|

सङ्गीतका अनेक आयाम आउँदै छन्, गइरहेका छन्। सारङ्गीको कथा निकै पुरानो हो। समाजमा मन हर्ने र मन भर्ने वाद्ययन्त्रको परिचय बनाएको सारङ्गीले भन्ने आजको कथामा काठमाडौँ उपत्यका समेटिएको छ। यो खाल्डोको गुञ्जनमा सुनीने आवाज काठमाडौँबाहिरका कैयौँ काठमाडौँहरूको नियति हो।

अंशुवर्माको सुनको इतिहास पढ्ने/पढाउने इतिहासकारका बारेमा सुनेर परिहास माझ्दै गरेको गाइने दाइसँग देशका बारेमा भन्न धेरै कथा छन्। तीनको भोको पेटको गर्भमा काठमाडौँ उपत्यकाको इतिहास जसरी लुकेर छोपिएर बसेका कैयौँ कथ छन्। तिनको सहाराले मञ्जुश्रीदेखि श्रीकृष्णको तरबारसम्मका पर्दाहरू खुल्नेछन्।

समकालीन काठमाडौँसँग धेरै कुरा छन् भन्नलाई र गर्न बाँकी। कामहरू गर्ने कित्तामा पर्नुपर्ने हो तर कुराहरू पो गर्ने सूचीमा छन्, तत्पश्चातको कामको नालीबेली लामो छ। नेपाल खाल्डोको कथा भेडा चराउनेहरूले गाउने पहाडी गीतको भाकामा आधारित हो कि भैँसी पालेर जीवीकोपार्जन गर्ने महिषपाल वंशीहरूको कारण? अथवा गाई पाल्नेहरू गोपाल वंशीहरूले नीति बनाएको खाल्डो हो? उपत्यकाको कथा निकै लामो छ- यहाँसम्म आइपुग्नलाई।

तरकारी बजारमा सीमित अचेलको हाँडीगाउँको भूगर्भमा कैलाशकुट दरबार छ भनेर अंशुवर्माको सुनको इतिहास पढ्ने/पढाउने इतिहासकारका बारेमा सुनेर परिहास माझ्दै गरेको गाइने दाइसँग देशका बारेमा भन्न धेरै कथा छन्। तीनको भोको पेटको गर्भमा काठमाडौँ उपत्यकाको इतिहास जसरी लुकेर छोपिएर बसेका कैयौँ कथ छन्। तिनको सहाराले मञ्जुश्रीदेखि श्रीकृष्णको तरबारसम्मका पर्दाहरू खुल्नेछन्।

गाइने दाइको सारङ्गीको कथा पहिले घरका आँगनमा हुने गर्दथ्यो। दक्षिणामा सामले, सातु र लुगा फाटो हुन्थ्यो। अहिले उनी आधुनिक नेपालको कथा कहन्छन्। राजतन्त्र, राणातन्त्र, प्रजातन्त्रको रङ्गिलो, चम्कीलो मीठाईको मालदार मिठासपछि आएको छ- चमचमाउँदो गणतन्त्र र बाध्य छन्, गाइने दाइ गणेहरूले घिसारेर ल्याएको गणतन्त्रको कथा भन्न। ती घरहरू रहेनन्, जहाँ सारङ्गीले कथा भन्नलाई भुइँ टेक्थ्यो। जग्गाको भाउ बढेदेखि एउटा घरको जग र छानाभित्र धेरै घर अटाएका छ्न्। कसका लागि गाइएको गीत हो? भनेर सबैको अन्योलमा गाइने दाइ खाली हात गला सुकाएर गन्तब्यमा फिर्नुपर्ने रीत बढेपछि उनले स्थान फेरेका छन्। बसपार्कबाट छुट्न लागेका बसहरू, थानकोटबाट खाल्डोमा फिर्न लागेका बसहरू, सार्वजनिक पार्कहरू, काठमा बस्ने मनकारी काठेहरूको हृदयमा गुञ्जिएको छ पहाडी गीत।

प्राचीन महिषवंशी, गोपालवंशीहरूले काममा सुस्तता देखाई प्रशोधित दूधको लोभमा लागेपछि रीतहरू फेरिएका छन्। दूध तथा दूधजन्य पदार्थहरूको उपयोग संचित आधुनिक यन्त्रका माध्यमले भइरहेको छ। अहिलेको काठमाडौँसँग भन्नलाई खाद्य पदार्थहरूदेखि दैनिक उपभोगका सामग्रीहरू, जीवनशैली र चिन्तनइतरका कुराहरूसम्म फैलिएको छ। गाइने दाइ ती सबै भोगका फेरोहरूलाई बिस्तारपूर्वक भनिरहेका छन्।

गाउने व्याक्ति नयाँ भए, समाजमा नयाँ दृश्य देखिए, बाँच्ने शैली बदलियो तर दिन दिनका कथा भन्ने सारङ्गीको तार उही भयो। ती तारमा सुगाको रटान छैन, छ त वास्तविकता, हामी बाँचिरहेको समयको वास्तविकता। उनका गीतमा आधुनिक नेपालको ऐना छ। सबैभन्दा धेरै त नेपाल खाल्डोको महिमा छ। शहरका घुम्ती र चोकमा बनेका मन्दिरहरूको गाथा छ। मन्दिरको मूर्ति चोरेर खाने मान्छेको कथा छ। मन्दिरमा बस्ने देउताप्रति गुनासो छ।

गाइनेको गला फुक्छ।

पानी किन्नुपर्छ, पिसाब फेर्नुपर्छ, शौचालयमा शुल्क सर्काउनुछ।

दाजै! समयको सुर्ता छ, फेरि पनि मान्छेको फुर्काइ उस्तै छ।

खाँटी नेपाली देखिएका गाइने दाइ गीति प्रहशनका माझ माझमा भन्दै थिए,

'हिँडिरहेको बाटो राम्रो भयो भनेर आश्चर्य नमान्नु होला, अर्को सरकारी चाकरीलाई ननिको लागिसक्यो, भत्काउने मिती तोकिसक्यो। सरकारका नोकर कोही छैनन् यहाँ, सबै मालीक भए। हामी जनताको काम गरिदेला कसले? मन्दिरमा चढाएको भेटीको के कुरा? यहाँ चौबाटोमा भूत मन्तेको टपरीबाट पैसा टिप्नेहरू धेरै छन्। मलामी बखत बाटोमा फालिएका सिक्काहरूको मोल अनमोल छ। राजमार्गमाझमा जमेको पोखरीमा जहाज उडाउने बालकहरूका आँखा बिहानीपख फुङ्ग उडेका छन्। ती खाल्डाको पानी सुकेको छ। सहयोगी हातहरू गलिसके, बोल्ने आवाज पनि सुकेको छ।'

वर्षौँदेखि मान्दै आएको हाम्रो बिडम्बनामा गीत गुञ्जिरहेको छ।

सूर्यदेवका सेवक सरकारी कर्मचारीहरूको मानसिकता उनीहरूको शौचालयको दुर्गन्ध सहन सकिएला तर सकिने छैन उनीहरूका रद्दी तपसिलका कामहरू, जो भोलि भोलिमा विश्वास राख्छन् र भोलि आज बनेर कहिल्यै आउँदैन।

गजल लेख्ने ज्ञानुले भनेका थिए, 'आउ बनाऊ घाट हाम्रो छातीमा, तिमी हामी बस्ने घरबस्तीको माझमा ताकी झकझकाउन सकोस् हाम्रो परिणतिको सार।' जिउँदा मान्छेहरूलाई भन्नका लागि जिउदो धुवाँसँग धेरै सामर्थ्य हुन्छ। धुवाँ आकाशमा घुमेर बिलाउँछ। देशको अवस्थाको सूचक विभिन्न केाणबाट विभिन्न अर्थमा सोझिइरहेका छन्।

उपत्यका राजधानी भए पनि सबै व्यक्ति, कृत्यको केन्द्र पनि बनेको छ। यसलाई विडम्बना भनौँ कि यो रीत, संसारका सबै केन्द्रको यस्तै हो। सुविधा र सूचनाको पहुचसँगै समस्याका चुलीहरू पनि उही अग्लाइमा चुलिइरहेका छन्। सामर्थ्यले भ्याएसम्मका गीतहरू सारङ्गीको धूनमा गोलिइरहेका छन्। वृत्तचक्रमा फैलिरहेको छ, काठमाडौँ महिमा।

सूर्यदेवका सेवक सरकारी कर्मचारीहरूको मानसिकता उनीहरूको शौचालयको दुर्गन्ध सहन सकिएला तर सकिने छैन उनीहरूका रद्दी तपसिलका कामहरू, जो भोलि भोलिमा विश्वास राख्छन् र भोलि आज बनेर कहिल्यै आउँदैन। लामो लोकसेवा तयारीपछि तयारी नाम सूचीमा नाम निक्लेको समाचार सुनेर भोज खुवाउनेहरूले पार्टी प्यालेसको व्यापार बढाइदिएका छन्।

मेलम्चीको नाम र कामको व्यथा जुग नाघिसक्यो। समकालीन उपत्यकाको कुरूप उखाडबखाडको एकाधिकार मेलम्चीको हो। पानीको के कुरा, यहाँ हिँडिरहेको बाटोको बेहाल भएको छ। सरकार संविधान निर्माण, कार्यान्वयनमा रुमल्लिएको छ। सरकारी धारामा समयमै पानी आयो भने आश्चर्य मान्नुपर्छ। निर्धारित लोडसेडिङको समय भन्दा बढी बिजुली आयो भने अचम्म मान्नुपर्छ। बाटोमा शौचालय भेट्यो भने सुखद आश्चर्य हुन्छ। त्यसमाथि सफा भेटियो भने त मान्छे शौचका लागि गएको भए पनि उसले बिर्सनेछ खुसीको उन्मादले- यो कसरी संभव भयो भनेर।

विकराल सडकको फिक्री सडकबासीहरूलाई थोरै र घरबासीहरूलाई धेरै छ। मास्क लगाएर दिनभर पसलमा सेवा दिइरहेका साहुनी र साहुजीको पीरलाई भनेको छ, मेरुदण्ड सोझ्याएर हिँडिरहेका यात्रुहरूको अस्थिपञ्जर समस्याका बारेमा बोलेको छ, मास्क खोलेर बिरामीको खल्ती छामिरहेका चिकित्सकहरूको श्वेतचरित्र कहेको छ। आफैँ जथाभावी फोहोर गर्ने र फेरि त्यो फोहोरलाई सफा गर्नेलाई हेयपूर्वक व्यवहार गर्ने सुकिला पोशाकहरूमा लागेको धूलो गीतले टकटक्याएको छ।

गाइने दाइको सारङ्गीको इतिहास उनी जन्मनु भन्दा पनि पहिलेको हो। साज र सङ्गीतमा निर्वस्त्र डुबेका उनी सबैलाई यही समकालीन काठमाडौँको कथा सुनाएर आफूलाई शान्त पारिरहेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.