|

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा बिहीबार पनि बहस नसकिएपछि फागुन १७ गते मंगलबार सुनुवाई हुने भएको छ। रिटमा बुधबार र बिहीबार बहस भएपनि विपक्षीका तर्फबाट बहस नसकिएपछि मंगलबारलाई सुनुवाई गर्ने निर्णय सर्वोच्च अदालतले गरेको अधिवक्ता कल्पित पराजुलीले जानकारी दिए।

बिहीबार डीआईजी सिलवालकाे पक्षबाट अधिवक्ताहरु मेघराज पोखरेल, कल्पित पराजुली, बाबुराम कुँवरलगायतले बहस गरेका थिए। उनीहरुले वरियता र मेरिटलाई जोड दिदै त्यसलाई नजरअन्दाज गर्न नहुने तर्क पेश गरेका थिए। 

सरकारी पक्षबाट महान्यायाधिवक्ता रमण श्रेष्ठका साथै सह महान्यायाधिवक्ता र नायव महान्यायाधिवक्ताले बहस गरेका थिए। उनीहरुले निर्वाचनको मिति तोकिसकेको अवस्थामा प्रहरी जस्तो संगठनलाई नेतृत्वविहिन राख्न नहुने भन्दै सरकारले गरेको निर्णय अनुसार नै काम गर्नुपर्ने बताएका थिए। उनीहरुले सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश खारेज गर्नुपर्ने माग राखेका थिए। 

सरकारले प्रहरी महानिरीक्षकमा चन्दलाई नियुक्त गरेकामा अधिवक्ता कपिलदेव ढकाल र महानिरीक्षकको प्रतिस्पर्धामा रहेका प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले बरियता मिचिएको भन्दै रिट दायर गरेका थिए। रिटमाथि प्रारम्भिक सुनुवाइमा सर्वोच्च अदालतले चन्दको पदबहाली रोक्न अन्तरिम कालीन आदेश जारी गरेको थियो। 

बुधबार सिलवालका पक्षमा सात जना अधिवक्ताले बहस गरेका थिए। चन्द पक्षका अधिवक्तालाई बुधबार वकालतका लागि समय अपुग भएपछि सो रिट बिहीबारका लागि ‘हेर्दाहेर्दै’मा राखिएको थियो। शुक्रबार शिवरात्रीका कारण सार्वजनिक विदा परेको छ भने आउँदो सोमबार पनि सार्वजनिक विदा परेकाले फागुन १७ गतेमात्र सुनुवाई हुने भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.