|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधनको पक्षमा कांग्रेस एक इञ्च पनि पछि नहटेको बताएका छन्। तराई/मधेशबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदहरुसँग आइतबार बिहान कांग्रेस संसदीय दलको कार्यालयमा भएको छलफलमा सभापति देउवाले पार्टीले संविधान संशोधन विधेयकको पक्षमा गरेको निर्णयमा कुनै हेरफेर वा परिवर्तन भएको स्पष्ट पारेका हुन्। 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले शनिबार महामन्त्री डा. शशांक कोइरालाको निवासमा भेला गरी संविधान संशोधन विधेयकका विषयमा सभापतिले संस्थागत रुपमा क्रियाशीलता नदेखाएको भन्दै आलोचना गरेपछि कांग्रेसकै तराई/मधेशबाट प्रतिनिधित्व गर्ने सांसदको सक्रियतामा सभापतिसँग छलफल भएको हो।

‘सभापतिले सरकारले ल्याएको विधेयकको पक्षमा कांग्रेसको अडान स्पष्ट रहेको जनाउनु भयो,’ सभापति देउवाका स्वकीय सचिव केशव जोशीले थाहा खबरसँग भने, ‘कांग्रेसले यसअघि नै विधेयक पारित गराउने पक्षमा गरेको निर्णय परिवर्तन हुँदैन। हल्लाका पछि कोही सांसद कुद्ने होइन।’ देउवाले पार्टीको आधिकारिक निर्णयलाई आत्मसाथ गर्दै व्यक्तिगत हल्लाका पछि नलाग्न पनि आग्रह गरेका थिए।

राजदूत नियुक्तिको निर्णय केन्द्रीय कार्य समितिले गर्दैन : देउवा

तराई मधेशवाट प्रतिनिधित्व गर्ने सांसदहरुसँगको भेटमा सभापति देउवाले राजदूत नियुक्ति पार्टी केन्द्रीय कार्य समितिको निर्णयबाट नहुने स्पष्ट पारेका छन्। राजदूत नियुक्तिको विषयलाई लिएर पार्टी भित्रैबाट आलोचना भएको र केन्द्रीय कार्य समिति बैठकको माग गरिएको सन्दर्भमा देउवाले विगतमा पनि राजदूत नियुक्ति पार्टी केन्द्रीय कार्य समितिको निर्णयबाट नभएको प्रष्ट पारेका थिए।

नेता पौडेलले केन्द्रीय कार्य समिति बैठक तत्काल बोलाउन गरेको आग्रहलाई लक्षित गर्दै भनेका थिए ‘आवश्यकता पर्‍यो भने केन्द्रीय कार्य समितिको बैठक बोलाइने छ, तर राजदूत नियुक्तिको निर्णय गर्न बैठक बोलाउँदिन्।’ सभापति देउवाका भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘विगतमा पनि राजदूत नियुक्त भएका थिए, तर केन्द्रीय कार्य समिति बैठकले निर्णय गरेको मलाई थाहा छैन।’

बिहान १० देखि साढे ११ बजेसम्म भएको छलफलमा उपप्रधानमन्त्री बिमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, फरमुल्लाह मन्सुर, एनपी साउद, भरत साहलगायत उपत्यकामा रहेका सांसद र नेताहरुको उपस्थिति थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.