'खोप परीक्षणका लागि आधिकारिक प्रस्ताव आएन'

|
फाइल फोटो

काठमाडौं : सरकारले कूटनीतिक प्रयास थालेमात्र नेपालमा कोरोनाविरुद्धको खोप प्राप्त हुने देखिएको छ। महामारी फैलिरहेका बेला छिट्टै खोप प्राप्त गर्ने या ढिला गरी ल्याउने भन्ने सवाल खोप तयारगरिरहेका मुलुकहरूसँग सरकारले गर्ने कूटनीतिक पहलकदमीमा भर पर्ने भएको छ। 

संसारभर कोरोना संक्रमितको संख्या बढिरहँदा विभिन्न मुलुकमा खोप तयारगर्ने प्रतिष्पर्धा चलिरहेको छ। ४ वटा देश नेपालमा खोप परीक्षणका लागि इच्छुक देखिएका छन्। यद्यपी; अहिलेसम्म कुनै पनि मुलुकले परीक्षणको लागि आधिकारिक प्रस्ताव गरेका छैनन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌ले चीन, रुस, अष्ट्रेलिया र बेलायतको अक्सफोर्ड विश्वविद्यालयले तयारगरेको खोप परीक्षणका लागि छलफल चलाइरहेको छ।

नेपालमा उपलब्ध भएमा पहिलो प्राथमिकतामा बेलायतको अक्सफोर्ड विश्वविद्यालयले तयारगरेको खोप पर्ने भएको छ। बेलायतले खोप वितरण गरिहाले पनि खोप पाउने प्राथमिकतामा नेपाल सबैभन्दा तल्लो स्थानमा रहने पक्‍कापक्‍की छ। यस्तोमा, सरकारले बेलायतसँग कूटनीतिक पहलकदमी लिए खोप चाँडै ल्याउन सकिने सम्भावना बढ्छ।

अक्सफोर्ड विद्यालयले आविष्कार गरेको खोप भारतमा उत्पादन गर्न लागेको छ। सिरम इन्स्टिच्यूट अफ इन्डियाले अक्सफोर्डबाट उत्पादित खोप बनाउन लागेको  हो। भारतले मङसिर, पुस र माघसम्ममा खोप उत्पादन गर्नको लागि अनुमति पाउने भएको छ। भारतमै उत्पादन भए नेपालले छिटो खोप पाउन सक्छ। तर, खोप प्राप्त गर्ने या नगर्ने भन्ने विषय नेपाल सरकारको कूटनीतिक दक्षता र कुशलतामा निर्भर रहने विज्ञहरुले बताउन थालेका छन्।

'तेस्रो चरणमा खोप परीक्षण गर्न कूटनीतिक पहल थालौं'

सरकारले खोप तयार गरिरहेका मुलुकलाई कूटनीतिक परिपत्र गर्नमा ढिलाइ गर्न नहुने जनस्वास्थ्य विज्ञ डा. सुरेश तिवारी बताउँछन्। विभिन्न मुलुकले तयार गरिरहेको खोप नेपालमा तेस्रो चरणमा  ट्रायल गर्न पनि पहल गर्नुपर्ने उनले बताए।

'तेस्रो चरणको परीक्षण खोप नेपालमा अहिलेदेखि लागू भएमा पछिसम्म बजार मूल्यभन्दा सस्तो पाइन्छ,' डा.तिवारीले भने, 'चौथो चरणको खोपले अनुमति पाएमा पहिलो प्राथमिकतामा ट्रायल खोप प्रयोग गरिरहेको राष्ट्र पर्नेछन्।'

अक्सफोर्ड विश्वविद्यालयको खोप नेपालमा ल्याउन बेलायत सरकारसँग कूटनीतिक पहल गर्नुपर्ने तिवारी बताउँछन्‌। भारतले पनि २-३ महिनामा खोप तयारी प्रक्रिया अगाडि बढाउने भनिरहेको बेला भारत सरकारसँग खोपको विषयमा कूटनीतिक छलफल गर्नलाई उनले सुझाव दिए।

उनले भने, 'तेस्रो चरणको खोप नेपालमा परीक्षण गर्नको लागि सरकार इच्छुक रहेको छ। नेपाल सरकार सबै कुराको सुनिश्चितताको ग्यारेण्टी गर्छ भनेर खोप तयार पार्ने राष्ट्रलाई आश्वस्त पार्नुपर्छ।'

'अक्सफोर्ड विश्वविद्यालयको खोप रोजाइमा छ'

अहिले चर्चामा चार मुलुकका खोप रहेका र त्यसमध्ये डाटाबेसमा अध्ययन गर्दा बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट निर्मित खोप राम्रो पाएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) का संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला बताउँछन्। चीन,रसिया र अष्ट्रेलियामा खोप तयार गरेका कम्पनीसँग छलफल चलिरहेको उनले जानकारी दिए।

'अक्सफोर्डले तयार पार्ने खोप मङसिर र पुस महिनामा भारतमा उपलब्ध हुन्छ,' डा. कोइरालाले भने, 'भारतमा तयार हुने खोप परीक्षणका लागि नेपालमा ट्रायल गर्न समयमै पहल गर्नुपर्छ।'

भारत र बेलायतबाट खोप पाउन सरकारले अहिलेदेखि नै कूटनीतिक तहबाट पहल गर्नुपर्ने उनको भनाइ छ। स्वास्थ्य मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद र औषधि व्यवस्था विभागले खोप प्राप्त गर्नेतर्फ अहिलेदेखि नै सघन छलफल र तयारी थाल्न आवश्यक रहेको उनी बताउँछन्‌।

स्वास्थ्य अनुसन्धान परिषदले कति डोजको दिन मिल्छ र प्रभावकारी कतिको हुन्छ भन्‍नेबारे समयमै अध्ययन गर्नुपर्नेमा कोइरालाको जोड छ। अष्ट्रेलियाले दक्षिण एशियाली मुलुकमा खोप परीक्षण गर्न रुचि देखाइसकेको उनले बताए। अष्ट्रेलियाको खोप पनि प्रयोगमा ल्याउन सकिने र सबै विकल्पका लागि सरकार अब तयारी अवस्थामा रहनुपर्ने डा.कोइराला बताउँछन्‌।

चारै देशका कम्पनीसँग छलफल

विभिन्न देशले तयार गरिरहेका खोप आधिकारीक रुपमा कुनै पनि मुलुकले परीक्षणको लागि प्रस्ताव नगरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका प्रमुख अधिकृत डा. मेघनाथ धिमालले बताए।

उनका अनुसार अहिले चारवटा देशसँग छलफल भइरहेको छ। चीन, रसिया, अष्ट्रेलिया र बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँग नेपालमा खोप परीक्षण गर्न कुराकानी भइरहेको उनले जानकारी दिए।

तेस्रो चरणमा रहेको खोप मात्र परीक्षणको लागि अनुमति दिने उनले जानकारी दिए। उनका अनुसार रसिया, चीन, अष्ट्रेलिया र बेलायती दूतावाससँग कूटनीतिक तवरबाट छलफलको प्रक्रिया अगाडि बढिरहेको छ। चीनको ह्वाङसु कम्पनीले परीक्षणका लागि छलफल गरेपनि प्रक्रिया अगाडि नबढेको उनले जानकारी दिए।

'औषधि व्यवस्था विभागमा दर्ता भएका र लाइसेन्स प्राप्त गरेका खोपमात्रै प्रयोग गर्न सकिन्छ,' उनले भने, 'नेपालमा दर्ता नभएका कम्पनीको खोपलाई अनुमति दिदैनौँ। चीनमा बनेको खोप ५ सय जनामा परीक्षण गर्ने भनेका छन्‌। उनीहरुले १ हजार भनेको छन तर, केही पनि सहमति भएको छैन।'

भ्याक्सिन प्रयोग गर्दा बिरामीलाई केही भएमा त्यसको क्षतिपुर्ति कसले दिने भन्‍ने सुनिश्चितता नहुँदासम्म तेस्रो चरणको खोप प्रयोगमा नल्याइने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.