|

काठमाडौं : सरकारले आन्तरिक हवाई उडान असोज १ गतेबाट खुल्ला गर्ने भने पनि वायुसेवा कम्पनीहरूले ५० प्रतिशत यात्रु बोकेर उडान नगर्ने भएका छन्।

आन्तरिक उडानको लागि जहाजका सिटमा पूरापूर यात्रु बोकेर उडान गर्न नपाउँदासम्म वायुसेवा कम्पनीलाई केही फाइदा नहुने वायुसेवा सञ्चालकहरूले जनाएका छन्।

उडान गर्नको लागि यात्रुको टिकट बुकिङ खुला पनि नगर्ने र अन्य सार्वजनिक यातायातको साधनलाई सहुलियत दिँदा आन्तरिक वायुसेवा कम्पनीको लागि तत्काल राहत घोषणा गरिनुपर्ने वायुसेवा सञ्चालक कम्पनीको माग छ।

नागरिक उड्डयन प्राधिकरण र नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन  (आइकाओ)को मापदण्डअनुसार उडान भर्न पाउनुपर्ने वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन) का कोषाध्यक्ष रुपेश जोशीले बताए।

उनका अनुसार अन्तर्राष्ट्रिय उडानबाट आएका जहाजले पूरा सिटमा यात्रु बोकेका छन्। आन्तरिक उडानका जहाजले पनि पूरा सिट क्षमतामा यात्रु बोक्न पाउनुपर्छ।

'प्राधिकरण र आइकाओले बनाएको मापदण्डमा जहाजमा आधा मात्र यात्रु बोक्ने कतै उल्लेख गरिएको छैन,' जोशीले थाहाखबरसँग भने,' जनस्वास्थ्य मापदण्डअनुसार हामी उडान भर्न तयार छौँ। भाडा वृद्धि भनेको पनि छ त्यो मान्छौँ। महामारीको समयमा १० हजार तिरेर कुनै पनि यात्रु जहाजमा यात्रा गर्दैनन्।'

सार्वजनिक यातायात जस्तो वायुसेवा कम्पनी नभएको र महामारीमा जहाजमा सस्तो भाडा दरमा, आधा मात्र यात्रु बोकेर उडान गर्दा कम्पनीको ठूलो नोक्सान हुने उनको दाबी छ।

मन्त्रालयमा छलफलको लागि बोलाइएको भए पनि मन्त्रालयले ५० प्रतिशत यात्रु बोकेर उडान गर्नको लागि निर्णय नभएको जानकारी दिएको जोशीले बताए। 'जबसम्म शतप्रतिशत सिटमा यात्रु राखेर उडान भर्न पाइँदैन तबसम्म उडान भरिन्‍न,' उनले अगाडि थपे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.