|

बाग्लुङ : बाढीपहिरोमा परी घरबार गुमाएका ढोरपाटन नगरपालिका–९ बोबाङका १२६ परिवारलाई सोलार बत्ती राहत स्वरुप प्रदान गरिएको छ। गत भदौ १७ को बाढीपहिरोका कारण लघुजलविद्युत आयोजनाहरुमा क्षति पुगेपछि बोबाङ अन्धाकारमा छ।

बागलुङ र पोखराबाट प्रकाशित ढोरपाटन राष्ट्रिय दैनिक पत्रिकाले विभिन्न सौर्य ऊर्जा कम्पनीसँगको सहकार्यमा बाढीपहिरो पीडितहरुका लागि सोलार बत्ती प्रदान गरेको हो। पत्रिकाका सम्पादक हरिनारायण गौतम र प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठक र सौर्य उत्पादक सघका सदस्य केशव शर्माले १३२ सेट सोलार बत्ती बाढी प्रभावित ठाउँमा पुगेर वडा नम्बर ९ का वडाध्यक्ष हरिबहादुर घर्ती, वडा नम्बर ८ का वडा अध्यक्ष नन्दे सुनारलाई हस्तान्तरण गरे।

बाढीपहिरोले लघु जलविद्युत आयोजनाहरुको मर्मत गर्न समय लाग्ने भएकाले पीडितहरुका लागि सोलार बत्ती उपलव्ध गराएको सम्पादक गौतमले बताए। ढोरपाटन नगरपालिका वडा नम्बर ५, ६, ७, ८ र ९ मा बाढीले ११ वटा लघुजलविद्युत आयोजनामा क्षति पुर्याएको छ।

विभिन्न सौर्य ऊर्जा कम्पनीहरुलाई आग्रह गरेर १६ लाख रुपैयाँ बराबरको १२६ सेट सोलार बत्ती ल्याएको गौतमले बताए। बोबाङमा भदौ १७ गते राति गएको बाढीमा परी २२ जनाको ज्यान गएको छ भने अझै १६ जना बेपत्ता छन्। बाढीमा १३० वटा घर पूर्ण क्षति र एक दर्जनभन्दा बढी घरमा आंशिक क्षति पुगेको वडा वडा नम्बर ९ वडा अध्यक्ष हरिबहादुर घर्तीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.