|

मनाङ : कोभिड १९ का संक्रमित देशैभर छन्। सँगै निको हुने दर पनि बढ्दै गएको छ। एक समय कोरोनाशून्य भइसकेको मनाङमा फेरि संक्रमित भेटिएका थिए।

संक्रमितहरुले उच्च मनोबल र सचेतना अपनाएपछि छिट्टै निको पनि भएका छन्। शुक्रबार तीन जना संक्रमित निको भएसँगै जिल्लामा निको हुनेको सङ्ख्या ४ पुगेको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीराज आचार्यले जानकारी दिए। उनका अनुसार हालसम्म जिल्लामा ६ संक्रमितमध्ये चार जना निको भइसकेका छन्।

‘निको भएका संक्रमितलाई सम्मानपूर्वक आइसोलेसनबाट बिदाइसमेत गरिसकिएको छ, अब आइसोलेसनमा शुक्रबार थपिएका एक जना र त्यसअघिका एक जना पुरुष गरी दुई जना मात्र छन्, उनीहरु पनि छिट्टै निको हुनेछन्,’ आचार्यले भने, ‘शुक्रबार थपिएका संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट भेटिएका हुन्।’ 

७३ जनाको पिसिआर परीक्षण गरिएको मध्ये गोरखाको आरुघाट–७ घर भई हाल मनाङमा कार्यरत एक प्रहरीमा संक्रमण पुष्टि भएपछि अहिले जिल्लामा दुई जना संक्रमित आइसोलेसनमा बसेका छन्। उनको स्वास्थ्य अवस्था पनि राम्रै भएको आचार्यले बताए।  

गत भदौ १६ गते ७३ जनाको स्वाब संकलन गरिएकामा ७२ जनाको भने रिपोर्ट नेगेटिभ आएको थियो। हालसम्म जिल्लाबाट १ सय ९२ जनाको पिसिआर परीक्षण गरिएकोमा मात्र ६ जनामा संक्रमण पुष्टि भएको थियो।

मनाङमा धेरैजसो शिक्षक, कामदार, कर्मचारी बाहिरी जिल्लाबाट आउने हुँदा संक्रमण देखिएको हो। हालसम्म स्थानीयमा भने संक्रमण देखिएको छैन। प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले संक्रमण फैलिएको भन्दै जिल्लाको समुदायमा संक्रमण नदेखिएकोले नआत्तिन जिल्लावासीलाई आग्रह गरेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.