|

कपिलवस्तु : टिनले छाएको टहरोभित्र दुई कोठा। सानो टेवलमा ठूली छोरीले ल्याइदिएको ग्यास चुलो, अर्कोतिर दाउरा बाल्ने चुलो। पकाउनका लागि पिँध छुन लागेको चामल छ। दाल, नुन तेल, राख्ने भाडा पूरा खाली छ।

दुई महिना भो मागेर खानु परेको छ। राहत पाएको दाल चामल उहिले सकियो। तरकारी, दाल छिमेकमा मागेर टारेकी छिन्। चामलको जोहो गर्न अरुको घरमा गई काम गर्छिन्। कहिले लुगा धुन्छिन्, कहिले घाँस काट्छिन्, जे काम पाइन्छ त्यही गर्छिन्। काम गर्दा जे दिन्छन् त्यही लिएर भए पनि गुजारा चलाउँछिन्।

वुद्धभूमि नगरपालिका–१ वसन्तपुरकी ६० वर्ष पार गरेकी पार्वता विकलाई हातमुख जोर्न समस्या छ। जग्गा जमिन, डिंगा बाख्रा केही छैन। वन क्षेत्रमा सानो घर छ। २० वर्षदेखि त्यही घरमा बस्दै आएकी छन्। एउटामा मात्र बेड छ, जहाँ छोरा सुत्छन्। पार्वता भुइँमा सत्ने गर्छिन्।

प्युठानमा सौतामारामा जन्मिएका पार्वताका बुवा आमाले उनी एक वर्षका हुँदा छाडेर भारतको भोपालमा पुगेका थिए। उनी सात वर्षको हुँदा बुवा लिन आएका थिए। तर, पालन पोषण गरेका हजुरबुवा र कान्छा काकाको साथ छोडिनन्। त्यसपछि बुवाआमा कहिल्यै नेपाल आएनन्।

पार्वताका छोरा स्थानीय ग्रिल उद्योगमा काम सिक्दै रोजगारी गर्दै आएका थिए। लकडाउनले गृह उद्योग बन्द भयो। चार महिनादेखि छोराले पनि काम गर्न पाएका छैनन्। त्यसैले खानाको जोहो गर्न समेत गारो भएको छ। घरमा आमा छोरा मात्र छन्। दुई भाइ छोरामध्ये जेठो एक वर्षदेखि सम्पर्कविहीन छन्। गत कात्तिकमा ५८ वर्षको उमेर पति रुमबहादुरको निधन भयो। पतिको मृत्यु पछि उनलाई थप समस्या बढेको छ।

जन्म दर्ता नहुँदा बनेन नागरिकता

पार्वताले पति हुँदासम्म नागरिता बनाउने सुरसार गरेनन्। पतिको मृत्युपछि नागरिकता बनाउन लागिन्। वडा नम्बर १ को कार्यालय भेलाई पुगेकी थिइन्। तर, वडा कार्यालयले मागेको काजजात पुर्याउन सकिनन्। वडा सचिवले जन्मदर्ता मागे, विवाह दर्ता मागे। उनीसँग दुवै कागजात थिएन। उनीसँग पतिको नागरिकता, निर्वाचन परिचय पत्र र जेठी छोरीको नागरिकता मात्र छ।

जन्म दर्ता चाहिने भएपछि पतिको पुर्ख्यौली थलो पुग्न पर्ने भयो। चलनचल्तीको व्याजमा दुई हजार रुपैयाँ ऋण लिइन्। बस चढेर अघाखाँचीको ढाकावांग पुगिन्। नागरीकता बन्यो भने बृद्ध भत्ताले बाच्न पाइने उनको सपना थियो। तर, जन्मदर्ता बनाउन सकिनन्। त्यही पैसाबाट बचाएर ब्याजसहित तिर्ने आशा पनि मर्यो। ‘दलित र गरिब भएपछि जन्म दर्ताको लागि बोल्दिने पनी कोही भएनन्,’ उनले भनिन्, ‘अब आशा पनि मारिसकें। नेपाली बनेर मर्ने रहर पनी पूरा हुँदैन जस्तो लाग्छ।’

पतिको निर्वाचन परिचय पत्रमा पत्नीको नाममा पार्वताको नाम लेखिएको छ। सम्बन्ध देखिने भएकाले सर्जिमन गरेर नागरिकता पाउन सक्ने आधार पनि देखिन्छ। छोरा छोरीको जन्म दर्तामा पनि आमाको नाम उल्लेख गरिएको छ। यी कागजात भए पनि नागरिकता दिलाउन कसैले सहयोग नगरेको पार्वताको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.