|

जुम्ला : जुम्लाको सदरमुकाम खलङ्गा बजारस्थित चन्दननाथ नगरपालिका–५ देवेन्द्र शर्माको घरमा आगलागी हुँदा डेढ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ।

शुक्रबार बिहान आगलागीबाट मुख्य बजारमा रहेको देवेन्द्र शर्माको घरसहित छेउमै रहेको लविनध्वज खाँडको घरमा आगलागी हुँदा एक करोड ४० लाख ५८ हजार १०० रुपैयाँ बराबरको भौतिक सम्पत्ति क्षति भएको हो। 

प्रहरीले तयार पारेको मुचुल्का अनुसार आगलागीबाट घरधनी देवेन्द्र शर्माको ३८ लाख ८२ हजार रुपैयाँ क्षति भएको छ भने सोही घरमा भाडा लिएर व्यवसाय गरिरहेका राष्टु कठायतको आस्था जनरल स्टोरको गोदाममा आगलागी हुँदा ५० लाख रुपैयाँको धनमाल जलेर नष्ट भएको छ। गोदाममा राखिएको खुद्रा, खाद्यान्न सामग्री, इलेक्ट्रोनिक सामान ल्यापटप, कम्प्युटर, फर्निचर, प्रिन्टरलगायत सबै सामान जलेर नष्ट भएका छन्। प्रहरी सहायक निरीक्षक देवराज भट्टराईका अनुसार देवेन्द्र शर्माकै छेउमा रहेको लविनध्वज खाँडको घरमा समेत आगलागी हुँदा दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ। 

सोही घरमा भाडा लिएर कपडा पसल गरिरहेका पदमराज चौलागाईंको प्रकृति सपिङ सेन्टरमा पनि छ लाख रुपैयाँको क्षति भएको छ। त्यस्तै, जनकध्वज खाँडको घरमा ५० हजार, सोही घरमा भाडामा पसल गर्ने अनुपम कपडा पसलको एक लाख र आसिप  खान र रेस्मा जोलाको २६ हजार रुपैयाँ बराबरको क्षति भएको छ। देवेन्द्र शर्माको घरबाट सल्केको आगोले दुई घरमा एक करोड ४० लाख रुपैयाँका धनमाल जलेका छन्‌। 

चन्दननाथ नगरपालिकाको दमकल तथा सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियताले मुख्य बजार आगलागी हुनबाट जोगिएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीको भनाई छ। सोलार ब्याट्री पड्किएर भएर आगलागी भएको प्रहरीको अनुमान छ। खलङ्गामा तीनदेखि बत्ती नआएको र घरमा पनि कोही नभएको अवस्थामा रहस्यमय तरिकाले आगलागी भएको छ। 

यसैबीच चन्दननाथ नगरपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ। नगरपालिकाले आगलागी पीडित आठ जनालाई चामल र प्रतिव्यक्ति १० हजारका दरले राहतस्वरुप रकम उपलब्ध गराएको नगरप्रमुख कान्तिका सेजुवालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.