शाही शासनका मतियारहरु बदनाम गराउन लागेको आरोप

|

काठमाडौं : उपप्रधान तथा रक्षा मन्त्री ईश्‍वर पोखरेलले आफूले कानुनी व्यवस्था मिचेर आफ्ना परिवारका सदस्य र नातासम्बन्ध रहेका कसैलाई पनि लाभको पद नदिएको बताएका छन्। 

सम्धी नाता पर्ने भनिएका विवादित पृष्ठभूमिका उपेन्द्र कोइरालालाई आफ्नो दबाबमा राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बनाएको भनेर चर्को आलोचना भइरहेका बेला पोखरेलले बुधबार यस्तो बताएका हुन्। 

'मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी  विद्यमान कानुनी व्यवस्था उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्‍ने विषयमा कुनै सत्यता छैन', उनले भनेका छन्, 'भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन्।'

उनले सरकारले गर्ने गरेका नियुक्तिमा पनि आफूले कहीँ कतै हस्तक्षेप नगरेको बताएका छन्। 'राज्यले गर्ने नियुक्तिमा कहीँ कतै पनि मेरो अवाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउँदछु', उनले आफ्नो बचाउ गर्दै भनेका छन्, 'यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने विश्‍वास दिलाउन चाहन्छु।'

आफूमाथि लागेका आरोपलाई उनले तथ्यहीन पनि भनेका छन्। 'मेरो यो दृढता र विश्‍वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएका-गरिएका कुराप्रति खेद जनाउँछु', उनले भनेका छन्, 'यस्तो विषयका कारण दु:खित भएका मप्रति सद्‌भाव राख्‍ने, मलाई माया गर्ने,  समर्थन गर्न सबैलाई भ्रममा नपर्न अनुरोध गर्दछु।'

पोखरेलले  विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएका बेला संघर्ष गरेका कारण  यातनापूर्ण बन्दी जीवन बिताएको पनि स्मरण गरेका छन्।

'मैले त्यस बेला बन्दी जीवन बिताइरहँदा बदनाम र  चरित्र हत्या गर्ने हिसावले 'घरको पानी ट्याङ्कीमा पैसा राखेको' कु-प्रचार गरिएको थियो', उनले भनेका छन्, 'अहिले विगतको निरङ्कुश शाही शासनका तिनै दुष्ट मतियारसमेत  नयाँ ढंगले मेरोविरूद्ध स्वर उरालिरहेका छन्। म ती सबैलाई चुनौती दिँदै घृणापूर्वक अस्वीकार गर्दछु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.