|

पर्वत : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३६ पुगेको छ। 

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शुक्रबार जारी गरेका ३ वटा विज्ञप्तिमा कास्कीको पोखरा महानगरपालिकामा १६ जना, तनहुँको शुक्लागण्डकी र व्यास नगरपालिकामा गरेर ४ जना, नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका, देवचुली गाउँपालिका र बिनयत्रिवेणी गाउँपालिकामा गरेर ९ जना, लमजुङको मर्स्याङ्दी गाउँपालिका र बेँसीशहर नगरपालिकामा गरेर २ जना तथा तनहुँको ब्यास र शुक्लागण्डकी नगरपालिकामा ४ जना गरी कुल ३३ जनामा सङ्क्रमण रहेको पुष्टि भएको छ। 

कति भयो परीक्षण ?

गण्डकीमा शुक्रबार अपराह्नसम्ममा प्रदेशका ११ जिल्लाका ४३ हजार ८ सय १९ स्वाबको परीक्षण गरिएको छ। तीमध्ये २ हजार ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ४१ हजार ७ सय ८३ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको छ।

सङ्क्रमितमध्ये १६ सय ८९ जना उपचारपछि निको भएका छन्। त्यस्तै सक्रिय केसको सङ्ख्या ३ सय ३७ छ। पछिल्लो २४ घण्टामा ८ सय ११ स्वाब परीक्षण गरिएकोमा ३१ जनामा संक्रमण पुष्टि भएको छ भने ७ सय ८० नमुनाको रिपोर्ट नेगेटिभ आएको छ। २४ घण्टाभित्र निको भएकाको सङ्ख्या ११ रहेको छ। पुनः पोजेटिभ आएकाको सङ्ख्या भने शून्य छ।

कुन जिल्लाको अवस्था के ?

गण्डकीका कुल सङ्क्रमित २ हजार ३६ जनामध्ये ८३.७९ प्रतिशत अर्थात् १५ सय ५ जना पुरुष छन्। 

जिल्लागत रूपमा हेर्दा अहिलेसम्म मुस्ताङ मात्र कोरोनाशून्य अवस्थामा छ। मुस्ताङका १ पुरुषमा सङ्क्रमण रहेकोमा उनी निको भइसकेका छन्।  मनाङमा कुल सङ्क्रमितको संख्या ५ जना रहेकोमा १ जना डिस्चार्ज भएका छन्। बाँकी ४ जना आइसोलेसनमा रहेर उपचाररत छन्। ५० जनामा सङ्क्रमणको पुष्टि भएको म्याग्दीमा ४८ जना डिस्चार्ज भएका छन् भने आइसोलेसनमा १ जना पुरुष रहेका छन्। म्याग्दीमा कोरोना सङ्क्रमणको पुष्टि भएका ४७ दिने नाबालकको उपचारको क्रममा पोखरामा मृत्यु भएको छ। 

पर्वतमा कुल सङ्क्रमित सङ्ख्या १ सय ८ रहेकोमा १ सय ३ जनालाई निको भएको छ भने आइसोलेसनमा १ महिला र ४ पुरुष छन्। १ सय २१ जनामा सङ्क्रमणको पुष्टि भएको गोरखामा १ सय १८ जनाले कोरोनालाई जितेका छन्। त्यहाँका २ पुरुष आइसोलेसनमा छन्, एक युवकको कोरोना पोजेटिभ रहेको अवस्थामा मृत्यु भएको छ। 

लमजुङमा १ सय ४५ जनामा सङ्क्रमण रहेकोमा १ सय ११ जनालाई निको भएको छ। २ महिला र ३२ पुरुषको आइसोलेसनमा उपचार चलिरहेको छ। तनहुँका २ सय ४८ जनामा पुष्टि भएकोमा २ सय ५ जना उपचारपछि घर फर्किएका छन्। १ महिलाको मृत्यु भएको तनहुँमा ७ महिला र ३५ पुरुष गरी ४२ जना आइसोलेसनमा छन्। 

कोरोना सङ्क्रमणमा प्रदेशकै ‘हट स्पट’ को रूपमा रहेको कास्की जिल्लामा सङ्क्रमितहरुको कुल सङ्ख्या ३ सय २१ रहेको छ। कोरोनाका कारण ४ जनाको मृत्यु भएको कास्कीका २ सय जनाले कोरोनालाई जितेका छन् भने ३८ जना महिला र ७९ जना पुरुष गरी १ सय १७ जना आइसोलेसनमा छन्। 

त्यस्तै १ युवकको मृत्यु भएको बागलुङमा सङ्क्रमित सङ्ख्या २ सय ९२ छ। तीमध्ये २ सय ६१ जना निको भएका छन् भने १० महिला र २० पुरुष गरी ३० जना आइसोलेसनमा बसिरहेका छन्। 

कोरोनाका कारण पहिलो मृत्यु भोगेको स्याङ्जामा २ जनाको मृत्यु भइसकेको छ। त्यहाँका ३ सय १० जनामा सङ्क्रमणको पुष्टि भएकोमा ३ सय ३ जनालाई निको भएको छ। ५ जना पुरुषलाई आइसोलेसनमा राखिएको छ। 

प्रदेशमा सबैभन्दा बढी सङ्क्रमित सङ्ख्या नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा रहेको छ। ४ सय ३५ जनामा सङ्क्रमण रहेकोमा ३ सय ३८ जनाले कोरोनालाई जितेका छन्। त्यहाँ ४२ जना महिला र ५५ जना पुरुष गरी ९७ जना आइसोलेसनमा रहेका छन्।

के छ पछिल्लो ७ दिनको अवस्था?

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माका अनुसार पछिल्लो ७ दिनको तथ्याङ्कलाई हेर्दा गत भदौ ८ गते थपिएका सङ्क्रमितको सङ्ख्यालाई निको भएकाको संख्याले जितेको थियो। त्यो दिन ११ जनामा सङ्क्रमण पुष्टि भएकोमा १५ जनालाई निको भएको थियो। सबैभन्दा धेरै अन्तर भदौ ११ गते ३९ जनामा सङ्क्रमणको पुष्टि भएकोमा १३ जनालाई निको भएको थियो। 

पछिल्लो ७ दिनमा पिसिआर परीक्षण सबैभन्दा धेरै भदौ ११ गते ८ सय ४७ जनाको गरिएको थियो। यस्तै भदौ ६ मा ७ सय ३६, ७ गते ४ सय १३, ८ गते ८ सय ३३, ९ गते ७ सय ३१, १० गते ७ सय ५५ र १२ गते ८ सय ११ स्वाब परीक्षण गरिएको छ।

गण्डकी प्रदेशमा सङ्क्रमण दरभन्दा निको हुने दर उच्च रहेको छ। प्रशिक्षक शर्माका अनुसार अहिलेसम्मको अवस्थामा निको हुने दर ८२.९६ प्रतिशत, सङ्क्रमण दर १६.५५ प्रतिशत र मृत्युदर ०.४९ प्रतिशत छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.