उपाध्यक्ष गौतमको नाम सिफारिसबारे प्रस्ताव भएन

|

काठमाडौं : ​प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई मन्त्रिपरिषद् हेरफेर नहुने बताएका छन्। शुक्रबार भएको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर नहुने भएकाले मन्त्रीहरुलाई ढुक्कसँग काम गर्न निर्देशन दिएका छन्। 

'अहिले मन्त्रिपरिषद् हेरफेर हुँदैन। बाहिरी हल्लाको पछि नलाग्नुहोस्', प्रधानमन्त्री ओलीको भनाइलाई उदृत गर्दै एक मन्त्रीले थाहाखबरसँग भने, 'अहिले रिक्त मन्त्रालयमा पदपूर्ति हुन्छ। तर, तत्कालै अरु हेरफेर हुँदैन। हल्लाको पछि नलाग्‍नू, आफ्नो मन्त्रालयको तनाव लिनू।'

प्रधानमन्त्री ओलीले खाली रहेको स्थानमा पूरा गर्ने बताए पनि तत्कालै हेरफेर नगर्ने संकेत गरेको ती मन्त्रीले बताए। नेकपाको विवाद समाधान कार्यदलले प्रतिवेदनमा मन्त्रिपरिषद् हेरफेर गर्न सुझाएपछि त्यसबारे चर्चा भइरहेको छ। 

गौतमको नाम सिफारिसबारे प्रस्ताव आएन

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभामा सिफारिस गर्नेबारे प्रस्ताव नै नआएको ती मन्त्रीले बताए। 'उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा पठाउने राष्ट्रपति समक्ष पठाउने कुरा प्रधानमन्त्रीकै हो। त्यसैले बैठकमा त्यसबारेमा छलफल भएन,' ती मन्त्रीले भने। 

नेकपाको सचिवालय बैठकले बिहीबार राष्ट्रपतिले मनोनित गर्ने एक स्थानमा उपाध्यक्ष गौतमलाई पठाउने निर्णय गरेको थियो। यसअघि फागुन १४ गतेको सचिवालयको बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारको सचिवालय बैठकमा राष्ट्रियसभामा गौतमलाई पठाउने प्रस्ताव अघि सारेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.