उपमेयर भन्छिन् : सम्पर्कै हुँदैन, मैले कसरी थाहा पाउनू?

|

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई यही भदौ १५ गते कोरोना संक्रमण पुष्टि भयो। पत्‍नीमा स्वास्थ्य समस्या देखिएपछि उनी धापासीस्थित ग्राण्डी अस्पताल पुगेका थिए।

काठमाडौंमा अन्य सरकारी अस्पताल हुँदा हुँदै पनि जनताका प्रतिनिधि उनी पत्‍नीको उपचारका लागि भन्दै निजी अस्पतालमा पुगे। भदौ १४ गते ग्राण्डीमा उनी र पत्‍नी दुवैको स्वाब लिएर परीक्षण गरियो।

तर बिरामी भएकी पत्‍नीको रिपोर्ट नेगेटिभ आउँदा उनमा कोरोना संक्रमण देखियो। कोरोना देखिनुअघिसम्म उनी विशेष गरी उपत्यका मेयर फोरमहरूको बैठकमा सहभागी हुने गरेका थिए। त्यही बैठकमा आउने जाने क्रममा उनलाई संक्रमण भएको थियो।

देशकै प्रमुख महानगरपालिका भए पनि काठमाडौंले आफ्नै पहलमा क्‍वारेन्टाइन र आइसोलेसन बनाएको थियो। देशका अन्य स्थानीय तहले आफ्नै पहलमा आइसोलेसन र क्‍वारेन्टाइन बनाएर संक्रमित र शंकास्पदलाई निगरानी गरे तर काठमाडौंमा त्यस्तो भएन।​

'तपाईंहरुको निरन्तरको साथ, सहयोग, समर्थन र मप्रति देखाउनु भएको सद्‌भावले मलाई थप ऊर्जा प्राप्त भएको छ', अपीलमा शाक्यले भनेका थिए, 'यो ऊर्जाले कोरोनालाई परास्त गर्न मलाई थप हौसला प्राप्त भएको छ।' 

कोरोना संक्रमण पुष्टि भएपनि आफूमा कुनै किसिमको लक्षण नभएको उनले अपीलमा उल्लेख गरेका थिए। अपीलमा भनेका थिए, 'कोरोना पोजेटिभ आए पनि मेरो मनोबल उच्च। मेरो स्वास्थ्य अवस्था सामान्य छ। अहिले म र मेरो परिवार होम आइसोलेसनमा स्वास्थ्यका सबै मापदण्ड पालना गर्दै बसिरहेको जानकारी गराउन चाहन्छु।'

उनले लक्षण नै नदेखिएकाले आफूले होम आइसोलेसनबाटै जनताको सेवालाई निरन्तरता दिने जिकिर गरेका थिए। 'होम आइसोलेसनमा रहे पनि काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग निरन्तर समन्वयमा रहेर कोरोना रोकथाम र नियन्त्रणको प्रयासमा निरन्तर लाग्ने प्रतिवद्धता गर्न चाहन्छु', उनले घरबाटै निकालेको यो अपीलमा भनिएको थियो।

अनि सुटुक्क सोल्टीमा

लक्षण नै नदेखिएकाले होम आइसोलेसनमा बसिरहेका मेयर शाक्य देशकै महँगोमध्येको पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा अहिले परिवारसहित बसिरहेका छन्। पत्‍नी र छोरालाई लिएर उनी पाँच तारे सोल्टीको आइसोलेसनमा बस्‍न पुगेका हुन्। ​

सरकारी मापदण्ड

पछिल्लो समय संक्रमण तीव्र गतिमा फैलिएपछि सरकारले कोरोना भाइरसका लक्षण भएका संक्रमितलाई मात्रै भर्ना गर्ने गरेको छ। कोरोना पुष्टि भएका तर लक्षण नदेखिएका संक्रमितहरुलाई घरमै राखेर निगरानी गर्ने नीति सरकारले बनाएको छ।

कोरोना पुष्टि भएर लक्षण नदेखिएकाहरुलाई होम आइसोलेसनमै राखेर स्वास्थ्यकर्मीले फोन या अन्य माध्यमबाट अनुगमनको नीति लिएको छ। यो नीति सरकारले भदौ पहिलो सातादेखि नै लागू गरिसकेको छ।

मेयर शाक्य पनि कोरोना भाइरसको लक्षण देखिएको अवस्थामा मात्रै अस्पताल भर्ना हुनुपर्छ। सरकारी मापदण्ड अनुसार उनले पनि होम आइसोलेसनमै बस्‍नुपर्थ्यो। तर महँगो खर्चमा उनी डेढ सातादेखि होटल आइसोलेसनमा बसेका छन्

काठमाडौं र तराईका जिल्लामा संक्रमितको संख्या थपिँदै जाँदा लक्षण भएका बिरामीले शैय्या नपाएपछि स्वास्थ्य मन्त्रालयले यस्तो नीति लिएको हो। अहिलेको अवस्थामा लक्षण नभएकाले घरमै बसेर कोरोनाविरुद्ध लड्नुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतम बताउँछन्। 

सरकारले कोरोना भाइरसविरुद्धको खोपको नेपालमा परीक्षण विश्‍वव्यापी मान्यतालाई नेपालमा पनि लागू गरिएको जनाएको छ। 

अरु संक्रमित घरमै

काठमाडौं महानगरका मेयर होटल सोल्टीको आइसोलेसनमा महँगो खर्चमा बसिरहँदा अन्य संक्रमित भने घरमै छन्। काठमाडौं महानगरपालिकामा मात्रै १६ सय ८६ जना संक्रमित घरमै रहेका छन्। 

लक्षण नभएका संक्रमितलाई अस्पतालले भर्ना नलिएपछि ती संक्रमित घरमै बसेर कोरोनाविरुद्ध लडिरहेका छन्। मेयर शाक्यले पनि घरमै बसेर कोरोनाविरुद्ध लड्ने बताएका थिए। तर उनी अपिल जारी गरेलगत्तै सुटुक्क सोल्टीको आइसोलेसनमा सरेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाभरी २४ सय २७ जना संक्रमित घरमै बसेर कोरोनाविरुद्ध लडिरहेका छन्। यिनमा कतिपय त लक्षण देखिएका पनि छन्। संक्रमित व्यक्तिसँग आएका कयौंको कन्ट्याक्ट ट्रेसिङसमेत भएको छैन। 

उपमेयर भन्छिन् : थाहा छैन

मेयर विद्यासुन्दर शाक्य सोल्टीको महँगो आइसोलेसनमा बसिरहेको बारेमा थाहाखबरले महानरपालिकाका पदाधिकारीसँग जानकारी लिन खोजेको थियो। महानगरका प्रवक्ता ईश्‍वरमान डंगोलसँग पटक पटक सम्पर्क गर्दा उनले फोन उठाएनन्। 

मेयर शाक्यले प्रयोग गर्ने मोबाइल नम्बरमा सम्पर्क गर्दा बन्द रहेको सन्देश आएको छ। त्यसपछि यसबारेमा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीसँग बुझ्‍न खोज्यौं।

उनले यसबारेमा आफूलाई कुनै जानकारी नभएको उल्लेख गरिन्। खड्गीले कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेर कोरोनाविरुद्ध लड्ने जानकारी मेयरले आफूलाई दिएको बताइन्। 

'मलाई पनि पनि यसबारेमा केही जानकारी छैन। होम आइसोलेसनमा  बस्छु भन्‍नु भएको थियो', उनले भनिन्, 'तर अहिले कहाँ हुनुहुन्छ थाहा भएन। अहिले उहाँले प्रयोग गर्ने मोबाइल फोन पनि बन्द रहेको छ।'  

उनले पनि सञ्‍चारमाध्यमबाट मेयर होटलमा बसेको जानकारी मिलेको बताइन्। 'विभिन्‍न सञ्चारमााध्यमबाट पनि होटलमा बसेको जानकारी मैले पनि पाइरहेकी छु', उनले थपिन्, 'अहिले मेयर सा'व कता हुनुहुन्छ?, आधिकारिक रुपमा  त्यसबारे मलाई कुनै पनि जानकारी छैन।'

सोल्टीको खर्च कति ? 

होटल सोल्टीले मेयर त्यहाँ बसिरहेको बारे आधिकारिकरुपमा जानकारी दिन मानेको छैन। त्यहाँका कर्मचारीहरुले मेयर परिवारसहित आइसोलेसनमा बसेको बताएका छन्। तर उनीहरु यसको आधिकारिक विवरण होटल व्यवस्थापनले दिने बताउँछन्।

एकजना कर्मचारीले दैनिक २० हजार रुपैयाँ खर्चिएर मेयर होटलको आइसोलेसनमा बसिरहेको बताएका छन्। जसमा स्वास्थ्यकर्मीको खर्च अलग्गै हुन आउँछ।

मेयर शाक्यको परिवारले होटल आइसोलेसनका लागि तीनवटा कोठा लिएर बसेको छ। यी तीन कोठाको दैनिक खर्च कम्तीमा पनि ६० हजार हुन आउने त्यहाँका कर्मचारी बताउँछन्। 

मेयर शाक्यको अपील

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.