फेसबुक र फिल्म बनेका छन् दिन कटाउने साथी

|

काठमाडौं : मुलुकमा कोरोनाको कहर छ। कोरोना संक्रमण दरको संख्या दिनप्रतिदिन बढिरहेको छ। सरकारी कोभिड अस्पतालमा पछिल्लो समययता थपिएका संक्रमितमा लक्षण देखिएपछि संक्रमितको संख्याले बेड भरिएको छ।

केहीमा कोरोना पुष्टि भए पनि लक्षण नदेखिएपछि संक्रमितलाई घरमा राखिएको छ। यो समाचार तयार पार्दासम्म सरकारी तथ्यांकअनुसार होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार १ सय ९० पुगेको छ।

लक्षण नभएका संक्रमित यतिखेर होम आइसोलेसनमा छ। होम आइसोलेसनमा बसेका केही संक्रमितलाई थाहाखबरले सम्पर्क गरी उनीहरुको अनुभव र दिनचर्या बुझ्ने प्रयास गरेको छ।

केन्द्रीय राजधानी रहेको काठमाडौंको दक्षिणकाली नगरपालिकामा होम आइसोलेसनमा १० जना संक्रमित छन्। 

होम आइसोलेसनमा एक संक्रमित भने अवस्था समान्य भएको बताउँछन्। उनलाई कोरोना पुष्टि भएको चार दिन भएको छ। घरमा आफैं एक्लै खाँदै बसिरहेका ३९ वर्षीय उनी दिनभर घरमा बस्‍ने गरेको बताउँछन्। 

उनका भतिजलाई पनि कोरोना पुष्टि भएको उनले बताए। 'लक्षण पनि केही देखिएको छैन। घरमा बसेको छु, कोरोना पुष्टि भएको छ, तन्दुरुस्त भएको महसुस भइरहेको छ,' संक्रमितले पुरुषले भने।

चुरोटको लत लागेका उनलाई यतिबेला चुरोट खान नपाउँदा भने केही तलतल भएको बताए। भन्छन्, 'सबैभन्दा नराम्रो यही लागिरहेको छ। तलतल लागेको छ।'

'चुरोट किन्न कहाँ जाऊँ?' संक्रमितलाई सबै ठाउँमा प्रतिबन्ध भएको भन्दै उनले गुनासो पोखे। उनी दिउँसो बारीमा मकै भाँच्दै बस्दैछन्। उनले थपे, 'मलाई कोरोना त धेरै सुतेर लागेजस्तो लाग्छ। म धेरै सुत्दिनँ। एक-दुई पटक कालिमाटी गएको थिएँ। कताबाट कसरी लाग्यो, कसरी लाग्यो म आफैं छक्क परिरहेको छु।'

'फिल्म हेरेर बसेँ, संक्रमित भएको महसुस भएन'

सुनसरीको धरान उपमहानगरपालिकामा होम आइसोलेसनमा बस्नेको संख्या ४९ पुगेको छ। कुल संक्रमित २ सय ७५ र ८२ जना कोरोनामुक्त भएका छन्। वडा २ ३३ वर्षीय पुरुषलाई सात दिनअघि कोरोना पुष्टि भएको थियो। बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफन्तको स्वास्थ्य परीक्षण गर्न जाँदा कोरोना लागेको हुन सक्ने उनले बताए।

'सँगै गएको आफन्तको परीक्षण गर्दा नेगेटिभ आयो, 'उनले भने, 'मेरो पोजिटिभ आयो। आफन्त केही बिरामीजस्तो थिए, कोरोनाको आशंका लागेर परीक्षण गर्न लगेको तर उनको नेगेटिभ मेरो पोजिटिभ आउँदा कस्तो खालको कोरोना हो भनेर म आफैं छक्क परेको छु।'

घरमा बस्दा दैनिक जसो इन्टरनेटबाट फिल्म हेर्दै बिताइरहेको उनले सुनाए। लक्षण पनि केही छैन समय बिताउन फिल्मको सहारा लिएर बसेको उनको भनाइ छ। उनलाई स्वास्थ्यकर्मीले समय-समयमा फोन गर्छन्। उनको थप परीक्षण भोलि हुने र संक्रमित भएको आफूलाई कहिल्यै महसुस नभएको बताए। 

'फेसबुक हेरेर समय बिताउँछु'

काठमाडौं महानगरपालिकामा कुल संक्रमित ३ हजार ७ सय ६३ र १ हजार २ सय २२ संक्रमित होम आइसोलेसनमा बसिरहेका छन्। वडा ३१ का ६२ वर्षीय संक्रमित पुरुष घरमा छन्। दिन भरको समयमा मोबाइलमा गीत हेर्दै र फेसबुक चलाउँदै बसिरहेको उनले बताए।

'स्वास्थ्यकर्मीले फोन गर्दैनन्, बरु मैले उल्टै स्वास्थ्यकर्मीलाई फोन गरिरहेको छु, 'उनले भने, 'टन्सिल भएर परीक्षण गर्दा ज्वरो आयो, परीक्षण गरेको तर श्रीमतीमा कोरोना पुष्टि भएन कस्तो खालको कोरोना हो आश्चर्य लागिरहेको छ।'

'संक्रमितलाई सधैं सम्पर्क गरिरहेका छौं'

हरेक संक्रमितलाई दैनिक फोनको माध्यमबाट सम्पर्क गरिरहेको काठमाडौं महानगरपालिका शहरी स्वास्थ्य महाशाखाका प्रमुख हरि कुँवर बताउँछन्। स्वास्थ्यकर्मीले नभ्याएको खण्डमा जनप्रतिनिधिले सम्पर्क गरिरहेको उनले जानकारी दिए।

कुँवरले भने, 'संक्रमितको स्वास्थ्य अवस्था गाह्रो भएको जानकारी पाउनासाथ अस्पताल भर्ना गर्ने गरेका छौं। संक्रमितको स्वेच्छाले घरमा राखेको छौं। जबर्जस्ती गरेर कुनै पनि संक्रमितलाई राखेका छैनौं।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.