|

मनाङ : कोरोना भाइरस संक्रमण फैलन नदिन लामो समय गरिएको लकडाउनपछि विभिन्न ठाउँबाट कर्मचारी, शिक्षक, कामदार मनाङ फर्किन थालेका छन्। कोरोना संक्रमण रहेको ठाउँबाट आएका उनीहरुबाट संक्रमणको जोखिम बढेको हो।

हिमालपारिको जिल्लाका रुपमा चिनिने मनाङमा कार्यरत अधिकांश शिक्षक तथा कर्मचारी बाहिरी जिल्लाका रहेका छन्। लकडाउन खुकुलो भएसँगै घर बिदामा जाने र आउने क्रम बढेपछि मनाङमा पुनः कोरोना संक्रमण देखिएको छ ।  

पछिल्लो पटक मंगलबार थप दुई जनामा कोरोना पुष्टि भएको छ। संक्रमितहरु स्याङजा चापाकोट घर भई मनाङ स्वस्थ्य कार्यालय मनाङमा कार्यरत स्वस्थ्य प्रमुख र चितवनको भरतपुर महानगरपालिका–१६ घर भई ङिस्याङ गाउँपालिका अन्तर्गत पिसाङ आधारभूत विद्यालयमा कार्यरत शिक्षक रहेका छन्। उनीहरु साउन २० मा मनाङ भित्रिएका थिए।

देशकै सबैभन्दा थोरै जनसंख्या रहेको यस जिल्लामा हालसम्म समुदायस्तरमा भने कोरोना भाइरसको संक्रमण फेलिएको पाइएको छैन। तर, बाहिरबाट आउने कर्मचारी, शिक्षक, कामदार फर्किने क्रम बढेपछि भने जोखिम बढेको हो।

यसअघि कपिलवस्तुबाट काममा फर्किएका एक कर्मचारीमा संक्रमण देखिएको थियो। यस्तै, चितावन र विराटनगर घर भइ मनाङमा कार्यरत दुई शिक्षकमा कोरोना संक्रमण भएको पुष्टि भएपछि सर्वसाधारणमा त्रसित छन्।

नेपाल सरकारले लकडाउन खुलाएसँगै शिक्षक तथा कर्मचारीहरु आ–आफ्नो कार्यक्षेत्रमा जान र कामकार्वाही गर्न÷गराउन निर्देश गरेअनुरुप उनीहरु मनाङ आएका हुन्। यहाँका स्थानीय तहले पनि उक्त निर्देशनको पालना गर्दै शिक्षक तथा कर्मचारीलाई सुरक्षित रही सेल्फ करेन्टाइनमा रहेर काम गर्न सुझाएको छ। यसरी जिल्ला प्रवेश गर्दा आफ्नो पिसिआर रिपोर्ट र स्वास्थ्य परिक्षण गरी आउन अनुरोध गरिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घलेले बताए। 

जिल्लामा रहेका सरकारी कार्यालयका कर्मचारी, शिक्षक र विकास निर्माणका लागि कामदार भित्रिन थालेसँगै संक्रमण संक्रमण भित्रिएको जिल्ला जनस्वस्थ्य कार्यालयका प्रमुख बद्री आचार्यले बताए। त्यसैले संक्रमण फैलन नदिन स्थानीय तह, जिल्ला प्रशासन र सर्वसाधारणलाई सावधानी अपनाउन अनुरोध गरिएको आचार्यको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.