘बजारमा किवीको मूल्य र माग दुवै रहेको छ। किवी रोपेर नै ५ जनाको परिवार पालिरहेको छु।’ उनले भने, ‘बेर्ना हुर्कन कम्तिमा पनि एक÷डेढ बर्ष लाग्छ। रोपेको करिब ३ वर्षदेखि ५०÷६० वर्षसम्मै किवीले आम्दानी दिने सुनेको छु।’ किवी खेतीबाटै घर खर्च कटाइ बार्षिक १÷२ लाख बचत गर्ने गरेको उनले सुनाए। 

किवी खेती गरेमा समय पनि बचत र आम्दानी पनी मनग्य हुने भएपछि आफू पनि यस पेसा तर्फ आकर्षित भएको अमरगढी नगरपालिका–१ का गणेशबहादुर ऐरले बताए। सुरुमा ५ लाख लगानी गरेर किवी खेती गरेको उनले सुनाए। 

छोराछोरीको पढाइ खर्चदेखि लिएर घरपरिवारको जीविकोपार्जन पनि यसै पेसाबाट चलाइरहेका उनी बताउँछन्। ७ वर्षदेखि उनी किवी खेती गरीरहेका छन्। किवी खेती गर्नुभन्दा पहिले आफू भारतमा गएर काम गर्ने गरेको उनको भनाइ छ।

‘किवी खेती गर्ने कुनै सोच थिएन। जिल्ला कृषि विकास कार्यालयले दोलखाबाट यो योजना लिएर जिल्लामा तालिम दियो। १०/१२  जना हामी सहभागी थियौं। तर, किवी खेती गर्न कसैले मानेन्।’ उनले भने, जिल्लामा पहिलो पटक मैले यो खेतीको सुरुवात गरे। सुरुमा एक सय बोट लगाए। अहिले त जिल्लामा ३०÷४० किसान पुगिसके किवी खेती गर्ने।’

गत वर्ष १६ क्विन्टल फले पनि यो वर्ष मौसमले साथ दिएपछि ३० क्विन्टल फल्ने उनको अनुमान छ। किवी लगाएकै ठाउँमा तरकारी पनि लगाउन सकिने भएकोले मनग्य आम्दानी गरिरहेको उनले बताए।

सुरुमा एक पटक लगानी गरेपछि ४०-५० वर्षसम्म उत्पादन दिइरहने र बजारको समेत अभाव नहुने भएपछि किसान सो खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले जानकारी दिए।

किवी खेती मौसमका अनुसार पनि डडेल्धुरा जिल्ला उपयुक्त मानिने हुँदा त्यसतर्फ बढी आकर्षित भई यो खेती थालनी भएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत विष्टले बताए।

उनका अनुसार किवी खेती समुद्री सतहबाट १ हजार २०० मिटरदेखि २ हजार ४०० मिटर उचाइमा लगाइन्छ। यसलाई सिँचाइको आवश्यक पर्ने भए पनि वर्षामा पानी जम्न भने हुँदैन। लहरे फल किवी लगाएको ३ वर्षदेखि फल्न सुरु भई ५० वर्षसम्म निरन्तर फल्ने गर्छ। किवी फललाई चाउरीपन, उच्च रक्तचाप, पोषण, छाला तथा मुटुका लागि महत्वपूर्ण औषधिको रुपमा लिइन्छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.