|

१. प्लेनमा चिकेन सुप आयो। तातोतातो सुपमा बाफ पनि आइरहेको थियो। उनले त्यो सुप बिस्तारै सुरुप्प पारिन्। स्वादिलो थियो। सुपको स्वादसँगै आफ्नो गन्तव्यप्रति पनि सोच्न थालिन्। सुपको स्वादसँगै आफ्नो आगामी दिनका बारेमा नै सोचाइलाई केन्द्रित गरिन्। सोचिन्- किन होला मान्छे एक्लै भएपछि मात्र आफ्ना बारेमा सोच्न थाल्छ? करिब ५० वर्षको यो प्रौढ उमेरमा भखैरैजस्तो सुनेको यो अपेक्षित/अनपेक्षित समाचार र त्यसका लागि नै मातृभूमि अर्थात् नेपाल जान लागेको कुरा झल्याँस्स सम्झिइन्। अनि कल्पनालाई, सोचाइलाई केन्द्रित गरिन्- भावी अवस्थाप्रति।नेपालमा प्लेनबाट झर्नेबित्तिकैको अवस्था कस्तो होला? कोको आउलान्? मैले चिनेका नै आउलान् कि अरू नै।

पहिलो पति हाकिम भएर जिल्ला-जिल्ला जाँदा सबै हाकिम र कर्मचारीहरूका बीचमा उनकै मात्र कुरा हुन्थ्यो रे! त्यो चर्चा उनको रूपको, उनको र उनका पतिको उमेरमा देखिने अन्तरको, उनले पाहुनाप्रति गर्ने मायालु व्यवहारसमेतको हुने गर्थ्यो रे!

२. उनका चारओटी छोरी छन्। तीनओटी छोरी पहिलो पतिबाट, एउटी छोरी अर्थात् सानी छोरी पछिल्लो पतिबाट। 'पति' शब्दले अब उनलाई कुनै रोमाञ्चकता पैदा गर्दैन। एउटा बेला थियो पतिसँगै बसेर पनि धेरै पति जस्ताबाट केही अनुभव सँगालेकी थिइन् र प्रत्येक जवान मर्द देख्नेबित्तिकै उनमा अनौठा अनौठा कल्पनाहरू तरेली खेल्थे। ती कल्पना भनेको क्षुधापीडित एउटी तरुणीको मनमा उठ्ने तरेली थिए। उनलाई अनौठो केमा लाग्थ्यो भने पतिसँग हुँदा पनि किन त्यस्ता अनौठा कल्पनाहरू मात्र आउँछन्, कुनै जवान मर्द देख्नेबित्तिकै। जवान मर्दहरूबाट पनि एकान्त हुनेबित्तिकै यस्तै अनुभवहरू व्यक्त गरिन्थे। यसरी व्यक्त गरिने अनुभव वा भावना शिष्टतावश र औपचारिक भाषामा भनिएका अशिष्ट र अनौपचारिक कुराहरू हुन्थे। बुझ्नेले बुझ्ने र भन्नेले भन्ने सङ्केतका भाषामा हुन्थे। प्रायशः दुई अर्थ लाग्ने गरी भनिन्थे। मनका कुरा पनि भनिने र त्यसलाई 'गफ नै त हो नि' भने पनि हुनेगरी। अहिले प्लेनमा पनि उनको लुगा थियो- कालो सर्ट, कालो पाइन्ट, सेतो टोप, पाइन्टमा सेतो बेल्ट अनि सेतो मोजासहितको सेतो नै स्पोर्टस् जुत्ता। हातका औँलाहरूमा विभिन्न खालका औँठीहरू। यसो हेरिन् अरू सिटतिर, लाग्यो, धेरै प्रौढ तथा युवा आँखाहरू उनैतिर हेर्दै छन् अनि लाज मानिन् आफैँसँग।

ठीक दाहिनेतिरको गोराले उनलाई ध्यान दिएर हेरेको देखेर त उनलाई लाज मात्र लागेन, त्यसतिर नै बारम्बार हेर्न मनलाग्यो। झल्याँस्स भइन्, हातको सुप सेलाउन पो लागेछ। तत्काल सुरुप्प पारिन् । एकै घुट्कोमा स्वात्त निलिन्। आफू दुई दुईओटा पतिकी पत्नी भन्ने पनि सम्झिइन् तर अहिले? आफैँमा एउटा प्रश्न तेर्सियो र तत्कालै यथार्थमा आउन आवश्यकता पर्‍यो किनभने अहिले अर्कै समस्या सिर्जना भएको थियो।

३. उनी पछिल्लो पतिको मृत्युको खबरले नेपाल जाँदै थिइन् र औपचारिक रूपमा उनलाई किरिया गर्नका लागि नै बोलाइएको थियो। एक्लै जाँदै थिइन्। यो समयको परिवर्तनसँगै आएको लैङ्गिक समानता थियो र महिलाले गर्न नसक्ने केही पनि छैन भन्ने एउटा उदाहरण पनि थियो। उनी छोरीहरूलाई अमेरिकामा नै छोडेर एक्लै आएकी थिइन्। वास्तवमा कान्छी छोरीको बाबुको मृत्यु भएकाले कान्छी आउनु पर्थ्यो तर उसले जाँचको वहानामा नेपाल नजाने निधो सुनाएकी थिइन्। पहिलो पतिपट्टिका तीनओटा छोरीहरूले आमाको नेपाल भ्रमणका बारेमा पटक्कै चासो देखाएनन् र त्यस्तो पीर पनि मानेनन्। सानीले आफ्ना पिताको मृत्युमा पीर गरेजस्तो त गरिन् तर परीक्षा छोड्न नसक्ने बाध्यता देखाउँदै भनेकी थिइन्- 'ममी, यदि म मेरो बाबाकी एउटै मात्र छोरी रहेछु भने मेरो भागमा आउने अंश सबै बेचेर ल्याउनु होला। त्यसले यहाँ एउटा ग्याँस स्टोर खोल्नुपर्ला।' उसलाई के थाहा थियो भने ऊ उसकी बाबाकी एक्ली छोरी हुनुपर्छ र बाबाको भागमा आउने सम्पतिको मूल्याङ्कन नेपाली रूपैयाँ झण्डै ३ करोड रूपैयाँजति पुग्छ। भन्न त मान्छेले भन्थे कि उसका बाबाका कम्तीमा ५ ओटीजत्ति अनौपचारिक पत्नी  छन् र तीबाट कम्तीमा पनि ७ वा ८ जना सन्तान हुनुपर्छ। उसकै आमा पनि बाबा भन्दा १५ वर्ष जेठी थिइन् र पहिलो पतिको सम्पत्तिका लागि नै विहे गर्न हत्ते गरेका थिए।

उनको गुनासो समाजसँगै थियो, आफ्ना श्रीमानसँग बरु थिएन। उनको विचारमा समाजले अनावश्यक टिप्पणी गरेको थियो र नितान्त दिदी-भाइको सम्बन्धलाई कर्के नजरले हेरेको थियो। अबचाहिँ उनी फिस्स हाँसिन् किनभने समाजको त्यो अनुमान एकदम ठीक थियो र उनले मात्र तत्काललाई त्यसो भनेर आफैँलाई ढाँटेकी थिइन्।

४. प्लेन उडिरहेको थियो। उनी आँखा चिम्लेर आफूमा हराएकी थिइन्। अतीतमा डुबुल्की मार्दै जाँदा कतिपय विस्मृतिका खाली पानाहरूमा पनि बिस्तारै अक्षरहरू स्पष्ट देखिन थाले। अरू भन्दा आफूलाई स्पष्ट रूपमा देखिने यो विस्मृत अतीतमा हराउँदा त्यही समयको सेरोफेरोमा जस्ताको तस्तै देखिने विशेषता अहिले यहाँ पनि सार्थक बनेको थियो। पहिलो पति हाकिम भएर जिल्ला-जिल्ला जाँदा सबै हाकिम र कर्मचारीहरूका बीचमा उनकै मात्र कुरा हुन्थ्यो रे! त्यो चर्चा उनको रूपको, उनको र उनका पतिको उमेरमा देखिने अन्तरको, उनले पाहुनाप्रति गर्ने मायालु व्यवहारसमेतको हुने गर्थ्यो रे! उनलाई उनको नाममा समेत नयाँ पन भएको बताउँथे रे! खासगरी युवा हाकिमहरूमा, प्रहरी प्रमुख, सेना भएको जिल्लामा गणपति, मालपोत हाकिम, प्रमुख जिल्ला अधिकारीहरू राती अबेरसम्म उनको पतिको क्वार्टरमा बसेर नाचगानसमेत गर्थे र उनीसँग बसेर उनले बनाएको खाना खाँदाको महत्त्व बखान गर्थे। यो क्रम झन्डै १०/१२ वर्षसम्म चल्यो। विहे गर्दाको उनको उमेर त्यसबेला १३ देखि १५ वर्षको मात्र थियो। हुनत उनले पहिली बच्ची १४ वर्षमा पाएको पनि भन्ने गर्थिन्। उनको विचारमा त्यो समय उनको सुनौलो समय थियो रे!

५. विस्मृत स्मृतिको तरेलीमा बग्दै गइन् आफैँ। त्यसैबीच उनका तिनओटी छोरी जन्मिए र तिनको आनीबानी, शील स्वभाव सौभाग्यवश साह्रै सँस्कारयुक्त रह्यो। बाबु पढेलेखेका र सँस्कारयुक्त भएकाले छोरीहरूमा आमाको अनुहारबाहेक अरू झझल्को देखिएन। वास्तवमा उनी पनि सँस्कारयुक्त नै थिइन् तर पहिलो पतिको विद्वत्ताले उनलाई एकातिर किचेको थियो भने अर्कोतिर उमेरले गिजोलेको थियो। बढ्दो जवानी र त्यस्तै उमेरको मादकताको पारो उनमा बढ्दै थियो भने श्रीमानको क्षमता घट्दो मात्रामा पग्लिरहेको थियो- हिमालमा ग्रीष्म र वर्षा ऋतुको हिउँझैँ।

६. तन्द्राझैँ तर सचेतनामा रहेकी उनी अचानक केही सम्झेझैँ गरी झल्याँस्स भइन्- प्लेनमा केही सूचना दिइरहेको थियो र साङ्केतिक सूचनामा पेटी बाँध्ने जनाउ दिँदै थियो। उनलाई प्लेनको गडगडाहटले पनि जीवनको मोहसँग तादात्म्य देखाएको थिएन र बेल्ट बाँध्ने जाँगर पनि पलाएन। किन बेल्ट बाँध्ने? आखिर जे हुनु छ, भइहाल्छ। प्लेनमा नै त छु भन्ने भावनाले काम गर्दै थियो। पहिलो श्रीमान हुँदा पछिल्लो जो श्रीमान भए, तिनलाई आफन्त र नजिकको नाताको भाइ भनेर जोगाउँदै भाइको रूपमा न्यानो माया पोखेकी थिइन्, त्यस्तै देखाएकी थिइन्। समाजको सामूहिक मनोविज्ञानले तर त्यसलाई पत्याएको थिएन। जस्तो सम्बन्ध थियो, त्यस्तै अनुमान लगाउँथ्यो। उनको गुनासो समाजसँगै थियो, आफ्ना श्रीमानसँग बरु थिएन। उनको विचारमा समाजले अनावश्यक टिप्पणी गरेको थियो र नितान्त दिदी-भाइको सम्बन्धलाई कर्के नजरले हेरेको थियो। अबचाहिँ उनी फिस्स हाँसिन् किनभने समाजको त्यो अनुमान एकदम ठीक थियो र उनले मात्र तत्काललाई त्यसो भनेर आफैँलाई ढाँटेकी थिइन्। सबैलाई ढाँटे पनि आफूलाई ढाँट्न सकिन्न भन्ने जो छँदै छ। समाजको मनोविज्ञान एकप्रकारले दिगो हुन्छ। त्यसैले पहिलो पतिको निधनमा उनलाई देखावटीबाहेक कुनै चिन्ता थिएन किनभने भाइको सामाजिक खोलभित्र उनको भावी पति उनैसँग थियो। त्यो बेलाको नाटक, बनावटी आँसु, आफन्तहरूलाई दिएको स्पष्टीकरण र साख्खै भाइको नाता देखाउन लगाएको भाइटीका सम्झिइन् र एउटा वेदनामिश्रति मिठासलाई घुटुक्क निलिन्।

त्यो बेला, त्यो नाता, त्यो कल्पनाको राज्य र भावी समयको नयाँ योजना, झल्झल्ती आँखा अघिल्तिर आयो। आँखा अचानक खुल्दा उनले आफूलाई प्लेनमा नै पाइन्। त्यो बेलामा पहिलो श्रीमानको देहान्तमा देखाउने शोकबाहेक अरू कुनै चिन्ता थिएन, उनको अन्तर आत्मामा । लोकलाजका लागि पहिलो श्रीमानलाई तार्नु थियो, तारुन्जेलसम्मका लागि उनकै सतमा बसेझैँ गर्नु जरुरी थियो। तीनतीनओटी छोरीले हेरिरहेका थिए- मौनताका साथ। ती बुझेर पनि नबुझेझैँ गर्दै थिए या बुझेकै थिएनन्, अहिलेसम्म पनि उनलाई रहस्य जस्तै लाग्छ किनभने तिनले बुझेजस्तो कहिल्यै गरेनन्। सम्भवतः गाउँको समाज भए सायद त्यो सम्भव पनि थिएन, सहरमा कसैको वास्ता नहुने भएकाले कसैले पनि धेरै कुरा गरेनन् होला कि! तर कर्तव्यको कुरा जो सिकाउनु थियो। गरेझैँ देखाउनु पनि थियो। ती छोरीहरू चटक्कै छोडेर जाने अवस्था पनि थिएन र छाड्न पनि सकिँदैन थियो किनकि तिनकी माता उनी आफैँ पो थिइन् र उनका पिताको छाया अब रहेको थिएन, भौतिक रूपमा।

अबको माता र पिताको भूमिका एक्लै निर्वाह गर्नु जो जरुरी थियो, वास्तविकतामा। उनको पहिलो पतिको काम वा काजक्रिया समाप्त गर्नु थियो, त्यो पनि इज्जतका साथ, पुराना हाकिमको इज्जतका साथ, उनका आफन्तहरूले केही भन्न नपाउने गरी। यहाँ उनको र हुनेवाला पतिको बेग्लैबेग्लै स्वार्थले काम गरेझैँ लाग्थ्यो। काज-क्रिया यसरी गराउनु थियो कि छोरीहरूका पिताको स्वर्ग निश्चित गराउनु थियो। उनी प्रेत योनीबाट पितृ हुनु पर्थ्यो। वास्तवमा उनको स्वार्थ लोकलाज मान्नु थियो र छोरीहरूलाई बाबुको माया हराएकोमा सान्त्वना दिनु पनि थियो र उनका आफन्तहरूका अघिल्तिर पतिको सम्पत्तिको सदुपयोग गरेको देखाउनु पनि थियो। यस्तो पीर परेको देखाउनु थियो कि भावी दिनमा पनि उनकै सतमा बस्ने गरी अडिग भएको देखिने गरी अनुभूत गराउनु थियो, प्रमाणित गर्नु थियो। आज आएर सम्झँदा त्यस्तो नाटक कसरी सम्भव भयो होला? फेरि फिसिक्क हाँसो फुस्कियो। तर यस्तो आरोह-अवरोहमा तलमाथि गरिरहेकी उनको गन्तव्यको आधार अलि परै थियो एकातिर भने भाइको रूपमा सँगै रहेको भावी पतिको चाहना भने कहिले १३ दिन बित्ला र आफ्नो लुकीछिपीको अनौपचारिक सम्बन्धलाई स्वतन्त्र सम्बन्धका साथै सामाजिक औपचारिकता दिने भन्ने थियो। उनी सदैव निन्याउरो अनुहार लगाएर बस्न चाहन्थिन् र ऊ पनि सँगै उस्तै अनुहार लगाएर बस्थ्यो। तर दुवैका मनमा भावी दिनका रमाइला समयको कल्पना मात्र हुन्थ्यो। नयाँ जीवनको एउटा सुखद अवसर अचानक आएको थियो- कुनै पूर्व योजनाविना नै। अनौपचारिक जीवनबाट अचानक औपचारिक जीवनमा प्रवेश गर्ने अनौठो अवसर आएकोमा दुवैका मनमा एउटा त्राससहितको सुखद भाव देखिन्थ्यो। नियतिलाई उनीहरूले वास्तविक विधाताको रूपमा स्वीकार गरे र विना योजना पनि कुनै इच्छा यसरी बेलैमा पुगेको देखेर अघिल्लो जुनीमा लेखेको नै ठहर्‍याए।

आवश्यक कागजपत्र मिलाएर लाइनमा बस्नु थियो, आगमन कक्षमा। त्यसपछि सामानहरू सङ्कलन गर्नु थियो र लिन आउनेसँग रुँदैरुँदै घरसम्म जानु थियो। यो देखाउन रुने एउटा चरित्र तयार गर्नु थियो अनि पछिल्लो प्रेमीको रूपमा जीवनमा भेटिएको मान्छेको कमी अबचाहिँ अनुभूत हुन थालेको जस्तो लागेका बुझिन्थ्यो।

७. झन्डै ४८ घन्टापछि नेपालमा प्लेन उत्रने सूचना आयो, आवाजमा र सङ्केतमा। ४ ओटा प्लेन परिवर्तन गरेर, धेरै ठाउँमा ट्रान्जिट र अनिद्राले थकित उनलाई नेपालमा बेहोर्नुपर्ने दुःख पनि याद थियो र ती सबै कुरामा कुनै चिन्ता लिएको नदेखिए पनि नयाँ वैधव्यपनको आभासले मन चिमोटेको थियो र नेपाली परिवेशमा त्यसले नयाँ चिन्ता थपेको थियो। पहिलो वैधव्यपनले तत्कालै जस्तो हरियाली समेटेको थियो भने यसपटकको वैधव्यपनले शिशिरको मात्र कल्पना बढिरहेको थियो। तर मनको एउटा कुनामा कतै अझै नयाँ जीवनको सुरुवात हुनसक्ने सम्भावना  बाँकी थियो किनभने बिहान घुम्न जाँदा उनलाई लोभी नजरले घुरेर हेर्ने एउटा मेक्सिकन अधबैँसेको अनुहार झल्याकझुलुक जेहेनमा  उदाउँथ्यो तर उमेर, छोरीहरू वा नाति नातिनीहरूको नैतिक बन्धनले त्यो कल्पना साकार हुन्छ भन्ने बाटोचाहिँ देखिँदैनथ्यो। एउटा कल्पनाको प्रवाहमा त्यो पनि थियो भनौँ। कतै अवचेतनमा रहेको भावना हो भनौँ। कुनै दिन पनि त्यो मेक्सिकनसँग कुनै कुरा भएको पनि होइन, मात्र महिलाको तर्फबाट सोचिएको फगत कल्पना मात्र थियो- नयाँ वैधव्यपनसँगै पलाएको नयाँ जीवनको एउटा पालुवा। एउटा संयोग भने के हो भने उनलाई अग्लो पुरुषको सामीप्य चाहिएको थियो- अवचेतनामा जहिले पनि, त्यो अझैसम्म जुरेको थिएन। मेक्सिकनसँग भने त्यो अकस्मात मिलेको थियो- नेपाली अनुहार जस्तै।

८. काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन रोकियो। उनको मुटु ढक्क भयो। आँखामा अचानक आँसु टिलपिल भए। आवश्यक कागजपत्र मिलाएर लाइनमा बस्नु थियो, आगमन कक्षमा। त्यसपछि सामानहरू सङ्कलन गर्नु थियो र लिन आउनेसँग रुँदैरुँदै  घरसम्म जानु थियो। यो देखाउन रुने एउटा चरित्र तयार गर्नु थियो अनि पछिल्लो प्रेमीको रूपमा जीवनमा भेटिएको मान्छेको कमी अबचाहिँ अनुभूत हुन थालेको जस्तो लागेका बुझिन्थ्यो। अबको जीवनको कुनै योजना नभएकोले खाली-खाली जस्तोचाहिँ उनलाई लाग्न थालेको थियो। निर्विकार तर आफैँमा एउटा संभाव्यताको खोजीमा लाग्नै पर्ने नयाँ बाध्यताको सुरुवात जस्तै।

९. सोचेभन्दा फरक स्थिति देखापर्‍यो। कोही चिन्तित छैनन्। मानौँ, कुनै शुभकार्यमा सहभागी हुन आएजस्तो पो भयो। आठ दिन भइसकेकाले सिधै उनको उपस्थिति औपचारिकतामा सीमित भयो। कताकता नआएको भए पनि हुने थियो कि जस्तो यो देखिन्थ्यो।

१०. उनको नाममा करिब ७० रोपनीजति जग्गा दर्ता रहेछ र छोरीका नाममा ५० रोपनीजति। अरू कोही रहेनछन् उनका पत्नी वा छोराछोरी। कोही पनि रहेनछन् प्रत्यक्ष रूपमा देखिन हकवाला। छोरा नहुनेका लागि भनिन्छ नि- 'अपुताली खाने दाजुभाइ नै हुन्' तर त्यस्तो पनि कसैले भनेनन्। मानौँ, त्यहाँ केही भएकै जस्तो थिएन। यथावत्।

११. राम्रोसँग काम सिध्याइन्। चोखो मनले नै। पहिले जस्तो देखावटी होइन। परिपक्व रूपमा सम्पत्तिको लेखाजोखा गरिन् जस्तो कि छोरीले हिँड्ने बेलामा भनेकी थिइन्। छोरीलाई फोन गरिन्। भनिन्- अब म तिम्रै बाबाको घरमा बस्ने भएँ, अमेरिका फर्किन्न। आउँदिन अब फेरि अमेरिकातिर बरु तिमी पनि अबको लामो गर्मी बिदामा यतै आउनू।

१२. जीवनको नयाँ मोडमा अमेरिका भन्दा नेपालको बसाइ नै सुखकर हुने उनले ठानिन् र अमेरिका बसाइलाई जीवनको सबैभन्दा अनुत्पादक समय पो मानिन्। बल्ल उनलाई लाग्यो किन म उनलाई छोडेर यो समय खेर फालेकी रहेछु।

१३. अमेरिकाको दौडधुप, इर्ष्या, अपुग र सधैँको शरणार्थी जीवन भन्दा प्रेमीको चिनोलाई उनले मूल्यवान सम्झिइन् र पहिलो पतिको सम्पत्तिको अवशेषको रूपमा समेत यसैलाई सम्झिइन्। नातागोता र कुलकुटुम्बको लामो लहरो र आफ्नो सधैँ रानो मौरी जस्तो भूमिका सम्झँदा अमेरिका नजाने निर्णय आफैँलाई एकदम ठिक लाग्यो उनलाई। पहिलो पति र पछिल्लो पतिको तस्बीरमा माल्यार्पण गरी कोठामा दुवै कुनामा उनीहरूको फोटो टाँसिन् शुद्ध मनले र आफैँलाई एक्लै भनिन्- 'तेरो देश यही हो र तेरा दुवै पति या भनौँ सबै छोरीहरूका पिताहरूको स्मृति यहीँ छ।' आज उनलाई खोइ किन हो पहिलो पतिको यादले धेरै सताएको छ। दुवै पितृलोक गइसकेको हुँदा दुवै पतिहरूसँग अब कुने गुनासो रहेन। अबको गुनासो आफैँसँग मात्रै रह्यो, मैले पछिल्लो पतिलाई किन वास्ता गरिनँ? उनको जीवनको अन्तिम क्षणमा म किन उनीसँग भइनँ? अबको जीवनको नयाँ मोड भनेको आफ्नै देशको माटोमा पतिहरूको आत्मालाई सुखी बनाउने मात्र हो। बल्ल उनलाई सुखको आभास भयो र बाँकी जीवनको नयाँ गोरेटो खन्नका लागि उद्यत भइन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.