|

काठमाडौं : काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले चावहिल चोक नजिकैको सावरिया होलसेल मार्टको गोदामबाट म्याद गुज्रेर बिक्री गर्न नमिल्ने अवस्थाका खाद्यसामग्री बरामद गरेको छ। बुधबार समितिको टोलीले अनुगमन गर्दा म्याद गुज्रेको सामान बरामद गरेर नष्ट गरेको हो। 

महानगरपालिका कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीका अनुसार नष्ट गरिएका खाद्य वस्तुमा ब्रिटानिया कम्पनीबाट उत्पादन भएका गुड डे ब्रान्डका परिकार, क्याटबरीका बोनबिटा, हर्लिक्स, क्वालिटीका बटर, वनवनजस्ता प्याकेजिङ गरिएका खाद्य बस्तु रहेका छन्। पसलमा भेटिएका र उपभोग हुने मिति सकिएका लेज, कुरकुरे, लिची जुस, चिउरा, पिनट्स, बकुल्ला लगायत करिब १ लाख मूल्य बराबरका सामान बरामद गरेर नष्ट गरेको भण्डारीले जानकारी दिए।

‘सुजी, जुस, चकलेट, सस चिल्ली, कर्नफ्लेक्स, बिस्कुट, चोकोजजस्ता खाद्य वस्तुसँगै सरफ, भाँडा माझ्ने पाउडर पनि बरामद गरिएको छ,’उनले भने,‘बरामद भएका सामान ट्रान्सफर स्टेशन पु¥याएर फोहोरमा मिसाइएको छ।’

गत आइतबार बिहान पनि त्यही पसलमा अनुगमन टोलीले पहिलो पटक अनुगमन गरेको थियो। त्यसबेला पनि खाद्य सामान भण्डारण हुने ठाउँमा म्याद गुज्रेका खाद्य सामान भेट्टाएपछि सामान बिक्रीमा रोक लगाएको थियो।

फेरि त्यही ठाउँमा पुगेर भण्डारमा म्याद गुज्रिएका सामान र म्याद भएका सामान छुट्याएर उपभोग गर्न नमिल्ने सामान नष्ट गराएको हो। लकडाउनले सामान छुट्याउन नसकिएको प्रतिक्रिया दिदै पसलका सञ्चालक सहयोगी सञ्जिवकुमार झाले अब देखी अनुगमन टोलीले दिएका निर्देशनको पालना गरेर व्यापार गर्ने बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.