मंसिरभित्र संगठित सदस्यता नवीकरण गरिसक्ने योजना

|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कात्तिकमा केन्द्रीय कमिटी बैठक डाक्न सहमत भएका छन्। शुक्रबार बस्‍न लागेको स्थायी कमिटीको बैठकका लागि तयार पारेको सहमतिको प्रस्तावमा कात्तिकमा केन्द्रीय कमिटीको बैठक राख्ने प्रस्ताव सारेका हुन्। 

पार्टीको दोस्रो बैठकको निर्णयानुसार पार्टीको एकता महाधिवेशनसम्बन्धी कार्ययोजना पारित गर्नका लागि बैठक राख्‍न लागिएको हो। 

‘महाधिवेशन सम्बन्धी कार्ययोजना पारित गर्न कार्तिक १५ देखि १७ गते केन्द्रीय कमिटीको बैठक आयोजना गरेर उक्त बैठकमा केन्द्रीय सचिवालयबाट एकताको राष्ट्रिय महाधिवेशन आयोजनाको तयारीका लागि दस्तावेज मस्यौदा कमिटी, मूल व्यवस्थापन कमिटी लगायत अन्य आवश्यक संरचना, प्रतिनिधि छनोट विधि र कार्यतालिका लगायत समग्र कार्ययोजना प्रस्तुत गर्ने,’ अध्यक्षद्वयको प्रस्तावमा भनिएको छ। 

केन्द्रीय कमिटीको बैठकले महाधिवेशनको कार्ययोजनासम्बन्धी प्रस्तावमा छलफल गरी आवश्यक निर्णय समेत बताइएको छ। ‘संगठन विभागको कार्ययोजनाका आगामी कात्तिकभित्र सम्बन्धित जिल्ला कमिटीहरूले पार्टीको संगठित सदस्यता विवरण अद्यावधिक गरी प्रदेश कमिटी हुँदै केन्द्रीय संगठन विभागमा पठाउने’, प्रस्तावमा भनिएको छ, मंसिरभित्र संगठित सदस्यता नवीकरण सम्पन्‍न गर्ने। प्रवास क्षेत्रमा पनि सोहीअनुरुप गर्नुपर्छ।’

केन्द्रीय सचिवालयले पार्टी विधान, नियमावली र निर्धारित मापदण्डका आधारमा एकता–एकीकरणका बाँकी कामहरु असोज महिना भित्र सम्पन्‍न गर्नेसमेत उल्लेख गरिएको छ।

‘केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद, जेष्ठ कम्युनिष्ट मञ्च, पोलिटब्युरो, केन्द्रीय विभागहरु, प्रदेश र स्थानीय तहका कमिटीहरु, जनवर्गीय संगठन हरु र प्रवास क्षेत्रको सङ्गठनात्मक एकीकरणका साथै सम्पत्ति र अभिलेखको समेत एकीकरण सम्पन्‍न गर्ने र कार्यान्वयन हुन बाँकी रहेका पूर्ववर्ती निर्णयहरु कार्यान्वयन गर्ने’, प्रस्तावमा भनिएको छ। 

विवादका कारण अवरुद्ध हुनपुगेको एकीकरण प्रकृयालाई सहमतिका साथ अघि बढाउने र आवश्यकता अनुसार नयाँ निर्णय गर्ने समेत बताइएको छ।

एकीकरणका सन्दर्भमा केन्द्रीय तहबाट गर्नैपर्ने काम केन्द्रीय सचिवालयले गर्ने र अन्य कामका लागि सम्बद्ध निकाय वा मातहत कमिटीलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने बताइएको छ। 

पार्टी विधानमा उल्लेखित महानगर कमिटीको स्तर, मर्यादा र जिम्मेवारीलाई बुझ्ने तथा कार्यान्वयन गर्ने सन्दर्भमा विद्यमान अन्योलले एकीकरण प्रकृयामा बाधा सिर्जना प्रष्ट्याइएको छ। ‘विधान अनुसार महानगर कमिटीको मर्यादा जिल्ला कमिटीसरह हो। तथापि महानगर कमिटी सम्बन्धित जिल्ला कमिटीको मातहत हुन्छ । यही मान्यताअनुरुप महानगर कमिटीको एकीकरण कार्य सम्पन्‍न गर्ने,’ प्रस्तावमा भनिएको छ। 

अन्तरविरोध र असमझदारीले गर्दा कतिपय जिल्ला र सो मातहतमा पार्टी कमिटीहरु गठन हुनसकेकोबारे स्पस्ट पारिएको छ। ‘एकीकरणको क्रममा कतिपय स्थानमा मापदण्ड उल्लङ्घन भएको र अनुशासन लगायत अन्य विषयहरुमा उजुरी र गुनासाहरू प्राप्त भएका छन्। आगामी असोज महिना भित्र सत्य–तथ्य यकिन गरी पार्टी विधान तथा नियमावलीका प्रवन्ध र निर्धारित मापदण्डको आधारमा यस्ता समस्याहरूको समाधान गर्ने जिम्मेवारी केन्द्रीय संगठन विभागलाई दिने’, भनिएको छ। 

पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकले तय गरेको निर्णयअनुसार पार्टी एकताको भावना एवम् मर्म अनुरुप सहमतिका साथ महाधिवेशन सम्पन्न जनाइएको छ।

‘महाधिवेशनसँग सम्बन्धित अन्य प्रक्रिया पार्टी विधान बमोजिम अवलम्बन गर्ने। महाधिवेशनबाट पार्टीका नीति, विचार, विधि, पद्धती एवम् नेतृत्व सुनिश्चित गर्ने र पार्टी एकतालाई सुदृढ तुल्याउने,’ प्रस्तावमा भनिएको छ, ‘विचार, नीति तथा विधिलाई महाधिवेशन तयारीको महत्वपूर्ण विषयका रुपमा ग्रहण गर्ने र तदनुरुप मस्यौदा दस्तावेजहरु तयार गरेर मस्यौदा दस्तावेजहरु तयार भएसँगै वैचारिक, नीतिगत तथा विधिगत बिषयमा पार्टी व्यापी बहस, छलफल सञ्चालन गर्नुपर्छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.