श्रम स्वीकृति नभएकाको शव ल्याइएन

|

काठमाडौं : नियमित अन्तर्राष्ट्रिय उडान रोकिएपछि करिब ६ महिनामा चार्टर्ड उडानबाट २ सय ९८ नेपालीको शव  स्‍वदेश ल्याइएको छ। कोरोना भाइरसको त्रास बढेसँगै लकडाउनले नियमित उडान रोकिँदा विदेशबाट आउनुपर्ने नियमित शव रोकिएको थियो।  

कोरोना भाइरसको कारणले अन्तर्राष्ट्रिय उडान रोकिएपछि विभिन्न समयमा विदेशमा ज्यान गुमाएका नेपाली कामदारको शव अलपत्र परेको थियो। वैदेशिक रोजगारमा गएका नेपालीलाई उद्धार गर्ने क्रम बढेसँगै विदेशमा ज्यान गुमाएका नेपालीको शव ल्याउने क्रम बढेको छ।

पछिल्लो चरणमा सरकारले वैदेशिक रोजगारीमा गएर भिसा सकिएर बसेका नेपाली कामदारलाई विमान चार्टर्ड गरी ल्याउन थालेसँगै नेपाली कामदारको शव पनि ल्याउन थालिएको छ। शुक्रबार मात्र मलेशियाबाट १६ र कतारबाट ४ वटा शव नेपाल ल्याइएको थियो।

'काभ्रे, रुपन्देही, झापा, महोत्तरी, सोलुखुम्बुको १ र गुल्मीको २ वटा शव आज आएको छ,' वैदेशिक रोजगार बोर्डका प्रवक्ता दीनबन्धु सुवेदी भन्छन्,' अन्य जिल्लाका पनि आएका छन्। गृह जिल्लामा लगी आ-आफ्नो परिवारको सांस्कृतिक परम्पराअनुसार मृतकको अन्त्येष्टि गरिनेछ।'  

उनका अनुसार नियमित उडान हुन नसक्दा विदेशमा लामो समयदेखि नेपालीका शवहरू अड्किएका थिए।

श्रम स्वीकृति नभएकाको शव ल्याइएन

अहिलेसम्म श्रम स्वीकृति लिएर गएका नेपाली श्रमिकको मात्र शव उद्धार गर्ने गरिएको सुवेदीले बताए। अवैधानिक रूपमा वैदेशिक रोजगारमा गएर ज्यान गुमाउने कामदारको शव उद्धार नगरिएको उनको भनाइ छ।

श्रम स्वीकृति लिएर गई कम्पनी परिवर्तन गरी काम गरेकाले ज्यान गुमाएमा त्यस्ता श्रमिकको वैदेशिक रोजगारीको कल्याणकारी कोषको पैसाबाट उद्धार गरिने उनले जानकारी दिए।

उनले भने, 'परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित मुलुकका नेपाली राजदूतावासबाट शवको उद्धार गर्ने गरिएको छ। श्रम स्वीकृति लिएका कामदारको कम्पनीमा काम गर्ने क्रममै मृत्यु भएमा मात्र कम्पनीको खर्चमा विदेशबाट शव आइरहेका छन्।'

कल्याणकारी कोषबाट ५८ करोड खर्च

हालसम्म वैदेशिक रोजगार कल्याणकारी कोषबाट ५८ करोड खर्च भइसकेको छ। वैदेशिक रोजगारमा गएका कामदारको उपचार, शव व्यवस्थापन र क्षतिपूर्तिस्वरूप परिवारलाई रकम उपलब्ध गराउँदै आएको सुवेदीले जानकारी दिए।

श्रम स्वीकृत लिएर गएका कामदारको ज्यान गएमा सरकारले ७ लाख रुपैयाँ दिने गरेको उनी बताउँछन्। वैदेशिक रोजगारमा ज्यान गुमाएका मृतकका सन्तानलाई छात्रवृत्तिस्वरूप पढ्ने खर्च दिएको उनले बताए।

सम्झौता भएका मुलुकमा पुनः कामदार

कोरोना महामारी सुरु भएयता विभिन्न मुलुकबाट ५३ हजारभन्दा बढी नेपाली श्रमिक स्वदेश फर्किइसकेका छन्। महामारीको समयमा श्रम सम्झौता भएका मुलुकलाई पुनः वैदेशिक रोजगारमा पठाउनका लागि थप पहल थालेको श्रम, रोजगार सामाजिक सुरक्षा मन्त्रालयका वैदेशिक रोजगार व्यवस्थापनका शाखाका अधिकृत डा. थानेश्वर भुसाल बताउँछन्। 'श्रम सम्झौता भएका सम्बन्धित मुलुकमा कामदारको माग भएअनुसार पुनः नेपाली कामदार पठाउन सकिन्छ,' उनले भने।

वैदेशिक रोजगारको लागि नेपाली कामदारको लागि मुख्य गन्तव्य खाडी मुलुक रहेको भए पनि त्यहाँको कम्पनीको आर्थिक अवस्था र कामदारको मागअनुसार पठाउन सकिने उनले जानकारी दिए।

'सरकारले श्रम सम्झौताको लागि नयाँ मुलुक खोजोस्'

महामारीको समयमा वैदेशिक रोजगारमा गएका नेपाली श्रमिकलाई सुरक्षित रुपमा स्वदेश फर्काउनका लागि पहल गरिरहेको वैदेशिक रोजगार महासंघका अध्यक्ष विष्णु गैरे बताउँछन्।

'श्रमिकको उद्धार गर्नको लागि हामीले बारम्बार पहल गरिरहेका छौँ, महासंघको पनि जिम्मेवारीबाट भागेका छैनौँ,' उनले भने,' वैदेशिक रोजगारमा गएका श्रमिक नेपालीबाट हामीले संस्था सञ्चालन गरिरहेका छौँ। विदेशमा रहेका नेपालीको उद्धार गर्नलाई संघ र सरकारको तर्फबाट काम भइरहेको छ।'

विदेशस्थित नेपालका कूटनीतिक नियोग र एनआरएनएको तर्फबाट सहयोग गरिरहेको उनले सुनाए। महासंघको पहिलो प्राथमिकता रोजगारमा गएका नेपाली कामदारलाई स्वस्थ्य र सुरक्षित तवरले नेपाल अवतरण गराउनु रहेको उनले प्रस्ट पारे।

विदेशस्थित नेपालीहरू काम गरिरहका धेरै कम्पनी बन्द भएको उनले जानकारी दिए। महामारीको कारणले रोजगार मुलुकको अर्थतन्त्र धेरै कमजोर भएकोले निजी कम्पनीहरु बन्द भइरहेको उनको भनाइ छ। निकट भविष्यमा गन्तव्य मुलुक खोज्नका लागि सरकारले अन्य देशसँग पनि श्रम सम्झौता गर्नुपर्ने उनले सुझाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.