|

काठमाडौं : नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर नयाँ सरकार गठन गर्ने तयारी भइरहेका बेला माओवादी केन्द्रको पार्टी कार्यालय पेरसिडाँडामा भने पार्टीबाट को मन्त्री बन्लान् भन्ने विषयले चर्चा पाएको छ।

मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समर्थक र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रस्तावक बनेर संसदमा अविश्वासको प्रस्ताव पेश गर्दै गर्दा माओवादी मुख्यालय पेरिसडाँडामा केही व्यक्तिहरु नामै किटेर मन्त्री बन्ने सांसदहरुको अनुमान गरिरहेका थिए ।

केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिए लगत्तै मन्त्री बन्न लाजिम्पाट धाउनेको पनि भीड बढेको छ। तर सो विषयमा पार्टीले निर्णय लिने भन्दै प्रचण्डले कसैलाई आश्वासन दिएका छैनन्। प्रचण्डले नेतृत्व गर्ने नयाँ सरकारमा माओवादीले प्रधानमन्त्रीसहित आठ र कांग्रेसले १२ मन्त्रालय सम्हाल्ने कांग्रेस–माओवादीबीचको आन्तरिक सहमति भएको माओवादी श्रोतले बताएको छ।  

कुन पार्टीले कुन मन्त्रालय सम्हाल्ने भन्ने विषयमा भने गृहकार्य भइरहेको माओवादी केन्द्रका एक नेताले बताए। पेरिसडाँडामा माओवादी केन्द्रको तर्फबाट मन्त्री बन्ने सम्भावित व्यक्तिहरुको नामको विषयमा चर्चा छ । 

पेरिसडाँडामा भएको चर्चा अनुसार माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालय सम्हाल्नेछन्। त्यसैगरी माओवादीबाट मधेसबाट प्रतिनिधित्व गरी प्रभु शाह सरकारमा जाने तयारीमा छन्। यससँगै महिलाबाट रेखा शर्मा दोहिरिने सम्भावना रहेको स्रोतको दावी छ। शर्माले ओली नेतृत्वको गठबन्धन सरकारमा सामान्य प्रशासन मन्त्रालय सम्हालेकी थिइन्। शर्माको नाममा विवाद उत्पन्न भएमा कमला दोङ महिलाको प्रतिनिधित्व गरी सरकारमा पठाउने माओवादीको तयारी छ। 

कर्णाली क्षेत्रबाट महेन्द्र शाही, दलितबाट दलचित्त शाही, माओवादी प्रमुख सचेतक हितराज पाण्डे र राम कार्की सरकारमा सहभागी हुने सम्भावना प्रबल रहेको माओवादीका एक उच्च नेताले बताए। बुधबार थाहाखबर माओवादी मुख्यालय पेरिसडाँडा पुग्दा त्यहाँ भेटिएका नेता कार्यकर्ताहरु यिनै  व्यक्तिको पक्ष र विपक्षमा मत दिँदै छलफल गरिरहेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.