|

बैतडी : कोरोना भाइरसका संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेकाले बैतडीमा थप ५० शय्या क्षमताको आइसोलेसन निर्माण हुने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्लाको पाटन नगरपालिकामा आइसोलेसन भवन बन्ने भएको हो।

कोभिड १९ जोखिम नियन्त्रण जिल्ला स्तरिय समन्वय समितिले राजमार्ग छेउमा आइसोलेसन बनाउने निर्णय गरेअनुसार पाटनमा बन्न लागेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले जानकारी दिए।  जिल्लाकै पायक पर्ने स्थान पाटन रहेको र पाटन नगरपालिकाले नगर विकासको जग्गा उपलब्ध गराउने भनेपछि पाटनमा आइसोलेसन निर्माण हुन लागेको हो। 

उनले भने, ‘जिल्लामा संक्रमितको संख्या बढिरहेको आइसोलेसन आवश्यक रहेकोले उक्त निर्णय गरिएको हो। पाटन निर्माण हुने आइसोलेसन भवन जतिसक्दो चाँडो निर्माण हुनेछ।’

कोभिड १९ जोखिम नियन्त्रण जिल्ला स्तरिय समन्वय समिति, स्वास्थ्य कार्यालय बैतडी र पाटन नगरपालिकाको समन्वयमा प्राविधिक टोली खटाएर लगत्तै डिपिआर तयार पारिने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।  
आइसोलेसन भवन निर्माणका लागि सिँचाइ डिभिजन कार्यालयको उत्तरपट्टिको नगरविकासको १५ रोपनी जग्गा उपलब्ध गराइएको पाटन नगरपालिकाका प्रमुख केशवहादुर चन्दले जानकारी दिए।

‘उक्त जग्गामा आइसोलेसन भवन बनाउने गरी डिपिआर तयार भइरहेको छ,’ उनले भने, ‘प्रदेश सरकारले आइसोलेसन बनाउनका लागि सहयोग गर्ने आश्वासन दिएको र डिपिआर तयार गरेर पठाउछौं।’
 
बैतडीमा हाल जिल्ला अस्पतालमा ३, दशरथचन्द नगरपालिकामा १९, पाटन नगरपालिकामा ९ र सिगास गाउँपालिकामा ५ गरी ३६ शय्या क्षमताका आइसोलेसन रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.