मजदुर र यात्रु जहाँतहीँ रोकिँदा संक्रमण फैलने त्रास

|

काठमाडौं : सरकारले असोज १ गतेदेखि लामो दूरीका यातायातको सवारीसाधन सञ्चालन गर्ने अनुमति दिएसँगै व्यवसायीले आधा यात्रु राखेर सार्वजनिक यातायात सञ्चालन आउने भएका छन्। कोरोना भाइरसको त्रासले ६ महिनादेखि लामो र छोटो दूरीका सवारीसाधन सञ्चालनमा आएका थिएनन्।

यातायात व्यावसायी र मजदुरलाई लामो समयसम्म सवारीसाधन सञ्चालन नहुँदा समस्या भएको थियो। बस तथा अन्य यातायातका साधनहरु ग्यारेजमा थन्क्याउन बाध्य भएका थिए।

लामो दूरीका यातायात सञ्चालनमा आएसँगै यात्रुले जहाँसुकैको होटलमा खाना खाने सम्भावना बढेको छ। मजदुर, यात्रुले जुनसुकै स्थानमा खाना खाँदा संक्रमण फैलने त्रास छ। सामाजिक दूरी कायम नहुने अवस्था पनि देखिँदैछ

सरकारले लामो दूरीका सवारी साधनलाई खाना खानको लागि निश्चित होटल नतोकी दिएकोमा मजदुर र व्यवसायीले आपत्ति जनाएको छन्।

सोमबारको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधामात्रै यात्रु बोक्ने गरी लामो दूरीमा सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको थियो। एक लाइनको सिटमा एक जनामात्रै यात्रु बस्नेगरी सेवा दिनुपर्ने सरकारले उल्लेख गरेको छ। 

असोज १ गतेबाट विश्वकर्मा पूजा भएकाले भोलि नै पूजा गरेर बस सञ्चालनका लागि व्यवसायी तथा मजदुरलाई आग्रह गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र नाथ कर्माचार्य ले बताए।

लामो दूरीका सार्वजनिक यातायातमा सवारी साधनको पुरा सिटको आधा मात्र यात्रु बोकेर साधन सञ्चालनमा ल्याइने उनको भनाइ छ। 'यात्रुले अनिवार्य मास्क प्रयोग गर्नुपर्छ, सहचालकले स्यानिटाइजर प्रयोग गर्न दिन्छन् त्यसको प्रयोग गरिनुपर्छ,' उनले भने,' अहिले कायम भएको भाडामा ५० प्रतिशत वृद्धि गरेर सञ्चालन गरिन्छ। सरकारले भने बमोजिम अनुसार काम गरिन्छ।'

लामो दूरीका यातायातमा पूर्ण रुपमा सामाजिक दूरी कायम गर्ने अन्यथा महामारीको बेला यातायातको साधन सञ्चालन नगरिने उनले प्रस्ट पारे।

लामो दूरीको सार्वजनिक यातायात ६ महिनादेखि सञ्चालनमा हुन नसकेको भोलिदेखि सञ्चालनमा आउँदा मजदुर र व्यवसायीको लागि केही सहज हुने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले बताए। यातायात श्रमिकले अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने उनले जानकारी दिए।

'यात्रु ओराल्दा वा चढाउँदा श्रमिकले सामाजिक दूरी कायम गर्छन्,' उनले भने,' लामो दूरीको यातायात सञ्चालन हुँदा यात्रु र मजदुरको लागि खाना खाने होटल सरकारले तोक्नुपर्छ। जहाँसुकै खाना खाँदा कोरोनाको त्रास हुने सम्भावना बढ्छ।'

फोन गर्दा मोबाइलको रिङ ब्याक टोनमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने खालको सन्देश हुनुपर्ने उनले सुनाए। श्रमिकको कोरोना बिमा गर्न बाँकी रहेकालाई कम्पनीलाई तत्काल मजदुरको कोरोना बिमा गरि दिनलाई उनले आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.